नेपाल-भारत रियल टाइम वित्तीय कारोबार; सानिमा बैंकले सुरु गर्यो भारु भुक्तानी सेवा
काठमाडौं : सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा भारतीय रुपैयाँको भुक्तानीका लागि रियल टाइम एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ।
स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियासँग सिधा एपीआई कनेक्टिभिटीमार्फत जोडिएर रियल टाइमै सीमापार भारु भुक्तानी गर्ने नेपालको पहिलो बैंक बनेको सानिमा बैंकको दाबी छ। सेवाको सुरुवातसँगै यसअघि कायम रहेको म्यानुअल र ब्याचमा आधारित परम्परागत भुक्तानी प्रक्रिया विस्थापित भएको छ।
नयाँ प्रणालीले नेपाल र भारतबीचको वित्तीय कारोबारलाई पूर्ण रूपमा स्वचालित बनाउनुका साथै सुरक्षित र थप पारदर्शी बनाउने बैंकले जनाएको छ। यसै साझेदारीको अर्को चरणका रूपमा दुई बैंकबीच अमेरिकी डलर भुक्तानीका लागि पनि एपीआई प्रयोग गर्ने गरी समझदारी पत्र अघि बढाइएको जनाएको छ।
सानिमा बैंकका प्रमुख वित्तीय अधिकृत निरज ढकालले सीमापार बैंकिङ सेवालाई नवीन, सरल र भरपर्दो बनाउने बैंकको प्रतिबद्धतालाई विस्तार गरेको बताए।
असार १९, २०८३ शुक्रबार २०:११:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।