डा. मधुरको उपचार अनुभव : भर्ना गरिएकी महिलाले अस्पताल बाहिरको माटो भात झैँ कपाकप खाएपछि...

डा. मधुरको उपचार अनुभव : भर्ना गरिएकी महिलाले अस्पताल बाहिरको माटो भात झैँ कपाकप खाएपछि...

मनोचिकित्सक डा. मधुर बस्नेतको चिकित्सकीय विधा नै व्यक्तिको मनको बहाव बुझ्नु र त्यसको उपचार गर्नु हो।

चिकित्सा विज्ञानको विकासले धेरैजसो मानसिक समस्याहरूको सफल उपचार सम्भव तुल्याए पनि कतिपय जटिल बिरामीलाई निको पार्न निकै कठिन हुन्छ।

विगत १६ वर्षदेखि मनोचिकित्सा क्षेत्रमा अनवरत क्रियाशील डा. मधुरका अनुभवहरू पनि यस्तै उतारचढावले भरिएका छन्।

उनले धेरै बिरामीलाई नयाँ जीवन दिएका छन् भने कतिपय बिरामीलाई आत्महत्याका कारण गुमाउनु परेको अमिलो पीडा पनि भोगेका छन्।

डा. मधुरले आफ्नो चिकित्सकीय यात्राका केही अविस्मरणीय भोगाइहरू यसरी साटेका छन्:

१२ वर्षपछि पूर्ववत् अवस्थामा फर्किएकी ती ५५ वर्षीया महिला
डा. मधुरको स्मृतिमा आज पनि एउटा दुर्लभ र जटिल केस ताजा छ। यो करिब १५ वर्ष अघिको कुरा हो, जतिबेला उनी धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मनोचिकित्सा विषयमा स्नातकोत्तर (एमडी) अध्ययन गर्दै थिए।

त्यतिबेला करिब ५५ वर्षकी एक महिलालाई उपचारका लागि प्रतिष्ठानमा ल्याइयो। विगत १२-१३ वर्षदेखि कडा मानसिक रोगले विक्षीप्त ती महिलालाई प्रतिष्ठानमै कार्यरत उनका आफन्तले ल्याएका थिए।

वर्षौंदेखि रोगसँग लडिरहेकी ती महिला निको हुनेमा उनका श्रीमानले पूर्ण रूपमा आश मारिसकेका थिए, तर 'एकपटक कोसिस गरौँ न त' भन्ने झिनो आशा लिएर उनी आएका थिए।

परीक्षणका क्रममा ती महिलालाई कडा खालको ‘सिजोफ्रेनिया’ भएको पत्ता लाग्यो। यो रोगका कारण उनमा नभएका कुराहरू देख्ने, अरूले नसुन्ने आवाज सुन्ने र कसैले आफूलाई मार्न खोज्दैछ भन्ने भ्रम पैदा हुने जस्ता अस्वाभाविक लक्षणहरू थिए। उनको चेतना र सही-गलत छुट्याउने क्षमता पूर्ण रूपमा गुमेको थियो।

उनको अवस्था कतिसम्म विक्षीप्त थियो भने, गाउँमा छरछिमेकीका गाईवस्तु फुकाएर बालीमा छोडिदिने, अरूको भान्सामा पाकिरहेको तातो भातको भाँडै बोकेर भाग्ने र नपाकेकै तातो भात खाइदिने गर्थिन्।

त्यति मात्र होइन, उनी माटोलाई पनि खाना खाए झैँ अघाउन्जेल खान्थिइन्। अस्पताल भर्ना गरिएपछि पनि उनी बाहिर निस्कन पायो कि हतार-हतार माटो खान दौडिन्थिइन्।

चिकित्सकहरूका लागि अचम्मको कुरा त के थियो भने, १२ वर्षसम्म लगातार माटो र जे पायो त्यही खाँदा पनि उनको शारीरिक स्वास्थ्यमा कुनै गम्भीर क्षति पुगेको थिएन। शारीरिक रूपमा उनी पूर्ण स्वस्थ थिइन्।

अस्पतालमै छँदा उनले एकै पटक दुई किलो चिउरा र तरकारी सजिलै पचाएको देखेर चिकित्सकहरू अचम्मित भएका थिए।

अस्पताल भर्ना गरी करिब ४० दिनको औषधोपचार र रेखदेखपछि ती महिलामा चामत्कारिक सुधार आयो। उनको अशान्त मन शान्त भयो र उनी १२ वर्ष अघिकै सामान्य र चेतनायुक्त अवस्थामा फर्किइन्।

आफ्नो गुमेको होस र जीवन फिर्ता पाएपछि उनी र उनको परिवारमा खुसीको सीमा रहेन। उनलाई नियमित औषधि दिएर फलोअपमा आउने गरी डिस्चार्ज गरियो। यो केस सम्झँदा डा. मधुरलाई अझै पनि आत्मसन्तुष्टि मिल्छ।

६ महिनादेखि बाँधिएका १८ वर्षे युवाको मार्मिक अन्त्य
करिब १० वर्षअघि पूर्वी पहाडी भेगका एक १८ वर्षीय युवा मानसिक समस्याका कारण विगत ६ महिनादेखि बाँधिएर बस्नुपरेको समाचार स्थानीय सञ्चारमाध्यममा आयो। यो समाचार पढेपछि डा. मधुरले सम्बन्धित पत्रकारलाई सम्पर्क गरी ती युवालाई उपचारका लागि धरान ल्याउन सुझाए।

गाउँले र परिवारले चन्दा संकलन गरेर ती युवालाई वीपी प्रतिष्ठान पुर्याए। अस्पतालमा भर्ना गरी करिब एक महिना उपचार गरेपछि युवाको स्वास्थ्यमा उल्लेख्य सुधार आयो। उनी पूर्ण रूपमा निको भएर घर फर्किए र चन्दाबाट बचेको पैसाले गाउँमा किराना पसल सुरु गरे। एक वर्षसम्म उनी नियमित फलोअपमा पनि रहे।

तर, दुर्भाग्यवश एक दिन ती युवाको मस्तिष्क घातका कारण अचानक मृत्यु भयो। सोही पत्रकारमार्फत यो खबर सुन्दा डा. मधुर स्तब्ध भए। कलिलै उमेरमा ती युवाको असामयिक मृत्यु भएको त्यो घटनाले आज पनि उनको मन अमिलो बनाउँछ।

नुवाकोटमा जन्म, छात्रवृत्तिमा उत्कृष्ट शैक्षिक यात्रा
डा. मधुर बस्नेतको जन्म २०४० सालमा नुवाकोटको विदुर नगरपालिका-९, आँगापुटारमा भएको हो। उनका बुवा स्थानीय विद्यालयका शिक्षक हुन्।

मधुरले कक्षा ५ सम्म गाउँकै सरकारी विद्यालयमा पढे। उनको पढाइ अब्बल देखेर बुबाले अंग्रेजी माध्यममा पढाउन गाउँ नजिकैको पायोनियर आवासीय अंग्रेजी माविमा भर्ना गराउन खोजे।

तर, प्रवेश परीक्षामा अंग्रेजी भाषाको कमजोरीका कारण उनको अंक यति कम आयो कि प्रिन्सिपलले उनलाई कक्षा २ भन्दा माथि भर्ना लिन अस्वीकार गरे।

तर, बुबाले ‘छोरा पढाइमा राम्रो छ, म आफैँ पनि शिक्षक हुँ, घरमा मिहिनेत गराउँछु’ भन्दै अडान लिएपछि पहिलो त्रैमासिक परीक्षामा राम्रो नगरे कक्षा घटुवा गर्ने सर्तमा कक्षा ४ मा भर्ना गरियो।

अंग्रेजीमा जोड-घटाउलाई के भनिन्छ भन्ने समेत थाहा नभएका मधुरले ‘अजन्त’को अंग्रेजी-नेपाली डिक्सनरी घोकेर यसरी मिहिनेत गरे कि पहिलो त्रैमासिक परीक्षामै उनी दोस्रो स्थान हासिल गर्न सफल भए।

त्यसपछि कक्षा ४ को अन्तिम परीक्षामा दोस्रो हुनुबाहेक, प्लसटु सकिँदासम्म उनी कहिल्यै दोस्रो भएनन्। उनले २०५५ सालमा पायोनियर माविबाटै ८३ प्रतिशत अंकका साथ जिल्ला प्रथम हुँदै एसएलसी उत्तीर्ण गरे। त्यसपछि काठमाडौंको बागमती मोडर्न कलेजबाट प्लसटु पूरा गरे।

चिकित्सक बन्ने लक्ष्य राखेका मधुरले सरकारी पूर्ण छात्रवृत्तिमा एमबीबीएस अध्ययनका लागि नाम निकाले।

२०६० सालमा वीपी प्रतिष्ठान, धरानमा भर्ना भएर पढाइ सुरु गर्न नपाउँदै उनले भारतीय राजदूतावासले लिने कठिन परीक्षा उत्तीर्ण गरी नयाँ दिल्लीस्थित प्रतिष्ठित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्ने अवसर पाए।

तर, आफूले वीपी प्रतिष्ठान छोड्दा देशको एउटा सिट खेर जाने र त्यसमा अर्को विद्यार्थी भर्ना हुन नपाउने कुरा थाहा पाएपछि उनले देशको सिट खेर नफाल्ने अठोटका साथ धरानमै अध्ययन जारी राख्ने देशभक्तिपूर्ण निर्णय लिए।

२०६५ सालमा एमबीबीएस र इन्टर्नसिप सकेपछि उनले वीपी प्रतिष्ठानमै १४ महिना मेडिकल अधिकृतका रूपमा काम गरे।

मन पढ्ने विधाको छनोट र स्वदेशमै सेवा गर्ने अठोट
स्नातकोत्तर (एमडी) अध्ययनका लागि उनले वीपी प्रतिष्ठानकै 'फ्याकल्टी डेभलपमेन्ट' छात्रवृत्ति कोटामा नाम निकाले। सन् २०१० देखि २०१३ सम्म उनले मनोचिकित्सा विषयमा एमडी पूरा गरे।

छात्रवृत्तिको सर्तअनुसार उनले वीपी प्रतिष्ठानमा ५ वर्ष सेवा गर्नुपर्ने थियो, तर उनी हालसम्म पनि त्यहीँ कार्यरत छन्। उनी प्रतिष्ठानमा सिनियर रेजिडेन्ट, असिस्टेन्ट प्रोफेसर हुँदै हाल एसोसिएट प्रोफेसरका रूपमा कार्यरत छन्।

यसका साथै, सन् २०२५ मा डा. मधुरले अमेरिकाको प्रसिद्ध युनिभर्सिटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को (युसीएसएफ)को ग्लोबल ब्रेन हेल्थ इन्स्टिच्युटबाट बिर्सने रोग ‘डिमेन्सिया’ र मस्तिष्क स्वास्थ्यमा एक वर्षे फेलोसिप गरेका छन्। सोही क्रममा प्रतिष्पर्धामार्फत उनले ‘ग्लोबल ब्रेन हेल्थ लिडर रिसर्च अवार्ड’ समेत प्राप्त गरे।

अमेरिकामा बस्ने थुप्रै अवसर हुँदाहुँदै पनि आफ्नो विशिष्ट ज्ञान स्वदेशमै उपयोग गर्ने, नेपालमा डिमेन्सियाको विशिष्ट सेवा विस्तार गर्ने, थप जनशक्ति उत्पादन गर्ने र अनुसन्धान गर्ने दृढ संकल्पका साथ उनी नेपाल फर्किए।

हाल उनी नेपालको प्राथमिक स्वास्थ्य प्रणालीमा डिमेन्सियाको सेवा कसरी उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा अनुसन्धान गरिरहेका छन्। तर, कहिलेकाहीँ प्रतिष्ठानभित्र देखिने समस्याहरूले उनलाई केही निराश पनि बनाउँछ।

बहुआयामिक भूमिका र सामाजिक सरोकार
प्रतिष्ठानको फ्याकल्टीका रूपमा डा. मधुर मुख्य तीनवटा भूमिकामा सक्रिय छन्। उनले मानसिक स्वास्थ्य समस्या भएका बिरामीको पहिचान र औषधोपचार गर्नुका साथै चिकित्साशास्त्रका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीहरूलाई प्राध्यापन तथा तालिम समेत गर्छन्।

यसका अलावा चिकित्साशास्त्रसँग सम्बन्धित खोज तथा अनुसन्धान र अनुसन्धानमूलक आलेख (जर्नल आर्टिकल) लेखन समेत गरिरहेका छन्। उनका दुई दर्जनभन्दा बढी अनुसन्धानमूलक आलेखहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।

विगत एक दशकदेखि उनी राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको ‘सामुदायिक मानसिक स्वास्थ्य प्याकेज तालिम’का राष्ट्रिय प्रशिक्षक हुन्। उनले राष्ट्रिय मानसिक स्वास्थ्य कार्यक्रम र राष्ट्रिय डिमेन्सिया योजना जस्ता नीति निर्माणमा पनि महत्वपूर्ण योगदान दिएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आठवटा अल्पविकसित देशहरूमा सञ्चालन गरेको ‘स्पेशल इनिसिएटिभ फर मेन्टल हेल्थ’ कार्यक्रममा पुर्याएको विशिष्ट योगदानका लागि उनलाई 'डिरेक्टर जनरल अवार्ड फर एक्सिलेन्स' बाट विभूषित गरिएको छ।

यसका साथै, डा. मधुर विपद् र सामाजिक सेवामा पनि सधैँ अगाडि रहँदै आएका छन्।

२०७२ सालको महाभूकम्पपछि गोरखाको बारपाक नजिकैको भच्चेक र नुवाकोटको काहुलेमा आफ्नै नेतृत्वमा स्वास्थ्य तथा पुनर्निर्माण शिविर चलाएका उनले कोभिड महामारीका बेला कोभिड अस्पतालमा प्रत्यक्ष सेवा दिनुका साथै अनलाइनमार्फत स्वास्थ्यकर्मीहरूलाई तनाव व्यवस्थापन तालिम र बिरामीहरूलाई परामर्श सेवा दिए।

यिनै योगदानहरूको कदर गर्दै उनलाई २०७२ सालमा राष्ट्रिय युवा परिषद्ले ‘राष्ट्रिय युवा प्रतिभा पुरस्कार’बाट सम्मानित गरेको थियो।

डा. मधुर धरानको वीपी प्रतिष्ठानमै रहेर मनको गडबडी भएका बिरामीको सेवा, चिकित्सा शिक्षा र अध्ययन-अनुसन्धानको काममा निरन्तर समर्पित छन्।

असार १३, २०८३ शनिबार १०:२१:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।