नेदरल्यान्ड्समा हुने विश्वकप लिग- २ शृङ्खलाका लागि नेपाली टोली घोषणा
काठमाडौं : आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय शृङ्खलाका लागि १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा उक्त टोली सार्वजनिक गरेको हो।
स्कटल्यान्ड र अमेरिकाविरुद्धको पछिल्लो शृङ्खलामा सहभागी टोलीलाई नै यस पटक पनि निरन्तरता दिइएको छ। टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, भीम सार्की, आरिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, गुल्सन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी रहेका छन्।
वैकल्पिक खेलाडीका रूपमा शाहब आलम, हेमन्त धामी, आकाश चन्द, युवराज खत्री र सन्दीप जोरालाई राखिएको छ। नेपाल, नेदरल्यान्ड्स र नामिबिया सम्मिलित शृङ्खला आगामी जुलाई २१ देखि २९ सम्म सञ्चालन हुनेछ।
तालिका अनुसार नेपालले जुलाई २१ र २७ मा नामिबियासँग तथा जुलाई २३ र २९ मा आयोजक नेदरल्यान्ड्ससँग खेल्ने कार्यक्रम छ। हाल २८ खेल खेलेको नेपाल २४ अङ्कसहित लिग-२ को पाँचौं स्थानमा छ। समान खेल खेलेको नेदरल्यान्ड्स ३२ अङ्कसहित तेस्रो र २२ अङ्क जोडेको नामिबिया सातौं स्थानमा रहेका छन्।
शृङ्खलाको तयारीका लागि नेपाली टोलीले बेलायत र जर्सीको भ्रमण गर्ने तय भएको छ। नेपालले जुलाई १३ र १५ मा जर्सीसँग दुई वटा ५० ओभरका अभ्यास खेल खेल्नेछ।
असार १२, २०८३ शुक्रबार १७:४५:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।