गुल्मी हत्या : पहिलो श्रीमतीको हत्या गरेर जेलमुक्त भएका यामबहादुरले गरे दोस्रो श्रीमतीको पनि हत्या, चार सन्तान बने अभिभावकविहीन
बुटवल : गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटामा पहिलो श्रीमतीको हत्या आरोपमा जेल सजाय भोगेर कैदमिनाहमा छुटेका एक व्यक्तिले घर फर्केको केही समयमै दोस्रो श्रीमतीको पनि क्रुरतापूर्वक हत्या गरेका छन्। गुल्मीको इस्मा गाउँपालिका–५ रातामाटाका ४१ वर्षीय यामबहादुर कुमालले दोस्रो श्रीमती ३७ वर्षीया मुना कुमालको हत्या गरेका हुन्।
स्थानीयका अनुसार मंगलबार राति घरायसी विवादका क्रममा श्रीमान यामबहादुर कुमालले दाउराको चिर्पटले निर्घात कुटपिट गर्दा मुना गम्भीर घाइते भएकी थिइन्।
घटनाबारे सूचना पाएलगत्तै अस्थायी प्रहरी पोस्ट धनार्जेबाट खटिएको टोलीले उनलाई उद्धार गरी जिल्ला अस्पताल तम्घास पुर्याएको थियो। तर उपचारकै क्रममा बुधबार बिहान चिकित्सकले मृत घोषणा गरे। जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी भीमकिरण बोगटीका अनुसार आरोपी यामबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ।
यसअघि पनि आफ्नै पहिलो श्रीमतीको हत्या अभियोगमा जेल परेका यामबहादुर संविधान दिवसको अवसरमा सरकारबाट कैदमिनाह (माफी) पाएर जेलमुक्त भएका थिए। तर, जेलबाट छुटेर आएको केही समय नबित्दै उनले पुनः उस्तै प्रकृतिको जघन्य अपराध दोहोर्याएका छन्।
यामबहादुर कुमाल पुनः उस्तै प्रकृतिको घटना दोहोर्याएपछि सिंगो गाउँ नै स्तब्ध बनेको छ।
यामबहादुरका पहिलो श्रीमतीतर्फका दुई छोरी र एक छोरा तथा दोस्रो श्रीमतीतर्फका एक छोरा गरी चार सन्तान छन्। बुवाले दुवै आमाको हत्या गरेपछि ती चार सन्तानको जीवन गम्भीर संकटमा परेको छ।
केही वर्षअघि पहिलो आमाको हत्या प्रकरणले परिवार विखण्डित बनेको थियो। अहिले दोस्रो आमाको पनि मृत्यु भएपछि उनीहरू फेरि अभिभावकविहीन बनेका छन।
गाउँलेहरूका अनुसार अब ती बालबालिकाको पालनपोषण, शिक्षा र भविष्य कसले सम्हाल्ने भन्ने चिन्ता थपिएको छ।
सोही वडाका वडाध्यक्ष झविन्द्र अर्यालका अनुसार यामबहादुरको व्यवहारबारे गाउँमा पहिलेदेखि नै चर्चा हुने गरेको थियो।
"दिउँसो नै झगडा र कुटपिट भएको सूचना आएको थियो। तर राति यस्तो दुःखद घटना हुन्छ भन्ने कसैले सोचेका थिएनन," उनले भने।
असार १०, २०८३ बुधबार १९:१८:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।