एलजीद्वारा ‘इसेन्सियल सिरिज’ सार्वजनिक, ‘हरेक घरको खुशी, घर-घरमा एलजी’ अभियान देशव्यापी विस्तार गरिँदै
काठमाडौं : नेपाली बजारमा एलजीले आफ्नो नयाँ घरायसी उपकरण श्रृंखला ‘एलजी इसेन्सियल सिरिज’ सार्वजनिक गरेको छ।
एलजी इलेक्ट्रोनिक्स सिंगापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा काठमाडौंस्थित होटल विवान्तामा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त श्रृंखलाको औपचारिक अनावरण गरेको हो।
नयाँ श्रृंखला सार्वजनिक गरेसँगै कम्पनीले ‘हरेक घरको खुशी, घर-घरमा एलजी’ नामक देशव्यापी अभियान पनि घोषणा गरेको छ। यस अभियानलाई देशका प्रमुख सहरहरूमा चरणबद्ध रूपमा विस्तार गरिने कम्पनीले जनाएको छ।
स्थानीय उपभोक्ताहरूलाई नयाँ प्रविधिसँग प्रत्यक्ष रूपमा जोड्नका लागि एलजीले असार १५ गते इटहरी, असार १७ गते नारायणघाट, असार १९ गते पोखरा, असार २१ गते बुटवल र असार २३ गते नेपालगञ्जमा विशेष कार्यक्रमहरू आयोजना गर्ने तालिका सार्वजनिक गरेको छ, जहाँ उपभोक्ताहरूले उत्पादनहरू प्रत्यक्ष रूपमा अनुभव गर्न र आफ्नो आवश्यकता अनुसारका उपकरणहरू छनोट गर्न सक्नेछन्।
नेपाली परिवारहरूको दैनिक आवश्यकता, जीवनशैली र स्थानीय वातावरणीय परिस्थितिलाई ध्यानमा राखेर तयार गरिएको यस श्रृंखलामा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन र सुलभ मूल्यलाई विशेष प्राथमिकता दिइएको छ।
नयाँ श्रृंखला अन्तर्गत बजारमा ल्याइएका मुख्य तीन उत्पादनहरूमा डबल-डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित लुगा धुने मेसिन (फुल्ली अटोमेटिक टप-लोड वासिङ मेसिन) र रूम एयर कन्डिसनर रहेका छन्। बरफ नजम्ने प्रविधियुक्त फ्रिजमा मौसम अनुसार भित्री चिस्यान नियन्त्रण गर्ने ‘स्मार्ट मोड’ र २० प्रतिशत ठूलो तरकारी भण्डारण क्षमता रहेको छ।
त्यसैगरी, नेपालको वातावरणीय अवस्था अनुकूल बनाइएको लुगा धुने मेसिनमा सुरक्षित मोटर, विशेष आवरण, पानी प्रतिरोधी नियन्त्रण पातो र कम पानीको चापमा पनि प्रभावकारी धुलाई गर्ने प्रविधि समावेश छ भने ऊर्जा बचत गर्ने कोठा सितल पार्ने उपकरणमा वातावरणमैत्री ग्याँस प्रयोग गरिएको छ र यसले चल्दा एकदमै कम आवाज निकाल्छ।
कम्पनीका अनुसार एलजी इसेन्सियल श्रृंखलाका उत्पादनहरूको बिक्री वितरण नेपालभर सन् २०२६ जुन महिनादेखि सुरु भइसकेको छ र यी प्रारम्भिक मोडेलहरूको सुरुवाती मूल्य करिब ४९ हजार ६९० तोकिएको छ।
यो श्रृंखला देशैभरका आधिकारिक एलजी ब्रान्ड पसल, बहु-ब्रान्ड बिक्री केन्द्र तथा प्रमुख अनलाइन बजारहरू मार्फत खरिद गर्न सकिनेछ। नेपालमा विगत चार दशकभन्दा लामो समयदेखि सीजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरू आधिकारिक रूपमा बिक्री वितरण गर्दै आएको छ।
असार १४, २०८३ आइतबार ११:२९:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।