नेपाल वायुसेवा निगमको ६८ औं वार्षिकोत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६८ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं : नेपाल वायुसेवा निगमको ६८औँ वार्षिकोत्सव बुधबार विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। न्युरोडस्थित निगमको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। 

कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौला र सहसचिव जयनारायण आचार्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

वार्षिकोत्सवको औपचारिक कार्यक्रम सुरु हुनुअघि निगम परिसरबाट प्रभातफेरी कार्यक्रम निकालिएको थियो। उक्त प्रभातफेरी न्यूरोडस्थित जुद्ध सालिक चोक हुँदै पुनः निगमको प्राङ्गणमा पुगेर सभामा परिणत भएको थियो। प्रभातफेरीमा निगमका कर्मचारीहरूको  उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै मन्त्री पौडेलले निगमले गर्ने राम्रा काममा मन्त्रालयको पूर्ण सहयोग रहने बताए। उनले निगमले गरेका राम्रा कार्यहरूमा मन्त्रालयको तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता जनाउँदै निगमका सम्पूर्ण कर्मचारीहरूलाई कुशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए।

त्यस्तै, मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले निगमको अवस्थालाई समीक्षा गर्दै अहिले नै निराश नहुन र निगमलाई बलियो बनाउन सबैले ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमको अध्यक्षता गरेका निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले निगमको हालको अवस्थाबारे जानकारी दिए। उनले अनेकौँ चुनौती र बाधाका बीच पनि धेरै सकारात्मक सङ्केतहरू देखिएको, पछिल्लो समय यात्रुहरूको सङ्ख्या र निगमको आम्दानी समेत बढेको दाबी गरे। उनले विगतका अनुभवबाट शिक्षा लिँदै र वर्तमानका चुनौतीप्रति सजग रहँदै भविष्यप्रति स्पष्ट दृष्टिकोणका साथ अघि बढ्ने प्रतिबद्धता जनाए।

सोही अवसरमा निगमको तर्फबाट हरेक वर्ष प्रकाशन गरिने वार्षिक विशेष विशेषाङ्क "आकाशभैरव" को औपचारिक लोकार्पण गरिएको थियो। यसका साथै, वार्षिकोत्सवको अवसर पारेर गत असार १२ गते निगमको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (त्रि.अ.वि.) मा बृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो। उक्त रक्तदान कार्यक्रममा निगमका कर्मचारी लगायत कुल २६४ जनाले रक्तदान गरेका थिए।

असार १७, २०८३ बुधबार १८:५७:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।