नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

नेपाल टेलिकमले ल्यायो अटो–रिन्यु हुने मासिक प्याकेज, एकपटक सक्रिय गरेपछि हरेक महिना स्वतः नवीकरण

काठमाडौं : नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि स्वतः नवीकरण (अटो–रिन्यु) हुने नयाँ ‘सब्स्क्रिप्सन–बेस्ड’ मासिक प्याकेज सार्वजनिक गरेको छ। 

कम्पनीले ग्राहकले हरेक महिना आफैं प्याकेज खरिद वा सक्रिय गरिरहनुपर्ने झन्झट हटाउने उद्देश्यले यो सेवा सञ्चालनमा ल्याएको जनाएको छ।

कम्पनीका अनुसार एकपटक प्याकेज सब्स्क्राइब गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स भएमा हरेक ३० दिनमा उक्त प्याकेज स्वतः नवीकरण हुनेछ । टेलिकमले ‘नमस्ते रिकरिङ’ अन्तर्गत तीन प्रकारका मासिक प्याकेज उपलब्ध गराएको छ। २९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ३०० मिनेट कल, ६ जीबी डाटा (४ जीबी नियमित र २ जीबी नाइट डाटा) तथा नेपाल टेलिकम नेटवर्कभित्र पठाउन मिल्ने २० वटा एसएमएस समावेश छन्।

त्यस्तै, ४९९ रुपैयाँको प्याकमा सबै नेटवर्कमा ५०० मिनेट कल, कुल १२ जीबी डाटा (८ जीबी नियमित र ४ जीबी नाइट डाटा) तथा सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस उपलब्ध हुनेछन्।

७९९ रुपैयाँको प्रिमियम प्याकमा भने सबै नेटवर्कमा असीमित कल, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डाटा तथा सबै नेटवर्कमा पठाउन मिल्ने ३०० वटा एसएमएस सुविधा दिइएको छ।

थप डाटाको आवश्यकता पर्ने ग्राहकका लागि टेलिकमले ‘एड–अन’ प्याकेज पनि उपलब्ध गराएको छ। यसअन्तर्गत ३० रुपैयाँमा एक दिनका लागि १ जीबी, ५० रुपैयाँमा तीन दिनका लागि २ जीबी र ९९ रुपैयाँमा सात दिनका लागि ४ जीबी डाटा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार सेवाग्राहीले आफ्नो मोबाइलबाट १४१५ डायल गरी प्राप्त निर्देशनअनुसार आफूलाई आवश्यक पर्ने प्याकेज सहज रूपमा सब्स्क्राइब गर्न सक्नेछन् ।

असार १४, २०८३ आइतबार १४:१९:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।