तामाकोशी गाउँपालिकामा नागरिक पेन्सन योजना सञ्चालन गर्न सम्झौता
काठमाडौं : नागरिक लगानी कोष र दोलखाको तामाकोशी गाउँपालिकाबीच पालिकाका श्रमिकहरूका लागि ‘नागरिक पेन्सन योजना’ सञ्चालन गर्ने समझदारी भएको छ।
बिहीबार आयोजित कार्यक्रममा कोषकी निमित्त कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी र गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसीले सोसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार गाउँपालिकाको श्रमिक कल्याण कोष सञ्चालन कार्यविधि बमोजिम सहभागी श्रमिकले मासिक ५०० रुपैयाँ र गाउँपालिकाले ५०० रुपैयाँ थप गरी प्रतिमहिना १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
योजनाका लागि आवश्यक केवाईसी फाराम र व्यक्तिगत विवरण कार्ड कोषले निःशुल्क उपलब्ध गराउनेछ भने सहभागी श्रमिकहरूको खाता सम्बन्धी विवरण अद्यावधिक राख्ने जिम्मेवारी गाउँपालिकाको हुनेछ।
कार्यविधि अनुसार ६० वर्ष उमेर पुगेपछि सहभागीले पेन्सन सुविधा प्राप्त गर्नेछन्। पेन्सन खाइरहेको अवस्थामा सहभागीको मृत्यु वा बेपत्ता भएमा निजको श्रीमान् वा श्रीमतीलाई आजीवन पेन्सन दिइने र दुवैको मृत्यु भएमा खाताको बाँकी बचत रकम नजिकको हकवालालाई उपलब्ध गराइने छ।
योजनामा सहभागी भएको पाँच वर्ष पूरा भएपछि जम्मा भएको रकमको ८० प्रतिशतसम्म गाउँपालिकाको सिफारिसमा सापटीका रूपमा लिन सकिने व्यवस्थासमेत गरिएको छ।
असार ११, २०८३ बिहीबार २०:०१:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।