केपीएल कप इन्टरनेशनल क्रिकेट असार १२ देखि, एक्सन स्पोर्ट्स एचडीबाट प्रत्यक्ष प्रसारण
काठमाडौं : सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आयोजना हुने ‘केपीएल कप इन्टरनेशनल इन्भिटेसनल टूर्नामेन्ट २०२६’का खेलहरू एक्सन स्पोर्ट्स एचडीले प्रत्यक्ष प्रसारण गर्ने भएको छ।
आगामी असार १२ गतेदेखि असार २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल र भारतका क्रिकेट टोलीहरूको सहभागिता रहनेछ। डा. खलिल आजाद क्रिकेट स्टेडियममा हुने यस टी-२० प्रतियोगितामा ६ वटा टोलीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ।
प्रतियोगितामा नेपालका तर्फबाट इटहरी सुपर किंग्स, छिन्नमस्ता लायन्स र मिल्स क्रिकेट क्लब तथा भारतका तर्फबाट एचपिसिए पटना, केसीसी र आरएमएल स्पोर्ट्स एकेडेमी सहभागी हुनेछन्।
सार्वजनिक खेल तालिका अनुसार जुन २६ देखि जुलाई ३ सम्म लिग चरणका खेलहरू हुनेछन्। त्यसैगरी, जुलाई ४ मा क्वालिफायर १ र एलिमिनेटर, जुलाई ५ मा क्वालिफायर २ र जुलाई ७ मा फाइनल खेल आयोजना हुनेछ। जुलाई ६ लाई आराम गर्ने दिन तोकिएको छ।
नेपाल र भारतबीचको क्रिकेट सम्बन्ध मजबुत बनाउन तथा स्थानीय खेलाडीहरूलाई अन्तर्राष्ट्रियस्तरको एक्स्पोजर प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यसले नेपाली क्रिकेटको विकास र खेल पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
असार ११, २०८३ बिहीबार १७:३४:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।