राष्ट्र बैंकको कारबाहीमा ५ लघुवित्त र ३ सञ्चालक समिति : पुँजीकोष नपुग्नेदेखि नियमविपरीत कर्मचारी पुनरबहालीसम्म

राष्ट्र बैंकको कारबाहीमा ५ लघुवित्त र ३ सञ्चालक समिति : पुँजीकोष नपुग्नेदेखि नियमविपरीत कर्मचारी पुनरबहालीसम्म

काठमाडौं : नेपाल राष्ट्र बैंकले नियमविपरीत कार्य गर्ने विभिन्न ५ वटा लघुवित्त वित्तीय संस्था र ३ वटा संस्थाका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतलाई कडा कारबाही गरेको छ। 

बैंकको लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रयमासमा स्थलगत तथा गैर-स्थलगत सुपरिवेक्षणका क्रममा गम्भीर कैफियत भेटिएका संस्थाहरूलाई शिघ्र सुधारात्मक कारबाही र सचेत गराएको हो।

नियामकीय मापदण्ड अनुसार न्यूनतम पुँजीकोष अनुपात कायम गर्न नसकेका ५ वटा लघुवित्त वित्तीय संस्थालाई "बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही सम्बन्धी विनियमावली, २०७४" को विनियम ३ (क) बमोजिम कारबाही गरिएको छ।

राष्ट्र बैंकले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, सिवाइसी लघुवित्त वित्तीय संस्था, गणपति लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था र नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थामाथि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही गरेको हो।

राष्ट्र बैंकका अनुसार २०८२ असार मसान्तमा आरम्भ चौतारीको न्यूनतम पुँजीकोष अनुपात ७.७७ प्रतिशत, सिवाइसीको ६.२० प्रतिशत, सामुदायिकको ६.१२ प्रतिशत तथा नेरुडे मिर्मिरेको ६.०१ प्रतिशत मात्र कायम भएको थियो।

त्यसैगरी गणपति लघुवित्तको २०८२ असोज मसान्तसम्म पुँजीकोष अनुपात ६.०६ प्रतिशत मात्र रहेपछि उक्त संस्थामाथि पनि शीघ्र सुधारात्मक कारबाही गरिएको हो।

यसैबीच, धौलागिरि लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूलाई कर्मचारी सेवा विनियमावलीविपरीत नायव कार्यकारी अधिकृतलाई पुनर्बहाली गरेको तथा स्पष्ट आधार र कारणबिना सेवामा नरहेको अवधिको रकमसमेत भुक्तानी गरेको पाइएपछि सचेत गराइएको छ।

सवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाका सञ्चालकहरूलाई पनि संस्थाको आर्थिक प्रशासन विनियमावलीले तोकेको खर्च सीमा र अख्तियारीको पालना नगरी सवारी साधन खरिद गरेको भन्दै राष्ट्र बैंकले सचेत गराएको छ।

त्यस्तै, नेरुडे मिर्मिरे लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याललाई कर्जा नोक्सानी व्यवस्थाका रूपमा कायम गरिएको ८१ करोड ५५ लाख रूपैयाँ फिर्ता गरी आम्दानीमा देखाउँदा सम्बन्धित ऋणीको विवरण यकिन नगरी राष्ट्र बैंकको निर्देशनविपरीत आम्दानी लेखाङ्कन गरेको पाइएपछि सचेत गराइएको हो।

असार १५, २०८३ सोमबार १६:२८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।