बझाङको बाँठपाली मन्दिर निर्माणमा २२ लाख भ्रष्टाचार : गाउँपालिकाका तत्कालीन उपाध्यक्ष र निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध मुद्दा दायर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको छविसपाथिभेरा गाउँपालिकास्थित बाँठपाली मन्दिर निर्माणमा भ्रष्टाचार गरेको आरोपमा निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
उपभोक्ता समिति, प्राविधिक र गाउँपालिकाका जनप्रतिनिधि एवं कर्मचारीहरूको आपसी मिलेमतोमा कामभन्दा बढीको झुट्टा बिल बनाएर २२ लाखभन्दा बढी सरकारी रकम हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध सोमबार मुद्दा दायर गरिएको हो।
अख्तियारले दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल र छबिसपाथीभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रतालासहित ९ जनालाई प्रतिवादी बनाएको छ।
छविसपाथिभेरा गाउँपालिका–६ स्थित बाँठपाली देवताको मन्दिर निर्माढाका लागि ५६ लाख सात हजार ८९७ रुपैया ८० पैसाको लागत अनुमान गरिएको थियो। त्यसमध्ये ४५ लाख रुपैयाँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजन गरेको थियो। त्यस्तै, उपभोक्ता सहभागिताबाट ११ लाख सात हजार ८९७ रुपैयाँ ८० प्रयास र कन्टिनजेन्सीतर्फ दुई लाख २५ हजार रुपैयाँ रहेको थियो।
सो बजेटको निकासा लिने, खर्च गर्ने, र लेखापरीक्षण गराउने सम्पूर्ण जिम्मेवारी दुर्गाथली गाउँपालिकालाई तोकिएको थियो भने उपभोक्ता समिति गठन, प्राविधिक मूल्याङ्कन र अनुगमनको कार्य छविसपाथिभेरा गाउँपालिकाबाट हुने गरी सम्झौता भएको थियो।
तर, दुर्गाथली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत मकर बहादुर मण्डेल, लेखापाल प्रेम प्रसाद पौडेल, छविसपाथीभेरा गाउँपालिकाका इन्जिनियर हिक्मत रावल र सब-इन्जिनियर बम बहादुर बोहरासहितको मिलेमताोमा गैरकानुनी लाभ लिनका लागि बढी रकम निकासा गरेको पाइएको अख्तियारको दाबी छ।
उनीहरूले अस्वाभाविक दररेट र झुट्टा बिल भर्पाइका आधारमा २२ लाख एक हजार ६६५ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।
अख्तियारले लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१) र दफा १९(२) बमोजिम कसुरदार ठहर गर्दै उनीहरूबाट त्यही बराबरको बिगो माग दाबी गरी कैद, बिगोबमोजिम जरिवाना र बिगो असुल उपर गर्न मागदाबी गरेको छ।
यस्तै, बदनियतपूर्वक प्रतिवेदन तयार पारेको कसुरमा छविसपाथिभेरा गाउँपालिकाका तत्कालीन उपाध्यक्ष राधिका कुमारी रताला र वडा नं. ६ का वडा अध्यक्ष मोहन लाल वि.क. उपर सोही ऐनको दफा १९(२) बमोजिम कैद र जरिवाना सजायको माग गरिएको छ।
यसैगरी, गैरकानुनी लाभ लिने प्रकृतिको मुख्य मतियार बनेको ठहर गर्दै बाँठपाली देवता मन्दिर निर्माण समितिका अध्यक्ष कृष्ण बहादुर बुढा (कृष्ण बुढा), सचिव जय बहादुर बुढा र कोषाध्यक्ष मधुली देवी बुढा उपर पनि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशबमोजिम मुख्य कसुरदार सरह नै २२ लाख एक हजार ६६५ रुपैयाँ बिगो, जरिवाना, कैद र बिगो असुल उपरको सजाय मागदाबी गरिएको छ।
असार १५, २०८३ सोमबार १७:१४:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।