एनआईसी एशिया बैंकद्वारा डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई सहयोग
काठमाडौं : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डोटी र सिन्धुपाल्चोकका दुई विद्यालयलाई शैक्षिक तथा भौतिक सामग्री सहयोग गरेको छ।
बैंकले डोटीस्थित सरस्वती आधारभूत विद्यालय र सिन्धुपाल्चोकस्थित जन जागृति माध्यमिक विद्यालयलाई सहयोग उपलब्ध गराएको हो।
बैंकको दिपायल शाखाले आषाढ १५ गते डोटीको के.आई.सिंह गाउँपालिका-४, बगर वायसस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई वाटर डिस्पेन्सर सहयोग गरेको छ।
प्रारम्भिक बाल विकासदेखि कक्षा ५ सम्म ३६ भन्दा बढी विद्यार्थी अध्ययनरत यस विद्यालयमा बुबाआमा नभएका तथा सीमान्तकृत २१ जना विद्यार्थीहरू आवासीय रूपमा बस्दै आएका छन्। बैंकका दिपायल शाखा प्रमुख रमेश ओझाले विद्यालयका प्रधानाध्यापक पदम सिंह विष्टलाई सो सामग्री हस्तान्तरण गरेका हुन्।
यसैगरी, बैंकले आषाढ १६ गते सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ स्थित श्री जन जागृति माध्यमिक विद्यालयलाई प्रविधिमैत्री शिक्षाका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ। करिब ४५० विद्यार्थी अध्ययनरत यस विद्यालयलाई बैंकले १ थान ल्यापटप, ३ थान डेस्कटप कम्प्युटर र १ थान प्रोजेक्टर प्रदान गरेको हो।
बैंकका ईएसजी एन्ड सस्टेनेबल बैंकिङ डिपार्टमेन्ट प्रमुख सोफी अधिकारी र बनेपा सर्कल हेड अमृतमान श्रेष्ठले संयुक्त रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नम्बर १२ का अध्यक्ष दिपेन्द्र प्रसाद नेपाल र प्रधानाध्यापक ध्रुवराज गिरीलाई सो सामग्री हस्तान्तरण गरेका थिए।
यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा सहजता ल्याउनुका साथै प्रविधिमा आधारित गुणस्तरीय शिक्षाको पहुँचमा थप सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
असार १७, २०८३ बुधबार १३:५०:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।