विशेष पासवर्डले मात्र छिर्न सकिने टिकटकको रहस्यमयी संसार ‘फारल्याण्ड्स’
एजेन्सी : हामीले टिकटक खोल्दा सामान्यतया रमाइला र आकर्षक भिडिओहरू मात्र देख्छौँ। तर यसको भित्री तहमा अनौठा, अनपेक्षित र विचलित बनाउने खालका भिडिओहरू लुकेका छन्।
टिकटकको यो रहस्यमयी कुनालाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरू ‘टिकटक फारल्याण्ड्स’ भन्छन्। टिकटकको सामान्य अल्गोरिदमले यो कुनालाई सहजै देखाउँदैन। यहाँ पुग्न प्रयोगकर्ताहरूले एउटा विशेष तरिका अपनाउँछन्।
कुनै भिडिओको कमेन्ट बक्समा अन्य प्रयोगकर्ताले छोडेका अक्षर र अंकहरूको र्यान्डम स्ट्रिङलाई कपी गरेर सर्च बारमा खोजेपछि मात्र यो ‘टिकटक फारल्याण्ड्स’ खुल्छ।
इन्टरनेट संस्कृति विश्लेषक एडन वाकर भन्छन्, ‘तपाईं यहाँ अल्गोरिदमको सिफारिसले मात्र पुग्न सक्नुहुन्न। यहाँ छिर्नका लागि कुनै मानिसले नै तपाईंलाई कोडमार्फत निमन्त्रणा दिनुपर्छ।’
के हो ‘फारल्याण्ड्स?’
यो नाम चर्चित भिडिओ गेम ‘माइनक्राफ्ट’को एउटा पुरानो ग्लिचबाट लिइएको हो।
माइनक्राफ्टको सुरुवाती संस्करणहरूमा खेलाडीहरू निकै टाढासम्म हिँड्दै गएपछि खेलको संसारको अन्त्य हुन्थ्यो र त्यहाँ अनौठा, विकृत र अस्तव्यस्त आकृतिहरू देखिन्थे। टिकटक फारल्याण्ड्स पनि त्यस्तै अवधारणा हो, जहाँ सामान्य इन्टरनेटको सीमा सकिन्छ र अनौठो यात्रा सुरू हुन्छ।
अमेरिकाको जर्जिया विश्वविद्यालयकी मिडिया अध्ययनकी सह-प्राध्यापक जेसिका म्याडक्स भन्छन्, ‘यो इन्टरनेटको यस्तो अन्तिम विन्दु हो, जहाँ पुगेपछि सबै कुरा अनौठा र विकृत लाग्न थाल्छन्।’
कस्ता हुन्छन् त्यहाँका भिडिओ?
यस कुनामा पुग्दा सामान्य टिकटक भन्दा पूर्ण रूपमा फरक र डरलाग्दा भिडिओहरू देखिन्छन्। त्यहाँ एआईद्वारा बनाइएका डरलाग्दा आकृतिहरू, पिक्सेल बिग्रिएका अनुहारहरू र ग्लिच भएका फाइल जस्ता देखिने त्रासपूर्ण दृश्यहरू भेटिन्छन्।
यस्ता भिडिओहरूमा कुनै शीर्षक वा ह्यासट्याग हुँदैनन्। यी भिडिओहरू थोरै भ्युज भएका पुराना अकाउन्टहरूबाट पोस्ट गरिएका हुन्छन्।
विज्ञहरूका अनुसार अहिले मानिसहरू अल्गोरिदमले जबर्जस्ती देखाउने भिडिओहरू हेरेर थाकिसकेका छन्। उनीहरू आफ्नो अनलाइन अनुभवलाई आफैँ नियन्त्रण गर्न चाहन्छन्।
प्राध्यापक म्याडक्सका अनुसार, यो ट्रेन्ड अल्गोरिदमको नियन्त्रण विरुद्धको एउटा विद्रोह हो। मानिसहरू प्रविधिको अत्यधिक नियन्त्रण र एआईको जगजगीबाट दिक्क भएर नयाँ र अर्गानिक अनुभवको खोजीमा छन्।
पछिल्लो समय मानिसहरू स्मार्टफोन छोडेर पुराना किप्याड फोन चलाउन थालेका छन्, पुराना एनालग क्यामेरा र तार भएका हेडफोनहरूको फेसन फेरि फर्किँदैछ।
असार १२, २०८३ शुक्रबार १४:०२:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।