सवारी साधनबाट कालो सिसा हटाउने सम्बन्धमा नाडाले के भन्यो?

सवारी साधनबाट कालो सिसा हटाउने सम्बन्धमा नाडाले के भन्यो?

काठमाडौं : नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)का अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको प्रतिनिधि मण्डल र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेबीच सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा हटाउने सम्बन्धमा असार १५ गते विस्तृत छलफल भएको छ।

छलफलमा ट्राफिक प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएको र विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको पाइएकाले सवारी व्यवस्थापन ऐन २०४९ को व्यवस्था अनुसार सवारी साधनहरूबाट कालो सिसा हटाउन लागिएको जानकारी दिए।

सवारीको अगाडिको सिसामा कुनै पनि प्रकारको स्टिकर टाँस्न नपाइने, कालो सिसा प्रयोग गर्न सरकारको अनिवार्य अनुमति चाहिने र पैठारीकर्ताहरूले उत्पादन कम्पनीबाटै कालो सिसा भएका सवारी आयात गर्न नहुने उनले बताए।

यसमा नाडाका अध्यक्ष उप्रेतीले बाहिरबाट टाँसिएका कालो स्टिकर हटाउन प्राविधिक रूपमा सहज भएकाले सर्वप्रथम स्टिकर हटाउने प्रक्रिया सुरु गर्न उपयुक्त हुने सुझाव दिए।

नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले कम्पनीबाटै कालो सिसा जडान भई आएका सवारी साधनहरूको संख्या न्यून रहेकाले, त्यसको संख्या यकिन गरी दोस्रो चरणमा हटाउन सकिने धारणा राखे।

सो बैठकमा नाडाका तर्फबाट उपाध्यक्ष अभिक ज्योति लगायतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

असार १६, २०८३ मंगलबार १३:१२:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।