इतिहास बदल्ने गीतका गुमनाम नायक : विद्यालयको कार्यक्रमका लागि लेखिएको गीत कसरी बन्यो व्यवस्था बदल्ने हतियार !

इतिहास बदल्ने गीतका गुमनाम नायक : विद्यालयको कार्यक्रमका लागि लेखिएको गीत कसरी बन्यो व्यवस्था बदल्ने हतियार !

काठमाडौं : नेपालको वामपन्थी राजनीति र सामाजिक आन्दोलनहरूमा सबैभन्दा बढी गुञ्जिएको गीत हो- ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’। करिब ५२ वर्षअघि भोजपुरको टक्सारमा जन्मिएको यो गीत अहिले पनि नेपाली श्रोतामाझ लोकप्रिय छ। 

विभिन्न राजनीतिक विद्रोहहरूमा जनमत बटुल्न र विद्रोहीमा ऊर्जा भर्न प्रयोग गरिएको यस गीतका गीतकार हुन्, ७२ वर्षीय श्याम टमोट। तर, उनले कुनै राजनीतिक उद्देश्यले नभई एउटा विद्यालयको कार्यक्रमका लागि यो गीत तयार पारेका थिए। 

वि.सं. २०३१ सालमा आफूले अध्ययन गरेको विद्यालयमा उनले यो गीत पहिलो पटक गाउँदा स्थानीय स्तरमा खासै चर्चा पाएन। धरान, विराटनगर र झापाका वामपन्थी नेताहरूको विचार र तत्कालीन सामाजिक परिवेशबाट प्रभावित भएर उनले गीतका शब्दहरू कोरेका थिए। 

संयोगवश भोजपुर पुगेको वामपन्थी समर्थक सांगीतिक समूह ‘राल्फा’ (मञ्जुलको टोली)ले गीत सुनेपछि यसलाई देशभर पुर्यायो। त्यसपछि मात्र यो गीत पञ्चायत विरोधी आन्दोलनदेखि पछिल्ला सबै जसो राजनीतिक विद्रोहको एउटा बलियो सांगीतिक अस्त्र बन्यो।

गीतले देशभर जागरण ल्याइरहँदा टमोट भने भोजपुरकै सिद्धेश्वर माध्यमिक विद्यालयमा शिक्षण पेसामा व्यस्त थिए। उनको घरमै पसल भएकाले उनले पञ्चायती शासक, विद्रोही पक्ष र सरकारी प्रशासनको गतिविधि तथा द्वन्द्वलाई नजिकबाट नियाल्ने अवसर पाए। 

टमोटले ‘गाउँ गाउँबाट उठ’ मात्र नभई ‘संघर्ष हो जीवन’ जस्तो अर्को सुप्रसिद्ध गीत पनि गोविन्द विकलसँगको सहकार्यमा सिर्जना गरेका छन्। विद्रोहका स्वरहरू मात्र होइन, उनले ‘मनभित्र के छ ठूली, किन बोल्दिनौ’ जस्ता प्रेमिल लोक-आधुनिक गीतहरू पनि लेखेका छन्।

मुख्यतः शिक्षकका रूपमा आफ्नो पहिचान बनाएका टमोटले वि.सं. २०१७ सालको राजनीतिक परिवर्तनदेखि हालैका सामाजिक-राजनीतिक आन्दोलनहरूलाई प्रत्यक्ष अनुभव गरेका छन्। उकेराको स्तम्भ ‘हिजोको कुराकानी’का लागि उनले आफ्ना ती भोगाइ, अनुभव र इतिहासका पाटाहरूलाई यसरी सुनाएका छन्:  

स्कुलमा बाँसैको बेन्च बाँसैको डेस्क, धुलाम्मे कोठा
मेरो जन्म वि.सं. २०१० मा भोजपुरको टक्सारमा भएको हो। छ दाजुभाइ र दिदीबहिनीमध्ये म परिवारको जेठो सन्तान हुँ। म सानो हुँदा बुवा व्यापारमा संलग्न रहेको सम्झना छ। टक्सारबाट करिब दुई कोस पश्चिममा पर्ने दामा बजारमा उहाँको कपडा र फलामजन्य सामग्रीको पसल थियो।

हाम्रो पुर्ख्यौली थलो ललितपुरको पाटन भए पनि व्यापारकै सिलसिलामा पुर्खाहरू टक्सार पुग्नुभएको रहेछ। बुवा दामा बजारमा व्यवसाय गरे पनि पारिवारिक बसाइ भने टक्सारमै थियो। आमाको सुत्केरी अवस्थामा सहज होस भनेर बुवाले हामीलाई टक्सारमै राख्नुभएको थियो, त्यसैले मेरो जन्म पनि टक्सारमै भयो। 

यद्यपि, मेरो बाल्यकाल र किशोर अवस्था भने दामामै बित्यो। मैले दामास्थित श्री सिद्धेश्वर माध्यमिक विद्यालयमा कक्षा ८ सम्म अध्ययन गरेँ। तत्कालीन समयमा यसलाई सिद्धेश्वर मिडिल स्कुल भनिन्थ्यो। वि.सं. २०१८-२० को दशकतिरको त्यो विद्यालयको संरचना अझै मेरो स्मृतिमा ताजा छ। 

विद्यालयको भवन चित्रा (बाँसको चोयाले बुनिएको मान्द्रो)ले छाइएको थियो। कक्षाकोठामा बाँसकै भाटा र खबेटा तेर्स्याएर बनाइएका बेन्चहरू हुन्थ्यो। मैले पढ्न थालेको केही वर्षपछि झिँगटीको घर जस्तो साना कोठाहरू थिए, तर भुईँ भने कच्ची र धुलाम्य नै थियो। त्यस समयमा पहाडका विद्यालयहरूमा सिमेन्ट वा ढुंगा बिछ्याइएका कक्षाकोठाको परिकल्पना पनि थिएन।

रजश्वाला नहुन्जेल स्कुल पठाउँथे, ८ कक्षामा एक जना मात्रै छात्रा
मैले गाउँकै श्री सिद्धेश्वर मिडिल स्कुलबाट कक्षा ८ सम्मको अध्ययन पूरा गरेँ। त्यस समयमा गाउँमा माध्यमिक तह (कक्षा ९ र १०) को शिक्षा उपलब्ध थिएन। माध्यमिक शिक्षाका लागि सदरमुकाम भोजपुर बजारस्थित बुद्धोदय माध्यमिक विद्यालय नै पुग्नुपर्थ्यो। मैले सोही विद्यालयबाट वि.सं. २०२७ सालमा एसएलसी उत्तीर्ण गरेँ।

त्यस समयको शैक्षिक र सामाजिक अवस्था अहिलेको तुलनामा निकै फरक थियो। मैले सिद्धेश्वरमा कक्षा ८ सम्म पढ्दा १०-१२ जना छात्र हुँदा एक जना मात्र छात्रा थिइन्। तल्लो कक्षामा छात्राको संख्या केही बढी भए पनि उपल्लो कक्षामा पुग्दा निकै कम हुन्थ्यो। 

राज्यको शिक्षा नीति र सामाजिक चेतनाको प्रतिविम्ब तत्कालीन समयको गाउँ-घरमा स्पष्ट देखिन्थ्यो। छोरीहरूलाई शिक्षा दिनुपर्छ भन्ने चेतना र प्रोत्साहनको अभाव थियो। सामान्यतया, छोरीहरू रजश्वला नभएसम्म मात्र विद्यालय पठाउने र त्यसपछि उनीहरूको पढाइ रोक्ने सामाजिक चलन जस्तो थियो। छोरी ठूली भई भन्ने मान्यताले उनीहरूलाई शिक्षाबाट वञ्चित गर्थ्यो।

यद्यपि, मसँगै ८ कक्षासम्म पढ्ने ती एक जना छात्रा भने कोइराला थरकी ब्राह्मण समुदायकी थिइन्। उनको परिवारमा सुधारवादी सोच भएकाले उनले पढ्ने अवसर पाएकी थिइन्। कतिपय कट्टर ब्राह्मण परिवारका बीच उनको परिवारमा देखिएको त्यो परिवर्तन अनुकरणीय थियो। माध्यमिक शिक्षाका लागि हामी सदरमुकाम लागेपछि उनी कता गइन् वा उनको विवाह भयो, त्यसको जानकारी भने भएन।

गाउँको तुलनामा सदरमुकाम अलि बढी चेतनशील देखिन्थ्यो। बुद्धोदय माविमा पढ्दा त्यहाँ छात्राहरूको संख्या गाउँमा भन्दा उल्लेख्य थियो। विद्यालय टाढा हुनु र सुरक्षाको चिन्ताले पनि गाउँका अभिभावकले छोरीहरूलाई पढ्न पठाउन हिचकिचाउँथे। कतिपय विद्यार्थी त २-३ घण्टाको पैदल यात्रा गरेर विद्यालय आउँथे।

वि.सं. २०२६ सालतिर म १० कक्षामा पढ्दा हाम्रो कक्षामा ९७ जना विद्यार्थी थियौं। भोजपुरका विभिन्न गाउँ मात्र नभई छिमेकी जिल्ला खोटाङबाट समेत विद्यार्थीहरू त्यहाँ पढ्न आउँथे। खोटाङमा हाइ स्कुलको व्यवस्था नभएकाले भोजपुर नै शैक्षिक केन्द्र बनेको थियो। त्यो ९७ जनाको संख्यामध्ये १५-१६ जना छात्राहरू थिइन्, जसले हामीसँगै एसएलसी दिइन्। यसले के प्रस्ट पार्छ भने, गाउँको तुलनामा सदरमुकाममा छोरीहरूलाई पढाउनुपर्छ भन्ने मान्यताले बिस्तारै जरा गाड्दै थियो।

पञ्चायतको त्यो विद्रोह 
हाम्रो पसल भएको घर मूल बाटोमै थियो। पसल भएकाले मानिसहरूको आउजाउ भइरहन्थ्यो। वि.सं. २०१७/१८ तिरको कुरा हो, म बाह्य परिवेशबारे सचेत हुँदै थिएँ। त्यस समयमा गाउँमा नेपाल प्रहरी र सेनाको गस्ती निकै बाक्लो हुन्थ्यो। उनीहरू कहाँ र किन हिँडिरहेका छन् भन्ने मलाई थाहा हुने कुरै भएन।

त्यस्तै एक दिन, एक जना व्यक्तिलाई पक्राउ गरेर ल्याए र हाम्रो पसलको कुर्सीमा राखे। प्रहरीले उनलाई घेरेर राखेका थिए। पछि बुझ्दा, ती व्यक्ति धनबहादुर राई रहेछन्। तत्कालीन पञ्चायती सरकारले उनलाई ‘अराष्ट्रिय तत्व’ (अत) भनेर समातेको रहेछ।

त्यस समयमा गाउँघरमा प्रत्यक्षरूपमा राजनीतिक आन्दोलन वा विद्रोह भएको बाहिरबाट देखिँदैनथ्यो। तर, इतिहास पढ्दा त्यस बेला विभिन्न स्थानमा व्यवस्था विरोधी गतिविधि भइरहेका रहेछन् भन्ने थाहा हुन्छ।

मैले देखेको अर्को पाटो भनेको शक्तिको दुरुपयोग र ज्यादती हो। प्रधानपञ्चहरूले नै कसैलाई फसाउनका लागि राजा वा सरकार विरोधी पर्चाहरू सुटुक्क अर्काको घरमा टाँसिदिन्थे। भोलिपल्ट प्रशासन बोलाएर 'यो त अराष्ट्रिय तत्व रहेछ' भनेर निर्दोष व्यक्तिलाई यातना दिइन्थ्यो। 

अर्कोतिर, शासन सत्तामा पहुँच भएकाहरूको हैकम यतिसम्म थियो कि उनीहरू पसलबाट सामान लैजान्थे, तर पैसा तिर्दैनथे। 'भोलि दिउँला' भनेर लगिएको सामानको पैसा कहिल्यै हुँदैनथ्यो। प्रहरी र प्रशासन उनीहरूकै पक्षमा हुने भएकाले सर्वसाधारणले प्रतिकार गर्ने आँट गर्दैनथे। अन्याय सहेर चुपचाप बस्न बाध्य थिए। यस्ता धेरै कुरा भोगियो।

जागिर भनेको आर्मी पुलिस, लाहुरे भन्ने हुन्थ्यो
मैले थाहा पाउँदा जागिर भन्ने बित्तिकै लाहुरे, सेना र प्रहरी लगायतका सेवालाई मात्र भन्थे। अन्य क्षेत्रमा जागिर खाने कुरा गाउँघरमा खासै सुनिँदैनथ्यो। प्रायः क्षेत्री-बाहुनहरू भारतको आसामतिर कमाउन जान्थे भने राई, लिम्बू र गुरुङ समुदायका व्यक्तिहरू ब्रिटिस वा इन्डियन सेना (लाहुरे)मा भर्ना हुन रुचाउँथे।

गाउँमा अहिलेको जस्तो कुनै कार्यालयहरू थिएनन्। केवल एउटा पञ्चायत कार्यालय हुन्थ्यो, जहाँ प्रधानपञ्चको दबदबा चल्थ्यो। प्रधानपञ्चसँगै रेडियो बोकेर हिँड्ने एक जना कार्यालय सहयोगी (पिउन) हुन्थे। उनीहरूले आफूलाई समाजसेवीका रूपमा प्रस्तुत गर्थे। 

तत्कालीन समयमा भोजपुर सगरमाथा अञ्चलमा पर्दथ्यो। त्यसैले अञ्चल अदालत जस्ता केही प्रशासनिक कार्यालयहरू मात्र सदरमुकाममा थिए। लोकसेवा आयोगबारे मैले आइए उत्तीर्ण गरेर शिक्षण पेसामा लाग्ने सोचेपछि मात्र थाहा पाएको हुँ।

उच्च शिक्षाका लागि मैले नयाँ बाटो समात्नु पर्यो। भोजपुरमा त्यतिबेला मानविकी (आर्ट्स) संकायको मात्र पढाइ हुन्थ्यो, तर परिवारको चाहना मलाई कमर्स पढाउने थियो। त्यसैले म मामाघरसमेत रहेको धरान झरेँ। सुरुको वर्ष परीक्षामा असफल भए पनि दोस्रो वर्ष उत्तीर्ण गरेँ र पुनः गाउँ नै फर्किएँ।

गाउँ फर्केपछि मैले आफैँले पढेको विद्यालयमा प्राथमिक तहको शिक्षकका रूपमा पढाउन सुरु गरेँ। विद्यालयका प्रधानाध्यापक तालिमका लागि काठमाडौं गएको समयमा उहाँको सट्टामा मैले पढाउने जिम्मेवारी पाएको थिएँ। त्यसबापत उहाँको कुल तलब ४८० रुपैयाँको आधा अर्थात् २४० रुपैयाँ मैले पाउँथेँ। पछि मैले लोकसेवा दिएर वि.सं. २०५७ सालसम्म शिक्षण पेसामा संलग्न रहेँ। शिक्षण अवधिभर म कुनै पनि राजनीतिक दल वा सक्रिय राजनीतिमा संलग्न भइनँ।

भोजपुरमै जन्मिएको ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’ 
वि.सं. २०२८ सालतिर म कक्षा १० मा पढ्दै गर्दा गाउँघरमा वामपन्थी राजनीतिको प्रभाव बिस्तारै देखिन थालेको थियो। त्यस समयमा विद्यालयमा चिनियाँ पत्रिकाका नेपाली संस्करणहरू आउने गर्थे। सम्भवतः वामपन्थी विचारधारासँग शिक्षकहरू नजिक भएकाले ती पत्रिका विद्यालयसम्म आइपुग्थे। पत्रिकाको मुद्रण र फोटोग्राफी निकै स्तरीय हुन्थ्यो। तिनमा छापिने साहित्यिक रचनाहरूले मलाई साहित्यतर्फ आकर्षित गर्यो। मैले कहिलेकाहीँ पत्रिकामा छापिएका साहित्यिक लेख रचना पढ्थेँ।

२०२८ सालमै म पढ्नको लागि धरानको महेन्द्र कलेज पुगेँ। तत्कालीन समयमा धरान, विराटनगर र झापा राजनीतिक तथा शैक्षिक आन्दोलनका केन्द्र थिए। धरानमा हुने साहित्यिक गोष्ठीहरूमा राजनीतिक विषयले पनि प्रवेश पाउँथे। त्यहाँका सांगीतिक समूहहरूले गाउने विद्रोही र जनवादी गीतहरूले मेरो चेतनामा एक प्रकारको हलचल पैदा गरिदियो। 

साहित्यिक रुचि त ममा पहिलेदेखि नै थियो, तर धरानको त्यो राजनीतिक र साहित्यिक परिवेशले मलाई वामपन्थी विचारधाराको एउटा साहित्यिक फाँटमा जोडिन प्रेरित गर्यो। त्यहाँ बम देवान र गोविन्द विकल भन्ने साथीहरू साहित्यतर्फ हुनुहुन्थ्यो। मैले फाट्टफुट्ट कविता लेख्न सुरु गरे पनि गीत लेखनको विधामा भने म त्यति अभ्यस्त भइसकेको थिइनँ।

पढाइका क्रममा एउटा विषयमा अनुत्तीर्ण भएपछि म केही समयका लागि पुनः भोजपुर फर्किएँ। त्यहिबेला गाउँको विद्यालयमा आयोजित एक कार्यक्रममा मैले गीत सुनाउनुपर्ने भयो। धरानमा रहँदा सुनेका राजनीतिक कुरा र राज्यबाट आम नागरिकले भोग्नुपरेका पीडालाई आधार मानेर मैले एउटा गीत तयार पारेँ र लय हालेर गाएँ- ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’।

मैले आफ्नै विद्यालयमा एक जना साथीको साथमा यो गीत पहिलो पटक सुनाउँदा शिक्षकहरूले त रुचाउनुभयो, तर अरूले खासै चासो दिएको जस्तो लागेन। तर, संयोगवश त्यसबेला राल्फा समूहका मञ्जुल लगायतको टोली देशव्यापी सांगीतिक यात्राका क्रममा त्यहाँ आइपुगेको रहेछ। उनीहरूले यो गीतलाई टिपेछन् र पञ्चायती व्यवस्था विरुद्धको सांगीतिक आन्दोलनमा गाउन थालेछन्। यो गीत देशभर हिट भइसकेको रहेछ। मलाई त थाहै थिएन।

गीतको नाम नदिँदा ओझेलमा परियो
अहिलेको समयमा त गीतकारको नाम खासै कसैले लिँदैनन्, त्यतिबेला झन् के लिन्थे र। पञ्चायतकालदेखि २०६२/६३ को जनआन्दोलनसम्म निरन्तर घन्किएको यो गीत सुरुमा एमालेले मात्र गाउँछन् भनिन्थ्यो। तर, पछि माओवादी लगायत अरूले पनि यसलाई प्रयोग गरे। 

यो गीत परिवर्तनका लागि एउटा सशक्त आवाज बन्यो, जुन सोचिएको पनि थिएन। पञ्चायत विरुद्धको आन्दोलनमा मात्र नभई, बहुदलीय व्यवस्था र लोकतान्त्रिक गणतन्त्र प्राप्तिको लडाइँमा समेत यो गीत आन्दोलनकारीहरूको साझा आवाज बन्यो। मुलुकमा व्यवस्था फेरिए पनि आम जनताको अवस्था र मुहार अझै फेरिन सकेको छैन। त्यसैले मलाई लाग्छ, यो गीतको सान्दर्भिकता आज पनि उत्तिकै छ।

असार ११, २०८३ बिहीबार १९:२२:५८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।