नेपाल लाइफ इन्स्योरेन्सलाई बीपीए गोल्ड अवार्ड

नेपाल लाइफ इन्स्योरेन्सलाई बीपीए गोल्ड अवार्ड

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले 'नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड-२०२५' अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको अवसरमा कम्पनीलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) द्वारा असार १६ गते बुधबार काठमाडौँस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच उक्त अवार्ड प्रदान गरिएको हो। सो पुरस्कार नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरे।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनमा उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरूको प्रभावकारी पालना र संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताका आधारमा कम्पनीलाई पुरस्कृत गरिएको हो।

आईक्यानले कम्पनीको संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको कदर गर्दै विधागत रूपमा सर्वोत्कृष्ट ठहर गरी गोल्ड अवार्ड प्रदान गरेको जनाएको छ।  

अवार्ड ग्रहण गरेपछि प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताए। उनले यो सफलताको श्रेय सञ्चालक समिति, बीमित ग्राहक, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा नियामक निकायहरूलाई दिँदै सबैप्रति हार्दिक आभार व्यक्त गरे।

हालैको वित्तीय तथ्याङ्कअनुसार नेपाल लाइफ इन्स्योरेन्सले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरिसकेको छ। कम्पनीले हाल २ खर्ब ६७ अर्बभन्दा बढीको विशाल जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने हालसम्म १ खर्ब १३ अर्बभन्दा बढीको दाबी भुक्तानी गरेर आफ्नो विश्वसनीयता प्रमाणित गरिसकेको छ।  

यस कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्बभन्दा बढी राजस्व तथा कर बुझाइसकेको छ। वित्तीय स्थायित्व र उच्च भुक्तानी क्षमताकै कारण इक्रा नेपालबाट 'डबल ए माइनस' क्रेडिट रेटिङ पाउने यो नेपालकै पहिलो जीवन बीमा कम्पनी हो। 

हाल देशभर ७७ वटै जिल्लामा फैलिएका १९७ वटा कार्यालयहरू (केन्द्रीय, प्रादेशिक, शाखा र उपशाखा) तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ताहरूको बलियो सञ्जालमार्फत नेपाल लाइफले नेपालीहरूको पहिलो रोजाइको बीमा कम्पनीका रूपमा आफ्नो नेतृत्वदायी स्थानलाई निरन्तर सुदृढ बनाउँदै लगेको छ। आगामी दिनमा पनि "विश्वास, पारदर्शिता र उत्कृष्ट सेवा" लाई मूल मन्त्र बनाएर अघि बढ्ने प्रतिबद्धता कम्पनीले जनाएको छ। 

असार १७, २०८३ बुधबार १९:०७:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।