विश्वकप फुटबलको आर्थिक पाटो : अर्बौँको अस्थायी अर्थतन्त्र कि आयोजक देशका लागि सेतो हात्ती ?
एजेन्सी : फिफा विश्वकप विश्वकै प्रमुख खेलकुद महोत्सव मात्र होइन, यो एक महिनाका लागि सिर्जना हुने एउटा विशाल र अस्थायी अर्थतन्त्र पनि हो। हरेक चार वर्षमा आयोजना हुने यस महाकुम्भले विश्वभरका अर्बौँ दर्शकको ध्यान मात्र तान्दैन, आयोजक शहरहरूलाई विश्वकै सबैभन्दा ठूला आर्थिक गतिविधि हुने मञ्च पनि दिन्छ।
होटल, रेस्टुरेन्ट, यातायात प्रणाली, सुरक्षा सेवा, विज्ञापनदाता र स्थानीय व्यवसायहरू सबै यस प्रतियोगिताको परिधिभित्र तानिन्छन्। तर, चम्किलो मेलाभित्र लुकेको आर्थिक पक्षको सत्य भने निकै जटिल छ।
विश्वकप साँच्चै आयोजक देशका लागि फाइदाजनक छ, वा यो केवल फिफाका लागि मात्र नाफा कमाउने मेसिन हो ?
विश्वकपमा फिफाको विश्वव्यापी राजस्व प्रणाली र आयोजक शहरको क्षेत्रीय अर्थतन्त्र दुवै पक्ष जोडिएको छ। टिकट बिक्री, प्रसारण अधिकार र प्रायोजनबाट हुने अर्बौँ डलरको आम्दानी फिफाको खातामा जान्छ। सन् २०१९-२२ को चक्रमा फिफाले ७.५७ अर्ब डलर राजस्व संकलन गरेको थियो।
रङ्गशाला निर्माण, सुरक्षा, र व्यवस्थापनको अधिकांश आर्थिक दायित्व भने आयोजक देशका स्थानीय करदाता र सरकारले बेहोर्नुपर्छ।
२०१४ मा ब्राजिलले ११.५ अर्ब डलर खर्च गरेर बनाएका रङ्गशालाहरू पछि 'सेतो हात्ती' साबित भएका थिए। यही जोखिमलाई कम गर्न सन् २०२६ को विश्वकप इतिहासमै पहिलो पटक तीन देश (अमेरिका, क्यानडा र मेक्सिको) मा संयुक्त आयोजना गरियो।
शहरहरूको तत्कालै हुने रूपान्तरण
विश्वकपका खेलहरू रङ्गशालाभित्र हुन्छन्, तर यसको आर्थिक प्रभाव खेलमैदानभन्दा धेरै टाढासम्म फैलिन्छ। प्रतियोगिता सुरु हुने बित्तिकै आयोजक शहरहरूको रूप र अर्थतन्त्र तत्कालै परिवर्तन हुन्छ।
अत्यधिक मागका कारण होटल र रेस्टुरेन्टको मूल्य आकासिन्छ। मेक्सिकोका कतिपय शहरमा होटलको मूल्य १,००० प्रतिशतसम्म बढेको थियो।
सवारी साधन र पैदल यात्रुहरूको चाप व्यवस्थापन गर्न सडकहरू परिमार्जन हुन्छन्। प्रहरी र आपत्कालीन टोलीहरूमा अतिरिक्त कर्मचारी थपिन्छन्। यसले आर्थिक भार बढाउँछ नै।
सार्वजनिक हुन् वा निजी रंगशालाहरु हुन् फिफाको क्लिन साइट नियम पालना गर्न परिमार्जन गर्नु पर्छ। त्यहाँ स्थानीय वा अनधिकृत ब्रान्डिङ हटाएर केवल फिफाका आधिकारिक प्रायोजकहरूका लागि मात्र व्यावसायिक एकाधिकार सुनिश्चित गर्नुपर्छ।
फिफाको राजनीतिक अर्थतन्त्र
फिफाका वर्तमान अध्यक्ष जियानी इन्फान्टिनोको नेतृत्वमा 'फिफा फरवार्ड डेभलपमेन्ट प्रोग्राम' मार्फत विश्वकपको कमाइलाई विश्वभर फुटबल खेलको विकासका लागि पुनर्वितरण गर्ने दाबी गरिन्छ। सन् २०२३–२६ को चक्रमा यस कार्यक्रमले प्रति सदस्य संघ ८० लाख डलरसम्म उपलब्ध गराएको देखिन्छ।
तर आलोचकहरू यसलाई फिफाको राजनीतिक अर्थतन्त्रको रूपमा हेर्छन्। कोष प्राप्त गर्ने तिनै सदस्य संघहरूले फिफाको चुनावमा मतदान गर्ने भएकाले यो कानुनी त देखिन्छ, तर स्वार्थको टकराबबाट मुक्त भने छैन।
फिफाको व्यावसायिक सफलतासँगै संस्थागत भ्रष्टाचार पनि मौलाएको इतिहास छ। २०१५ मे मा सार्वजनिक भएको फिफागेट काण्डले फिफाका उच्च अधिकारीहरूले मिडिया र मार्केटिङ अधिकार बिक्रीका क्रममा १५ करोड डलरभन्दा बढी घुस र कमिसन लिएको खुलासा गरेको थियो।
त्यस्तै, २०२२ को कतार विश्वकपले 'स्पोर्ट्सवाशिङ'को गम्भीर आरोप खेप्यो। कतारले मानव अधिकार र कामदारमाथिको शोषणसम्बन्धी विवादहरूबाट विश्वको ध्यान मोड्न इतिहासकै सबैभन्दा महँगो २२० अर्ब डलर खर्च गरेर पूर्वाधार निर्माण गरेको थियो।
वित्तीय प्रतिफलको ठूलो अन्तर
सन् १९९४ को अमेरिकी विश्वकप ऐतिहासिक रूपमा सफल मानिन्छ, जसले अमेरिकामा व्यावसायिक फुटबलको जग बसायो। तर अर्थशास्त्रीहरू रोबर्ट बाडे र भिक्टर म्याथेसनको अध्ययनअनुसार उक्त विश्वकपको वास्तविक आर्थिक प्रभाव प्रारम्भिक प्रक्षेपणभन्दा ५.५ अर्बदेखि ९.३ अर्ब डलरसम्म कम थियो।
यसले फिफाले टिकट बिक्री र प्रसारण अधिकारबाट तुरुन्तै खुद नाफा कमाउने, तर स्थानीय सरकारहरूले भने वर्षौँअघि देखि रंगशाला परिमार्जन, सरसफाइ, सुरक्षा र भीड नियन्त्रणमा सार्वजनिक कोष खर्च गर्नुपर्ने देखायो। यसको प्रतिफल पनि सुनिश्चित हुँदैन।
ब्राजिलले सन् २०१४ को विश्वकप र २०१६ को रियो ओलम्पिकका लागि ११.५ अर्ब डलरभन्दा बढी खर्च गर्यो, जसको ८५% हिस्सा जनताको करबाट बेहोरिएको थियो।
मन्दी र राजनीतिक संकटकाबीच गरिएका यी खर्चहरूलाई बहुसङ्ख्यक ब्राजिलियनहरूले गलत प्राथमिकता र अनुत्पादक सेतो हात्तीको संज्ञा दिए। देशमा ठूलो जनआक्रोश जन्मियो।
२०२६ को नयाँ ढाँचा: जोखिम बाँडफाँडको प्रयास
विगतका यस्तै आर्थिक संकटहरूबाट पाठ सिक्दै सन् २०२६ को विश्वकप नयाँ ढाँचामा सञ्चालन भइरहेको छ। पहिलो पटक अमेरिका, क्यानडा र मेक्सिको गरी तीन देशमा प्रतियोगिता बाँडिएको छ भने टोलीहरूको संख्या पनि ३२ बाट बढाएर ४८ पुर्याइएको छ।
यो मोडलले नयाँ रंगशाला निर्माणको वित्तीय जोखिमलाई कम गरेको छ। खेलहरू पहिलेदेखि नै उपलब्ध ठूला रंगशालाहरूमा भइरहेका छन्। तैपनि, अमेरिकी संघीय आपत्कालीन व्यवस्थापन एजेन्सीले सुरक्षाका लागि मात्र ६२ करोड ५० लाख डलर बाँडेको छ भने टोरन्टो (क्यानडा) को आयोजना लागत मात्रै ३८ करोड डलर पुगेको छ।
असार १०, २०८३ बुधबार १९:१३:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।