उकेरा समाचार प्रभाव : खरिद मापदण्ड लक्ड गरेर अगाडि बढेको भक्तपुर अस्पतालको १२ करोडको रोबटिकको टेन्डर रद्द
काठमाडौं : निश्चित सप्लायर्सलाई मात्र टेन्डर दिने गरी भक्तपुर अस्पताल नेतृत्वले अगाडि बढाएको करिब १२ करोडको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’को टेन्डर रद्द गरेको छ। उकेराले प्रमाणसहित यो खरिद प्रकरणमा भएको मिलेमतो सार्वजनिक गरेपछि अस्पताल प्रशासनले अन्तमा टेन्डर रद्द गर्ने निर्णय गरेको हो।
भक्तपुर अस्पतालले असार १६ गते मंगलबार प्रकाशित गरेको सूचनामा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’को खरिद प्रक्रिया रद्द गरिएको उल्लेख छ। रद्द गर्नुको कारण ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ सम्बन्धी २०८३ जेठ १२ मा प्रकाशित सूचना अनुसार 'इ–जीपी आइआइ' सिस्टम मार्फत पेस हुन आएका दुई वटै बोलपत्रहरूको प्राविधिक प्रस्तावहरू सारभूत रूपमा प्रभावग्राही नभएको उल्लेख छ।
उकेराले यो खरिद मिलेमतोबारे प्रमाणसहित शृङ्खलाबद्ध रूपमा समाचार सम्प्रेषण गरेको थियो। उकेराले पहिलो पटक वैशाख २१ मा यसबारे समाचार प्रकाशित गरेको थियो।
जानकारस्रोतका अनुसार बागमती प्रदेश सरकारका अधिकारीहरू जसरी पनि टेन्डर प्रक्रिया टुङ्ग्याउने पक्षमा थिए। उनीहरूले निरन्तर दबाब दिए पनि मिलेमतोको खुलासा भइसकेको भन्दै अस्पताल प्रशासन पछाडि हट्दै अन्तमा टेन्डर प्रक्रिया नै रद्द गरेको हो।
उकेराले खरिद प्रक्रियाका मापदण्डको अध्ययन गर्दा चिनिया कम्पनीको क्याटलग लक्ड गरेर, ‘१५ दिन’मा डेलिभरीको अनौठो सर्त' सहित टेन्डर प्रक्रिया अगाडि बढेको खुलेको थियो।
उकेराको अध्ययनमा भक्तपुर अस्पतालले टेन्डर गर्दै खरिदका लागि बनाइएको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ को स्पेशिफिकेशनका बुँदाहरू चिनिया उत्पादक कम्पनी ‘एज मेडिकल’को मोडल नम्बर ‘एमपी-१०००’ लक्षित रहेको खुलेको थियो।
अहिले भक्तपुर अस्पतालको नेतृत्वमा अस्पतालका निमित्त निर्देशक डा. त्रिभुवन चन्द्र झा छन्। ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको खरिद प्रक्रिया भने भक्तपुर अस्पतालका निवर्तमान निमित्त निर्देशक डा. सुरेन्द्र भट्टले अगाडि बढाएका थिए।
डा. भट्टले नियम विपरीत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा ‘इनफर्टिलिटी’ सम्बन्धी एक वर्षे फेलोसिप गरिरहेको विषय तीन हप्ताअघि वैशाख ३१ मा उकेराले प्रमाणसहित सार्वजनिक गरेपछि बदमासी लुकाउन बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. भट्टलाई भक्तपुर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारीबाट हटाएर झालाई दिएको थियो।
यसरी सुरु भएको थियो खरिद प्रक्रिया
आर्थिक वर्ष २०८२-०८३ बजेटमा ‘सार्वजनिक निजी साझेदारीको अवधारणा अनुसार प्रदेश औषधी उत्पादन केन्द्र र ड्रग एन्ड टक्सिकोलोजी केन्द्र स्थापना गर्न, प्रादेशिक अस्पतालहरूमा विशेषज्ञ तथा विशिष्टीकृत आँखा र रोबटिक शल्यक्रियाका लागि १० करोड विनियोजन’ भएको थियो।
पहिल्यै तोकिएको खरिदको प्रक्रिया भने आर्थिक वर्ष सकिने अन्तिम समयतिर अगाडि बढाइयो। अस्पतालले २०८३ वैशाख १९ गते सूचना प्रकाशित गर्दै तीन दिनको समयसिमा तोकेर ‘रोबटिक सर्जरी’ सम्बन्धी मेसिनका बारेमा विज्ञताको जानकारी वैशाख २२ सम्ममा उपलब्ध गराइदिन सूचना निकालेको थियो।
भक्तपुर अस्पतालले २०८३ जेठ १२ (२०२६, मे २६) मा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण खरिद गर्ने गरी टेन्डर आह्वान गरेर खरिद प्रक्रिया अगाडि बढाएको थियो।
अस्पतालले उपकरण खरिदका लागि २०८३ जेठ २२ (२०२६, जुन ५) मा ‘प्रि-बिड’ मिटिङको समय तोकेको थियो। प्राविधिक स्पेशिफिकेशन लगायतका मापदण्ड तथा सर्त संशोधन नै नगरी सप्लायर्स कम्पनी र अस्पताल नेतृत्वले मिलेमतो लुकाउने कोसिस गर्दै टेन्डर प्रस्तावको केही रणनीति भने परिवर्तन समेत गरेको देखिएको थियो।
सामान बुझाउने अस्वाभाविक समय र प्राविधिक स्पेशिफिकेशन राखेर भक्तपुर अस्पतालले अगाडि बढाएको करिब १२ करोडको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’का लागि दुई वटा सप्लायर्स कम्पनीले टेन्डर प्रस्ताव गरेका थिए।
उकेरालाई प्राप्त विवरण अनुसार भक्तपुर अस्पतालको ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’खरिदका लागि काठमाडौं–१०, बुद्दनगर ठेगाना भएको ‘सनराईज सर्जिकल हाउस’ र काठमाडौं–११, थापाथली ठेगाना भएको ‘लाइफलाइन ट्रेडर्स प्रालिले टेन्डर प्रस्ताव गरेका थिए।
‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको टेन्डरको ठेक्का (आइएफबी) नम्बर ‘बीएचबी-जी-एनसीबी-२४-२०८२-८३’ हो। यो खरिदको टेन्डर कागजातमा,‘प्रक्रुमेन्ट अफ रोबटिक एसिस्टेड सर्जिकल सिस्टम, सिंगल-स्टेजः टु इन्भेलोप बिडिङ प्रोसेड्युर, नेश्नल कम्पिटेटिभ बिडिङ (एनसीबी)’ लेखिएको थियो।
डेलिभरी डेट’मा खेलेर यसरी गरिएको थियो सेटिङ
अस्पतालले ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरणको यो टेन्डरमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई निषेध गरेको थियो। रोबटिक उपकरणको टेन्डर कागजात हेर्दा बागमती प्रदेशको बजेट निर्माणको चरणदेखि टेन्डरको स्पेशिफिकेशन निर्माणको चरणसम्म आइपुग्दा नै निश्चित सप्लायर्स कम्पनीलाई नै टेन्डर दिने मनसाय देखिएको थियो।
खरिद प्रक्रिया आर्थिक वर्ष सकिनु अन्तिम समय पारेर प्रक्रिया अगाडि बढाइएको थियो। त्यसमा अर्को पक्ष भनेको उपकरण ल्याइदिनु पर्ने समय हो। १२ करोडको टेन्डरमा टेन्डर पर्ने कम्पनीले असार २४ सम्ममा उपकरण ल्याइदिनुपर्ने समय तोकिएको थियो।
यो उपकरणको प्रकृति अनुसार स्थलमार्गबाट ल्याउनु पर्ने र टेन्डर परेपछि सामान मगाएर यती छोटो अवधिमा उपलब्ध गराउन सम्भव हुन्न। यस अगाडि यस्तो छोटो समय तोकेर निकालिने टेन्डरमा पहिल्यै लक्ड गरिएको उपकरणको नेपाली सप्लायर्सले उपकरण मगाएर नेपालमा राख्ने र टेन्डर परेपछि सामान उपलब्ध गराउने गरेको देखिएको थियो।
एक त छोटो अवधि तोक्दा तोकिएको समयमा उपकरण मगाएर बुझाउन नसक्ने भएकाले अन्य सप्लायर्सहरु प्रतिस्पर्धामा सहभागी हुन्नन्। अर्कोतिर जुन उपकरणको मापदण्ड नै खरिद मापदण्डमा राखेर लक्ड गरिएको हुन्छ उसैले टेन्डर पाउने पक्का हुने भएपछि उसले पहिल्यै उपकरण मगाएर राख्ने वा टेन्डर पर्ने पक्का भएपछि खरिद प्रक्रिया सुरु हुँदै सामान मगाइहाल्ने गर्छन्। यो खरिद प्रक्रियामा पनि यही शैली अपनाइएको देखिए पनि उकेराको खुलासापछि कानुनी फन्दामा परिने डरले भक्तपुर अस्पताल नेतृत्वले ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’को टेन्डर नै रद्द गरिदिएको छ।
टेन्डर कागजातमा असार २४ भित्र ल्याइदिनुपर्ने राखिएको सर्त अनुसार टेन्डर स्वीकृत भएको करिब १५ दिन भन्दा कम समयमा नै भक्तपुर अस्पतालमा ‘रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण ल्याउनु पर्ने देखिएको थियो। रोबटिक एसिस्टेड सर्जिकल सिस्टम’ उपकरण नेपालमा बन्दैन। यो विदेशबाटै ल्याउने हो।
तर, छोटो समयावधि राखेर टेन्डर स्वीकृत गर्दा मिलेमतो छिप्ने नदेखिएपछि अस्पताल नेतृत्वले सहज बाटो अपनाएको देखिएको हो। यो उपकरणको प्रकृति अनुसार स्थलमार्गबाट ल्याउनु पर्ने र टेन्डर परेपछि सामान मगाएर यती छोटो अवधिमा उपलब्ध गराउन सम्भव देखिएको थिएन।
टेन्डर खुलेर सम्झौता भएपछि उपकरण मगाएर तोकिएको समयमा बुझाउन नसकेमा कालोसूचीमा परिने भएकाले जुन सप्लायर्स यो मिलेमतोमा संलग्न हुन्न उनीहरूले प्रस्ताव नै पेस गर्दैनन्।
असार १६, २०८३ मंगलबार १८:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।

