मुक्तिनाथ विकास बैंकद्वारा सरकारी विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

मुक्तिनाथ विकास बैंकद्वारा सरकारी विद्यालयका १ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न प्रदेशका सरकारी विद्यालयमा अध्ययनरत १ हजारभन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग गरेको छ।

बालबालिकाको शैक्षिक पहुँच विस्तार गर्ने उद्देश्यले बैंकले यो सहयोग उपलब्ध गराएको हो।

बैंकले मोरङको विराटनगरमा ७८ जना विद्यार्थीलाई विद्यालय पोसाक, महोत्तरीको बर्दिबासमा १२८ जना र डडेलधुराको खिन्नेभाडीमा १५० जना विद्यार्थीलाई स्टेसनरी सामग्री वितरण गरेको छ।

रूपन्देहीको बुटवलमा २१ वटा, उदयपुरको बागचौरीमा ५० वटा, झापाको कचनकवलमा २०० वटा, नवलपरासीको बर्दघाटमा ८५ वटा, सर्लाहीको राजघाटमा २०० वटा र कञ्चनपुरको तिलकपुरमा ११० जना बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री प्रदान गरिएको छ।

अर्घाखाँचीको सन्धिखर्कमा २५ जना अपाङ्गता भएका बालबालिकालाई स्कुल ब्याग तथा स्टेसनरी वितरण गरिएको छ। साथै, सामाजिक संस्था “अस्तित्व नेपाल” सँगको सहकार्यमा आगोबाट प्रभावित तथा आर्थिक अवस्था कमजोर भएका ६ जना बालबालिकाको एक शैक्षिक वर्षको अध्ययन खर्च बैंकले बेहोर्ने भएको छ।

सुर्खेतको श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयलाई १ थान डिजिटल स्मार्ट बोर्ड, रूपन्देहीको देवदहमा ४ थान सिलिङ पंखा तथा महोत्तरी र बुटवलका विद्यालयहरूलाई खेलकुद सामग्री हस्तान्तरण गरिएको छ।

आर्थिक रूपमा कमजोर तथा आवश्यक सामग्रीको अभाव झेलिरहेका विद्यार्थीहरूको अध्ययनलाई निरन्तरता दिन यो सहयोगले मद्दत पुग्ने बैंकले विश्वास लिएको छ।

असार १९, २०८३ शुक्रबार १४:०५:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।