चिसापानी-राजकाँडा केबलकारको काम अन्तिम चरणमा, दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

चिसापानी-राजकाँडा केबलकारको काम अन्तिम चरणमा, दुई महिनाभित्रै सञ्चालनमा ल्याउने तयारी

कैलाली : आगामी दुई महिनाभित्रै सञ्चालनमा ल्याउने लक्ष्यका साथ कैलालीको लम्कीचुहा नगरपालिका-३ स्थित चिसापानीदेखि मोहन्याल गाउँपालिका-७ राजकाँडासम्म ३.१ किलोमिटर लामो केबलकारको निर्माण कार्यलाई तीव्रता दिइएको छ। 

आयोजनाको भौतिक पूर्वाधारको काम अन्तिम चरणमा पुगेसँगै व्यावसायिक सञ्चालनको तयारीलाई तीव्र पारिएको हो। यही क्रममा, राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा शुक्रबार बिहान विशेष क्षमा पूजाअर्चना गरिएको छ। 

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष एवं जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले मन्दिरमा आयोजित धार्मिक अनुष्ठानका बीच पूजाअर्चना र मूर्तिको पदस्थापन गरे।

करिब ६ अर्ब रुपैयाँ कुल लगानी अनुमान गरिएको आयोजनाको मुख्य भौतिक पूर्वाधारहरू तयार भइसकेको ढकालले जानकारी दिए। उनका अनुसार अबको ६० दिनभित्रै केबलकार सञ्चालनमा ल्याउने तयारी छ।

आइएमई समूहको मुख्य लगानीमा निर्माणाधीन ३.१ किलोमिटर लामो केबलकारको पोल ठड्याउने र स्टेसन निर्माणको काम करिब सकिएको छ। अबको मुख्य प्राविधिक प्रक्रिया अन्तर्गत तार तान्ने र गोण्डोलाहरू (डिब्बा) जडान गर्ने कार्य अघि बढ्नेछ। 

आयोजनाको तल्लो (बटम) स्टेसनमा पाँचतारे होटल, क्यासिनो र ब्यांक्वेट हल निर्माण भइरहेका छन् भने माथिल्लो (टप) स्टेसनमा रिसोर्ट, स्काई वाक, पदमार्ग र बाल उद्यानलगायतका पर्यटकीय संरचना विकास गरिँदैछ।

ढकालले निजी क्षेत्रले तोकिएकै समय र गुणस्तरमा ठूला आयोजना पूरा गर्न सक्छ भन्ने उदाहरण यस परियोजनाले प्रस्तुत गर्ने बताए। केबलकार सञ्चालनमा आएपछि सुदूरपश्चिम प्रदेशको होटल, यातायात, कृषि र व्यापार क्षेत्रले लाभ पाउने अपेक्षा गरिएको छ। 

तराईको गर्मीबाट जोगिन चाहनेका लागि राजकाँडा एक उत्कृष्ट 'हिल स्टेसन' बन्ने विश्वास लिइएको छ। परियोजनाले भारतीय पर्यटकलाई समेत प्रमुख लक्ष्य बनाएको छ। 

कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफन्टा र बाँकेको रुपैडिहा नाकाबाट सहज सडक पहुँचमा रहेको कारण भारतका उत्तर प्रदेश र उत्तराखण्डका शहरहरूबाट पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ। 

असार १९, २०८३ शुक्रबार २२:२१:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।