पूर्व डीएसपी हरिभक्त सिग्देल- आईजीका नातेदारकोमा छापा मार्दा सांघातिक आक्रमण भयो, त्यो खुकुरी अझै मसँग छ
काठमाडौंको तारकेश्वर नगरपालिका, जितपुरमा जन्मिएका ७२ वर्षीय हरिभक्त सिग्देलको व्यक्तित्व बहुआयामिक छ।
नेपाल प्रहरीका पूर्वडीएसपी सिग्देल हाल मेडिकेयर अस्पतालको महाप्रबन्धकका रूपमा कार्यरत छन्। उमेरले सात दशक पार गरे पनि उनको शारीरिक स्फूर्ति र कार्यशैली युवा पुस्ताको भन्दा कम छैन। जागिरे जीवनबाट अवकाश पाएपछि उनी साहित्य लेखनमा उत्तिकै सक्रिय छन्।
बाल्यकालमै बुबा गुमाएका सिग्देल आमा र दाजुहरूको रेखदेखमा हुर्किए। सुरुआती दिनमा उनलाई पढाइप्रति पटक्कै रुचि थिएन र खेतीपातीमै जीवन बिताउने सोचमा थिए। तर, एउटा घटनाले उनको जीवनमा नयाँ मोड ल्यायो।
अक्षर नै नचिन्ने ११ वर्षका बालकले कसरी दृढ सङ्कल्पका साथ पढाइ सुरु गरे, सिपाहीबाट जागिर थालेर डीएसपीसम्म कसरी पुगे र प्रहरी सेवाका अनेकौँ उतारचढावलाई कसरी पार गरे? उनी आफैँले आफ्नो जीवनकथा यसरी व्यक्त गरे:
पढ्न मान्दैनथेँ, तर एउटा इखले पढाइदियो
मेरो जन्म वि.सं. २०११ सालमा भएको हो। आठ जना दाजुभाइ तथा दिदीबहिनीमध्ये म कान्छो हुँ।
म पाँच वर्षको हुँदा बुबाले सरस्वती पूजाको दिन पारेर अक्षरारम्भ गराउन खोज्नुभयो। तर, मलाई पढाइमा पटक्कै रुचि थिएन।
‘म स्कुल जाँदिनँ, गाईवस्तु हेर्छु, गोरु जोत्छु तर मलाई पढ्न नलगाउनुहोस्’ भनेर ढिपी गरेपछि बुबाले पनि कर गर्न छाड्नुभयो। म आठ वर्षको हुँदा बुबाको स्वर्गवास भयो।
म ११ वर्षको हुँदाको कुरा हो। मंसिर महिनामा हामी खेतमा काम गरिरहेका थियौँ। त्यही बेला मभन्दा ६ महिनाले मात्र जेठो छिमेकी लक्ष्मणप्रसाद घिमिरे कक्षा ७ को परीक्षा दिएर फर्किँदै हुनुहुन्थ्यो।

मेरो दाइले उहाँलाई बोलाएर कुरा गर्नुभयो। लक्ष्मणले अङ्ग्रेजीमा २० सम्मको गुणन कण्ठ सुनाउनुभयो र दाइसँग अङ्ग्रेजीमै कुराकानी गर्नुभयो। लक्ष्मण फागुनदेखि कक्षा ८ मा जाने कुरा सुनेपछि दाइलाई मप्रति साह्रै रिस उठ्यो।
उहाँले मलाई गाली गर्दै भन्नुभयो, ‘हेर, तँ गोरु नै होस्। तँसँगैको साथी ७ कक्षा पास गरेर ८ मा पढ्ने भइसक्यो, तँ भने यहीँ कुटो-कोदालो गरेर बस्।’
दाइको त्यो आक्रोशले मेरो मनमा गहिरो चोट पुर्यायो र भित्रैदेखि एउटा इख पैदा भयो। मैले त्यहीँ नजिकैको पिपलको रुखलाई साक्षी राखेर सङ्कल्प गरेँ- अब म पढेर लक्ष्मण दाइलाई मात्र होइन, दाइ तपाईंलाई पनि जितेर देखाउँछु।
त्यतिबेला मलाई कखरा पनि आउँदैनथ्यो। तर, मेरो लक्ष्य लक्ष्मण दाइसँगै कक्षा ८ मा पुग्ने थियो। मैले आमासँग जिद्दी गरेर कक्षा ७ सम्मका सबै किताब मगाएँ।
अक्षर नचिन्नेले माथिल्लो कक्षाका किताब मागेको देख्दा दाइले पनि झर्किँदै किताब ल्याइदिएर भन्नुभयो, ‘लौ, कसरी पढ्दो रहेछस्, हामी पनि हेरौँला।’
मैले बाह्रखरीबाट अध्ययन सुरु गरेँ। दिनरात नभनी मिहिनेत गरेर माघ महिनासम्ममा कक्षा ७ सम्मको पाठ्यक्रम पूरा गरेँ। नबुझेका कुराहरू दाइसँग नसोधेर गाउँका अन्य जान्ने-बुझ्ने व्यक्तिहरूसँग सोधेर सिक्ने गर्थें।
माघको अन्त्यमा दाइले मलाई किताबका विभिन्न ठाउँबाट प्रश्नहरू सोध्नुभयो, मैले सबैको निर्धक्क जवाफ दिएँ। उहाँले ‘पढ्न त पढेछस्, अब लेख्न कसरी सक्छस्?’ भनेर सोध्नुभयो। मैले अभ्यास गरेर लेख्न पनि सिकेँ।
अन्ततः मैले प्रवेश परीक्षा दिएर कक्षा ८ मा भर्ना हुने अवसर पाएँ। मेरो शैक्षिक यात्राले यति गति लियो कि मैले मात्र १४ वर्षको उमेरमा एसएलसी उत्तीर्ण गरेँ।
त्यस बेला परीक्षा दिन १६ वर्ष पुग्नुपर्ने नियम भएकाले मैले कागजी रूपमा आफ्नो उमेर दुई वर्ष बढाएर परीक्षा दिएको थिएँ।
बैदारको जागिर छाडेर प्रहरीको सिपाहीमा भर्ती
एसएलसी उत्तीर्ण गरेपछि मैले लोकसेवाको परीक्षा दिएँ। खरिदारमा नाम निस्कन नसके पनि बैदार पदमा मेरो नाम निस्कियो र कान्ति अस्पतालमा पदस्थापना भयो।
त्यहाँ कार्यरत रहँदा अस्पताल नजिकै रहेको ‘सदर प्रहरी तालिम केन्द्र’ (हालको राष्ट्रिय प्रहरी प्रतिष्ठान) को फौजी वातावरणले मलाई निकै आकर्षित गर्यो।
निजामती सेवामा प्रवेश गरेको ६ महिनामै म त्यो जागिर छाडेर वि.सं. २०२९ सालमा प्रहरीको सिपाही पदमा भर्ना भएँ।
शैक्षिक योग्यताका हिसाबले म असई पदका लागि योग्य थिएँ, तर प्रहरी सेवामा तत्कालै प्रवेश गर्ने उत्सुकताका कारण मैले सिपाहीबाटै यात्रा सुरू गरेँ।

तालिममा मेरो प्रदर्शन उत्कृष्ट रहेकाले मलाई प्रशिक्षक (गुरुबा) को रूपमा छनोट गरियो।
मैले नयाँ सिपाहीहरूलाई सैद्धान्तिक कक्षा लिनुका साथै शारीरिक कवाजमा इन्स्पेक्टर तथा असईहरूलाई सहयोग गर्न थालेँ। सोही अवधिमा मैले जिम्न्यास्टिक, बक्सिङ, जुडो र करातेमा पनि विशेष प्रशिक्षण लिएँ।
आईजीपीलाई सिधै भेटेर हवल्दारको बिल्ला
वि.सं. २०३० मा राजा वीरेन्द्रको शुभ जन्मोत्सवका अवसरमा नेपाल पुलिस क्लबमा खुकुरी नृत्य र जिम्न्यास्टिक प्रदर्शन गर्ने अवसर पाएँ।
वि.सं. २०३१ मा बढुवाको चर्चा हुँदा मेरो कमान्डेन्ट हेमबहादुर सिंह (जो पछि आइजीपी हुनुभयो)ले मेरो कम उमेर र सानो कदका कारण ‘अहिले तिम्रो पालो आएको छैन’ भन्दै अस्वीकार गर्नुभयो।
ममा अलि स्वाभिमानी र इखालु स्वभाव थियो। कमान्डेन्टबाट सकारात्मक प्रतिक्रिया नपाएपछि मैले सिधै प्रहरी महानिरीक्षक (आईजीपी) खड्गजीत बराललाई भेट्ने निर्णय गरेँ। साथीको सफा बर्दी मागेर म मुख्यालय पुगेँ।
बराल साहेब स्वभावले कडा भए पनि न्यायप्रेमी हुनुहुन्थ्यो। सुरूमा उहाँले ‘बढुवा मागेर पाइने कुरा होइन, जा’ भन्दै फर्काउन खोज्नुभयो। तर, मैले उहाँकै पुरानो भाषणको स्मरण गराउँदै ‘हजुरको बोली र व्यवहारमा फरक रहेछ’ भन्दै सलाम गरेर निस्किएँ।
म गेटसम्म पुग्दा नपुग्दै आईजीपीले मलाई फेरि भित्र बोलाउनुभयो। उहाँको कडा स्वभावका कारण कतै ममाथि अनुशासनको कारबाही त हुने होइन भन्ने डर पनि थियो। तर, मेरो आत्मविश्वास देखेर तत्कालै हवल्दारको ‘बिल्ला’ (दर्जा) ल्याउन आदेश दिनुभयो।
उहाँले कमान्डेन्ट हेमबहादुर सिंहलाई फोन गरेर भन्नुभयो, ‘तिमीले बढुवा दिन खोजेको व्यक्तिभन्दा यो केटो योग्य, एसएलसी उत्तीर्ण र दक्ष प्रशिक्षक रहेछ, त्यसैले मैले यसलाई हवल्दार बनाइदिएँ।’
बढुवा त भएँ, तर मलाई पुनः सोही तालिम केन्द्रमा जान डर लाग्यो, किनकि त्यहाँ कमान्डेन्टसँग मेरो सम्बन्ध बिग्रन सक्थ्यो। मैले आईजीपीसँग मुख्यालयमै राख्न अनुरोध गरेँ र उहाँले मेरो दरबन्दी उतै मिलाइदिनुभयो।
त्यस समय अच्युत खरेल र ध्रुवबहादुर प्रधान (जो पछि आइजिपी हुनुभयो) तालिम केन्द्रमा इन्स्पेक्टरका रूपमा कार्यरत हुनुहुन्थ्यो।
एउटा सामान्य सिपाहीले सिधै आईजीपी भेटेर बढुवा लिएर आएको घटनाले सङ्गठनमा सबैलाई अचम्मित बनाएको थियो।
महेन्द्रको अन्त्येष्टि र कांग्रेसले कालो झण्डा देखाउने डर
राजा महेन्द्रको निधन वि.सं. २०२८ माघमा हुँदा देशमा एसएलसी परीक्षाको समय थियो। त्यसबेला म पनि राजाको अन्तिम संस्कार हेर्न आर्यघाटसम्म पुगेको थिएँ। तत्कालीन समयमा राजनीतिक वातावरण अलि संशयपूर्ण थियो।
प्रशासनलाई नेपाली कांग्रेसले कालो झण्डा देखाएर विरोध प्रदर्शन गर्छ कि भन्ने ठूलो डर थियो। रोचक पक्ष त के छ भने, त्यस समय कम्युनिस्ट पक्षबाट राजा महेन्द्रको खासै विरोध देखिँदैनथ्यो; उहाँको कार्यशैली र कम्युनिस्ट विचारधाराबीच कतिपय समानता रहेको चर्चा गरिन्थ्यो।
राजा महेन्द्रको वीपी कोइरालासँगको सम्बन्ध पनि केवल राजनीतिक टकराबमा मात्र सीमित नभई व्यक्तिगत रूपमा केही फरक र जटिल थियो भन्ने बुझिन्छ।

यसको तुलनामा वि.सं. २०५८ मा भएको राजा वीरेन्द्रको अन्त्येष्टि अत्यन्तै असहज र तनावपूर्ण रह्यो। देशमा कर्फ्यु लगाइएको थियो र सर्वसाधारणलाई अन्त्येष्टि प्रक्रियामा सहज सहभागी हुन निकै कठिन थियो।
परीक्षा दिँदा हिरासत भोग्नुपर्यो, तर अन्ततः असईमा बढुवा
वि.सं. २०३३ मा मैले पब्लिक कमर्स कलेजबाट निजी परीक्षार्थीका रूपमा आईकम पास गरेँ।
सोही समयमा मैले प्रहरीमा असई पदका लागि र निजामती सेवातर्फ नायब सुब्बा पदका लागि लोकसेवाको परीक्षा दिएँ। लोकसेवाको नतिजा आउँदा नायब सुब्बामा मेरो नाम निस्कियो।
विभागीय अनुमति नलिई लोकसेवा परीक्षा दिएकाले आईजीपी खड्गजीत बरालले मलाई स्पष्टीकरण सोध्नुभयो।
मैले आफ्नो बचाउ गर्दै क्षमता परीक्षण गर्न परीक्षा दिएको भनेँ, तर अनुशासनको विषय भएकाले उहाँले मलाई ‘क्वाटरगार्ड’(सैन्य हिरासत) मा राख्न आदेश दिनुभयो। गणभित्र मेरो जागिर जाने निश्चित भयो भनी व्यापक चर्चा सुरु भएछ।
बिहान ११ बजे हिरासतमा पुर्याइएको मलाई दिउँसो ३ बजेतिर पुनः आईजीपीको सचिवालयमा उपस्थित गराइयो।
उहाँले मेरो योग्यता र कार्यक्षमतालाई कदर गर्दै ‘तँ निजामतीमा नजा, प्रहरी सेवामै तेरो भविष्य राम्रो छ’ भनेर तत्कालै मेरो असई पदमा बढुवा गरिदिनुभयो।
सपनाले सुल्झिएको फर्पिङको हत्या काण्ड
असई पदमा बढुवा भएपछि मेरो पदस्थापना फर्पिङमा भयो।
त्यहाँ कार्यभार सम्हालेको केही दिनमै दक्षिणकाली दर्शनका लागि जाँदै गरेकी दलित समुदायकी एक युवतीको जङ्गलमा बीभत्स हत्या भयो। दुई महिना बितिसक्दा पनि अपराधीको कुनै सुइँको पाउन सकिएन।
तत्कालीन काठमाडौंका डीएसपी अच्युत खरेलले मलाई फोनमार्फत निर्देशन दिँदै कडा शब्दमा भन्नुभयो, ‘कि अपराधी पत्ता लगाऊ, नत्र त्यहाँबाट राजीनामा दिएर हिँड।’
यो चेतावनीले मलाई ठूलो मानसिक तनाव दियो।
मैले सबै उपाय अपनाउँदा पनि केही नलागेपछि गोकर्णका बाबा गौराङ्गको शरणमा पुगेँ। उहाँले शान्त भावमा ‘दक्षिणकालीको दर्शन गर्न’ सल्लाह दिनुभयो।
सुरूमा मलाई यो सुझाव सामान्य लागे पनि एक जना कनिष्ठ (जुनियर) साथीलाई लिएर म मन्दिर गएँ र प्रार्थना गरी चौकी फर्किएर सुतेँ।
त्यस रात सपनामा मैले दक्षिणकाली नजिकै एउटा विशेष खालको ‘गोलघर’ देखेँ। सपनाकै आधारमा मैले राति १ बजे नै मातहतका प्रहरीलाई लिएर उक्त घरमा छापा मारेँ।
त्यहाँ बसिरहेका सात जना शङ्कास्पद व्यक्तिहरूलाई हामीले नियन्त्रणमा लियौँ। अनुसन्धान गर्दा ती सातै जना युवतीको हत्यामा संलग्न भएको पुष्टि भयो।
यो सफलतापछि डीएसपी अच्युत खरेलले सबै अधिकृतहरूका माझ मेरो प्रशंसा गर्नुभयो।

म भने यो सफलतालाई मेरो व्यक्तिगत चातुर्यभन्दा पनि बाबाको मार्गदर्शन र दैवी कृपाको प्रतिफल मान्छु।
बौद्धको अश्लील भिडियो काण्ड र ज्यान मार्ने प्रहार
दक्षिणकालीपछि मेरो सरुवा बौद्ध क्षेत्रमा भयो। त्यहाँ अवैध रूपमा अश्लील फिल्म प्रदर्शन गर्ने कार्य निकै बढेको थियो।
मैले एउटा कारबाही गर्दै १३ वटा त्यस्ता प्रतिबन्धित भिडियो बरामद गरेँ। बाक्लो बस्ती भएको बौद्धको भित्री इलाकामा पुगेर यस्तो कारबाही गर्नु निकै चुनौती र जोखिमपूर्ण थियो।
उक्त कारबाहीपछि ममाथि सांघातिक आक्रमण भयो। बुझिएअनुसार उक्त अवैध कार्यमा तत्कालीन आइजी डीबी लामाका नातेदारहरूको संलग्नता रहेछ।
शक्तिको आडमा गरिएको त्यो धन्दामाथि हस्तक्षेप गरेपछि मलाई मार्ने नियतले आक्रमण गरिएको थियो। तर, मैले ‘दोषीमाथि कानुनी कारबाही नभए जागिर नै छोड्ने’ अडान लिएँ।
मेरो अडानपछि आईजीपीका नातेदारहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढ्यो र उनीहरूलाई केही समय हिरासतमा राखियो।
२०३७-३८ सालतिरको कुरा हो, कारबाहीबाट आक्रोशित समूहले ममाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरेको थियो। प्रहरी तालिमका क्रममा सिकेको आत्मरक्षाको सीपका कारण म बाँच्न सफल भएँ।
मलाई प्रहार गरिएको त्यो खुकुरी मैले अहिलेसम्म सुरक्षित राखेको छु।
त्यो सांघातिक आक्रमणबाट म निकै आक्रोशित बनेको थिएँ र दोषीलाई कारबाही गर्न म आफैँ पेस्तोल बोकेर उनको घर पुगेको थिएँ।
तर, तत्कालीन डीएसपी अच्युत खरेल आफैँ घटनास्थलमा आइपुगेर मलाई संयमित बनाउनुभयो र कानुनी प्रक्रियामार्फत दोषीलाई जेल पठाउनुभयो।
धरानको चुनाव र ज्यान जोगाउने हवाई फायर
पञ्चायत कालमा मेरो सरुवा सई (सब-इन्स्पेक्टर) पदमा धरानमा भयो। त्यहाँ नगर निर्वाचनको समयमा उत्तेजित भीडले तरहरा कृषि केन्द्रका एक इन्जिनियरलाई नियन्त्रणमा लिएर स्कुलको छतबाट खसालेर मार्ने योजना बनाएको थियो।
माथिल्लो निकायबाट ‘कुनै पनि हालतमा गोली नचलाउनु’ भन्ने कडा आदेश थियो। तर, एकातिर आदेश थियो भने अर्कोतिर निर्दोष व्यक्तिको ज्यान जानै लागेको थियो।
मैले मानवीय संवेदनाका कारण आदेश मात्र पर्खेर बस्न सकिनँ। मैले आफ्नो कार्यक्षेत्रभन्दा केही पर पुगेर झन्डै १३-१४ राउन्ड हवाई फायर गरेँ।

गोली चलेपछि भीड तितरबितर भयो र ती इन्जिनियरको ज्यान बच्यो। मेरो यो कदमको केही विरोध भए पनि एउटा निर्दोषको ज्यान बचाउन पाएकोमा मलाई सन्तुष्टि मिल्यो।
पछि वि.सं. २०४५-४६ को जनआन्दोलनका समयमा म इन्स्पेक्टर भइसकेको थिएँ र ट्राफिक प्रहरीमा कार्यरत थिएँ।
कालीमाटी लगायतका क्षेत्रमा ‘गोली नचलाउनु’भन्ने आदेशका कारण आत्मरक्षा गर्न नपाउँदा हाम्रा कयौँ प्रहरी साथीहरूले अनाहकमा ज्यान गुमाउनुपरेको थियो।
साहित्य लेखन र सक्रिय अवकाश
प्रहरी सेवामा रहँदा डीएसपी पदबाट अवकाश पाएपछि मैले आफ्नो समय लेखन कार्यमा लगाएको छु।
साहित्य र अनुसन्धान मेरो रुचिको विषय भएकाले मैले मेरा अनुभव र भोगाइहरूलाई पुस्तकका रूपमा लिपिबद्ध गरेको छु।
मेरा प्रकाशित कृतिहरूमा ‘गौराङ्ग’ (खण्डकाव्य), नेपाली लोकलयमा आधारित ‘नवरत्न’, धर्महरूको तुलनात्मक अध्ययन समेटिएको ‘एक मात्र’, पद्य कविता सङ्ग्रह ‘अमर छु’ र ‘हरिभक्त सिग्देलका गद्य कविता सङ्ग्रह’ प्रमुख छन्।
यसबाहेक म ‘मुक्तिनाथ दर्शन’ नामक साहित्यिक पत्रिकाको प्रकाशन र सम्पादनमा पनि सक्रिय छु। लेखन मेरो आत्मिक सन्तुष्टिको विषय भएकाले यो यात्रा जीवनभर निरन्तर चलिरहनेछ।
असार १९, २०८३ शुक्रबार ०८:२०:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।