ग्लोबल आईएमई बैंकद्वारा ‘उद्यमशाला कार्यक्रम’को घोषणा, आवेदन खुला
काठमाडौं : ग्लोबल आईएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशीलताको विकास तथा साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल आईएमई उद्यमशाला कार्यक्रम’ सञ्चालन गर्ने घोषणा गरेको छ।
विश्व लघु, साना तथा मझौला व्यवसाय दिवस २०२६ को अवसरमा आयोजित एक कार्यक्रमका बीच बैंकले यस उद्यमशाला कार्यक्रमको घोषणा गर्दै इन्स्युबेसन कार्यक्रमका लागि देशभरका उद्यमी तथा नवप्रवर्तनको सोच भएका व्यक्तिहरूबाट आवेदन आह्वान गरेको छ।
यस उद्यमशाला कार्यक्रमको मुख्य उद्देश्य नवप्रवर्तनको सोच भएका व्यक्तिहरूलाई सफल उद्यमी बन्न प्रेरित गर्नुका साथै सञ्चालनमा रहेका लघु, साना तथा मझौला व्यवसायमा आबद्ध व्यवसायीहरूलाई दिगो र प्रतिष्ठित व्यवसाय बनाउन आवश्यक सैद्धान्तिक एवम् व्यावहारिक ज्ञान, सीप तथा परामर्श प्रदान गर्नु रहेको बैंकले जनाएको छ।
बैंकको प्रधान कार्यालय कमलादी, काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले उद्यमशाला कार्यक्रमको घोषणा गर्दै आवेदन खुला भएको जानकारी दिए। कार्यक्रममा बोल्दै रेग्मीले लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको बताए।
"लघु, साना तथा मझौला व्यवसायीहरूले भोग्नुपर्ने साझा चुनौतीहरूलाई सम्बोधन गर्न बैंकले यो प्लेटफर्म तयार गरेको हो। सम्बन्धित क्षेत्रका विषयविज्ञ, अनुभवी व्यवसायी तथा प्रशिक्षकहरू मार्फत सहभागीहरूलाई व्यावहारिक ज्ञान र समस्या समाधानका उपायहरू प्रदान गरिनेछ," रेग्मीले भने।
उद्यमशाला कार्यक्रम अन्तर्गत बैंकले मुख्यतया दुईवटा ढाँचामा सहयोग पुर्याउनेछ, जसमा पहिलो इन्स्युबेसन र दोस्रो एक्सिलेरेसन रहेको छ।
इन्स्युबेसन कार्यक्रम नयाँ र नवप्रवर्तनात्मक व्यावसायिक सोच भएका तर उद्यमशीलताको यात्रा कसरी सुरु गर्ने भन्ने अन्योलमा रहेका युवाहरूलाई लक्षित गरी सञ्चालन गरिनेछ, जस अन्तर्गत उनीहरूको क्षमता अभिवृद्धि, व्यवसायको सञ्जाल विस्तार र मार्गदर्शन प्रदान गरिनेछ।
त्यसैगरी, एक्सिलेरेसन कार्यक्रम अन्तर्गत हाल सञ्चालनमा रहेका तर व्यवसाय विस्तार वा स्तरोन्नतिमा कठिनाइ भोगिरहेका उद्यमीहरूलाई समेटिनेछ, जस अन्तर्गत क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण र सरोकारवाला निकायहरूसँगको पहुँचमा सहजीकरण गरिनेछ।
यस कार्यक्रम मार्फत सहभागीहरूले व्यवसाय दर्ता, कर तथा कानुनी प्रक्रिया, बजार अध्ययन, उत्पादन प्रक्रिया, वित्तीय व्यवस्थापन र बैंक तथा वित्तीय संस्थासँगको पहुँच जस्ता महत्त्वपूर्ण विषयमा गहन व्यावहारिक ज्ञान प्राप्त गर्ने विश्वास बैंकले लिएको छ।
असार १३, २०८३ शनिबार १४:५६:२८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।