माट्रिका आँखा केन्द्रद्वारा ३३७ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया
काठमाडौं : माट्रिका आँखा केन्द्रले विभिन्न स्थानमा सञ्चालन गरेको आँखा शिविरहरूबाट ३३७ जना बिरामीको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ।
तीन चरणमा सञ्चालित ती शिविरहरूबाट कुल ५ हजारभन्दा बढी आँखाका बिरामीहरू लाभान्वित भएका छन्। शिविरहरूमा बिरामीहरूको आँखा जाँच गरिनुका साथै निःशुल्क औषधि समेत वितरण गरिएको थियो।
केन्द्रका अनुसार पहिलो चरणमा वैशाख २६ र २७ गते काभ्रेपलाञ्चोकको नमोबुद्ध, सुनाकोठी, साँखु र गोदावरीमा आयोजित शिविरहरूबाट १५४ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको थियो।
यस्तै दोस्रो चरणमा जेठ २२ गते काठमाडौंको नरदेवी, मैतीदेवी, ललितपुरको च्यासल र भक्तपुरमा आयोजित शिविरहरूबाट १०८ जनाको शल्यक्रिया गरिएको थियो।
त्यसैगरी तेस्रो चरणमा जेठ ३० गते ललितपुर वडा नम्बर ८ र छप्पीमा आयोजित शिविरहरूबाट ७५ जना बिरामी लाभान्वित भए।
काठमाडौं उपत्यका बाहिर पनि माग भएको खण्डमा निःशुल्क आँखा शिविर सञ्चालन गरी औषधि र उपचार सेवा उपलब्ध गराउँदै आएको केन्द्रले जनाएको छ।
असार ११, २०८३ बिहीबार १३:४१:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।