ग्लोकल र टाइम्स हायर एजुकेसनबीच सहकार्य, उच्च शिक्षामा सहयोग पुग्ने विश्वास
काठमाडौं : नेपालको उच्च शिक्षाको गुणस्तर र अन्तर्राष्ट्रिय पहुँच विस्तारका लागि ग्लोकल र टाइम्स हायर एजुकेसनबीच सहकार्य भएको छ।
इन्डोनेसियाको जकार्तामा आयोजित ‘ग्लोबल सस्टेनेबल डेभलपमेन्ट कंग्रेस २०२६’ को अवसरमा दुई संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको जनाइएको छ।
समझदारीपत्रमा ग्लोकलका अध्यक्ष आशिष ठाकुर र टाइम्स हायर एजुकेसनका एशिया-प्रशान्त क्षेत्रका अध्यक्ष मेई मेई लिमले हस्ताक्षर गरेको विज्ञप्तिमा उल्लेख छ। टाइम्स हायर एजुकेसनको विश्वव्यापी तथ्याङ्क र अनुभवलाई ग्लोकलले नेपाली युवा तथा सीप विकासको अनुभवसँग जोडेर उच्च शिक्षामा सकारात्मक योगदान पुर्याउने लक्ष्य राखिएको जनाएको छ।
सहकार्यका मुख्य क्षेत्रहरूमा नेपाली विश्वविद्यालय र सरकारी निकायहरूको शैक्षिक गुणस्तर सुधार, अन्तर्राष्ट्रिय पहिचान र तथ्याङ्कमा आधारित निर्णय प्रक्रियामा सहयोग गर्ने विषय समेटिएका छन्। यसैगरी, नेपाललाई अन्तर्राष्ट्रिय शिक्षा गन्तव्यका रूपमा स्थापित गर्न ‘स्टडी इन नेपाल’ अभियानलाई विश्वस्तरमा प्रवद्र्धन गरिने उल्लेख छ।
दुवै संस्थाले विश्वविद्यालय, सरकार र उद्योगहरूबीच समन्वय गरी उच्च शिक्षा प्रणालीको सुदृढीकरण, रोजगारी योग्यतामा वृद्धि र नीतिगत सुधारका लागि समेत संयुक्त रूपमा काम गर्ने विज्ञप्तिमा उल्लेख छ।
असार ११, २०८३ बिहीबार १४:५५:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।