रञ्जुले विपिनलाई समर्थन गरेसँगै ११ बाट चार जनामा झरे रास्वपा महामन्त्रीको उम्मेदवार, मतदान जारी

रञ्जुले विपिनलाई समर्थन गरेसँगै ११ बाट चार जनामा झरे रास्वपा महामन्त्रीको उम्मेदवार, मतदान जारी

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान प्रक्रिया सुरू भएको छ। चितवनमा जारी पहिलो महाधिवेशन अन्तर्गत दोस्रो चरणमा पदाधिकारीहरू चयन गर्न मतदान सुरू भएको हो।

मतदान सुरु हुनुअगाडि महामन्त्री पदका उम्मेदवार राजुनाथ पाण्डेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। पार्टी एकता र सुदृढीकरणका लागि आफूले उम्मेदवारी फिर्ता लिएको पाण्डेको भनाइ छ।

यसका अलावा रञ्जु दर्शनाले पनि पार्टी एकताका लागि भन्दै महामन्त्री पदबाट उम्मेदवारी फिर्ता लिएकी छन्। उनले अर्का उम्मेदवार विपिन आचार्यलाई समर्थन गरेकी छन्।

पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै अब महामन्त्री पदका लागि विपिन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल चुनावी मैदानमा छन्।

यसअघि पाँच जना अन्य दाबेदारहरू कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, शिशिर खनाल र जगदीश खरेलले विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरिसकेका छन्।

महिला उपसभापतिका लागि सोविता गौतम र डा. तोसिमा कार्की चुनावी मैदानमा आमनेसामने छन्। खुला उपसभापति पदमा डा. स्वर्णिम वाग्ले यसअघि नै निर्विरोध भइसकेका छन्।

दुई खुला सह-महामन्त्री पदका लागि असिम शाह, रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, अशोककुमार चौधरी, मिलन लिम्बु, राजीव खत्री, विजय जैरु, हरि ढकाल र हिमेश पन्त चुनावी मैदानमा छन्।

एक महिला सह-महामन्त्रीका लागि जुली यादव, विदुषी शर्मा, कामिनी कुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्मा चुनावी प्रतिस्पर्धामा छन्।

महाधिवेशन प्रतिनिधिहरूले विद्युतीय प्रणालीमार्फत मतदान गरिरहेका छन्। मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने निर्वाचन समितिले जनाएको छ।

असार १२, २०८३ शुक्रबार १३:०८:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।