पेट्रोलियम पदार्थको मूल्य घट्यो : पेट्रोलमा २० र डिजेलमा ३० रुपैयाँ घट्यो, ग्यास पनि सस्तो
काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार घटेर आएपछि निगमले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाउने निर्णय गरेको हो।
निगम सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार नयाँ मूल्यदर बुधवार (असार १७ गते) राति १२:०१ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य समायोजनअनुसार उपभोक्ताले पेट्रोल, डिजेल र ग्यासमा ठूलो राहत पाएका छन्।
पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ घटाइएको छ। डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ घटाइएको छ भने हवाई इन्धन (आन्तरिक) मा प्रतिलिटर ३० रुपैयाँ घटाइएको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेल २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धन २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको मूल्य घटेर आएकाले सोही आधारमा उपभोक्ता मूल्य समायोजन गरिएको हो।
निगमले अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि हवाई इन्धनको बिक्री मूल्य प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाएको छ। पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि भने ब्रेकइभेन बिन्दुमै बिक्री मूल्य कायम राखिएको निगमले जनाएको छ।
असार १६, २०८३ मंगलबार २३:१९:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।