चौथो अंग : नेपाली पत्रकारहरूले धन्न खोज पत्रकारिता गरिरहेका छन्
हामी नेपाल भित्र बसेर हेर्दा नेपाललाई लोकतान्त्रिक देश भन्छौँ। तर, नेपाल भन्दा बाहिर बसेर हेर्दा भने नेपाल, इजरायल र सिंगापुर एकै जस्तो देखिन्छन्। न पूर्ण लोकतान्त्रिक न पूरा अधिनायकवादी। तर नेपालमा हाइब्रिड प्रकृतिको राजनीतिक व्यवस्था देखिन्छ।
लोकतान्त्रिक हुनका लागि मुख्य चार आचरण अनिवार्य छ। पहिलो, राम्रो परम्परा पछ्याउने। सबै पुरानो परम्परा नराम्रो हुँदैनन्। जवाफदेहिता पुरानै हो तर यो राम्रो परम्परा हो। दोस्रो, आलोचनात्मक चेत। आलोचनात्मक चेत जो सँग छ उसले नराम्रा परम्परालाई चुनौती दिन्छ, उस्तै परे परिवर्तनको नेतृत्व लिन्छ।
तेस्रो, उद्यमशीलता। लोकतान्त्रिक व्यक्तिले केही न केही सिर्जना गर्छ र आत्मनिर्भर हुन्छ। त्यस्तै चौथो, समस्या समाधान कसरी गर्ने भन्ने क्षमता। समस्याहरूको फेहरिस्त प्रस्तुत गरेपछि लोकतान्त्रिक व्यक्तिले कसरी समाधान गर्ने पनि भन्न सक्छ।
यसलाई अब पत्रकारितासँग जोड्ने हो भने पत्रकारमा अझ धेरै लोकतान्त्रिक आचरण हुनुपर्छ। सत्ता अधिनायकवादी भयो र मनलाग्दो गर्दै गयो भने के गर्ने ? समाधान सहित पत्रकारिता/मिडियाले बाटो देखाउन सक्नु पर्छ, जसलाई हामी ‘सोलुसन जर्नालिजम’ पनि भन्न सक्छौँ । अहिलेसम्म अभ्यास भएको पत्रकारिता समस्या देखाउने हो। अबको युग भने समस्या समाधानमुखी पत्रकारिताको हो।
OOO
पत्रकारितादेखि विश्वविद्यालयसम्म
मैले सन् १९८९ देखि पत्रकारिता सुरु गरेको हो। भर्खर विश्वविद्यालय पढ्दै थिए, त्यतिबेला ‘काठमाडौँरिभ्यू’ भन्ने अंग्रेजी माध्यमको म्यागेजिन थियो। त्यसैको ‘म्यानेजिङ इडिटर’ भएर काम गरेको थिएँ। अंग्रेजी माध्यमको पत्रिकाबाट काम सुरु गरेँ, पछि नेपाली भाषामा प्रकाशित हुने साधना पत्रिकाको सम्पादक भएँ।
म्यागेजिनमा लामो-लामो फिचर स्टोरीहरू लेख्थ्यौँ। साहित्यमा लगाव भएका कारण मैले पत्रिकामा लेख्न थालेँ। लेख्ने रहरले पत्रकारिता गर्दै जाँदा थाहा पाएँ, साहित्यमा कल्पनाशीलता हुन्छ तर यसमा त वास्तविक पात्रसँग साक्षात्कार हुन्छ। त्यसपछि मेरा रिपोर्टिङहरू धेरै भन्दा धेरै मान्छेहरू भेटेर मात्रै हुन थाल्यो। अहिले विचार लेख्दा समेत म सम्बन्धित मानिसहरूसँग छलफल गरेर मात्रै लेख्छु।
साधनामा एउटा स्टोरी गरेको थिएँ, पशुपतिमा लासको व्यापार भन्ने। यो पनि पशुपतिमै बसेर, कुराकानी नै गरेर, प्रमाण सहित लेखिएको थियो। प्राय मैले सामाजिक पक्षका स्टोरीहरू लेखेँ। राती चिहानै गएर रिपोर्टिङ गरेको अनुभव पनि छ।
त्यस्तै अर्को स्टोरी सडक बालबालिकाको बारेमा लेखेँ। यो लेख्दा तिनै सडक बालबालिकासँगै ठमेलमै बसेर रिपोर्टिङ गरेँ। उनीहरूको जीवनशैली कस्तो छ, कस्तो जीवन भोगेका छन्, कहाँबाट आए र किन आए भन्ने सन्दर्भसहित लेखेँ।
बेलायतका एकजना लेखक (जोनाथन स्विफ्ट)ले बालबालिकाको बेवास्ता गरेकोप्रति व्यङ्ग्यात्मक शैलीमा उनीहरूलाई पकाएर खानु पर्छ भन्ने लेख लेखेका थिए। त्यो पनि अनुवाद गरेर राखिदिएको थिएँ।
पत्रकारहरूले आफ्नो देशको मात्रै हैन अन्यत्र कस्ता काम भएका छन् भनेर समेत आफ्नो स्टोरीमा राख्दा आफ्नै स्टोरी बलियो हुन्छ। जति धेरै फिल्डमा गयो उति वास्तविक भइन्छ, अनि संसारभरका कुरा पढ्यो भने ‘रिलेट’ गर्न सकिन्छ।
मलाई पत्रकारिताबारे पढ्न र अनुसन्धान गर्न पनि मन लाग्यो। अमेरिका गएँ, त्यहाँको कोलम्बियास्थित मिस्सौरी स्कुल अफ जर्नालिजममा पढ्दा धेरै जानकारी भयो। अनि त्यहीँ पिएचडी गर्ने निर्णय गरेँ। पिएचडीचाहिँ नेपालका पत्रकार भारदत्त कोइरालाको जीवन माथि गरेँ। उहाँको जीवनी मार्फत नेपाली मिडियाको ‘ग्रोथ’ हेरेँ।
लोकतान्त्रिक चरित्र र आचरणमाथि माथि मैले जे भनेँ त्यसमा उहाँलाई हेर्दा खासै आलोचना नगर्ने बाहेक अरू पक्ष राम्रो देखियो। उहाँका अरू सूचकहरु राम्रा देखिए। पढ्दापढ्दै मलाई पत्रकारिता गर्नु मात्रै होइन अध्ययन-अनुसन्धान गर्न पनि मेरो चाख रहेछ भन्ने थाहा पाएँ। त्यसपछि नेपाल फर्केर अनुसन्धान र पढाउने काम पनि गरेँ।
प्रेस काउन्सिलमा राजेन्द्र दाहाल अध्यक्ष रहेको बेला पहिलो संविधान सभा निर्वाचनताका देशव्यापी मिडिया अनुगमनको निर्देशन गरेको थिएँ। नेपालमा बस्दा मिडिया गुफा भनेर ६ एपिसोड कार्यक्रम गरियो।
मिडिया गुफाको शैली न्यु मिडियामा अभ्यस्त गराउने थियो जसमा ७२ घण्टा कोठैमा बसेर समाचार तयार पार्नुपर्थ्यो। यसमा फिल्डमा जान पाइँदैनथ्यो। न्यु मिडियाको प्रयोग गरेर समाचार तयार पार्ने अभ्यासका लागि यसको मोडल बनाएका थियौँ। मिडिया फाउन्डेसन मार्फत काम पनि गरेँ। त्यसपछि अहिले चीनमा पत्रकारिता पढाउने काम गर्दै आएको छु।
फेरिएको पत्रकारिताको शैली
चीनमा कम्युनिस्ट क्रान्ति हुनु भन्दा अघि पश्चिमा देशहरुकै शैलीमा पत्रकारिता हुन्थ्यो। पछि उनीहरूको नीति केही फरक भयो। तर एकेडेमिक स्वतन्त्रता धेरै छ। अध्ययन अनुसन्धानका लागि देश-विदेशबाट अनुसन्धाताहरू, प्राध्यापकहरू बोलाएर पढाइन्छन्। पत्रकारितामा उनीहरूले लिखित रूपमै राज्यबाट प्रसारण भएका समाचारहरू प्रसारण गर्ने हुन्। स्थानीय मिडिया भने स्वतन्त्र देखिन्छन्। चिनियाँहरू तिब्बत, ताइवान र हङकङ लगायतका सवालमा भने संवेदनशील हुन्छन्।
एसियन देशहरूमा ताइवानमा अलि स्वतन्त्र पत्रकारिता देखिन्छ। भारत, पाकिस्तान, अफगानिस्तान, बङ्गलादेश भन्दा नेपाली पत्रकारिता केही बढी स्वतन्त्र देखिए पनि नेपाल पनि पूर्ण रूपले लोकतान्त्रिक मुलुक भने होइन।
पत्रकारिता हिजो भन्दा आज राम्रो त भएको छ तर पत्रकारिता पेसा सुरक्षित भने हुन सकेको छैन। आम नागरिकबाट विश्वास गुमाउनु अनि आर्थिक आधारहरू भरपर्दो नहुनु नेपालको पत्रकारिताको ठूलो संकट हो।
नेपाली पत्रकारितामा आर्थिक संकट त छ नै विश्वास पनि गुमाउँदै गइरहेको छ। नेपालको मात्रै हैन, अन्त पनि मूलधारका मिडियाप्रति आम मान्छेको विश्वास धरमराउँदै गएको छ। मिडियाको चुनौती यिनै हुन् अहिले।
तर पत्रकारिताका आधारभूत सिद्धान्त उही हुन्। रिपोर्टिङ गर्ने नै हो र विषयवस्तु खोज्ने अहिले जसरी नै हो। तर प्रस्तुतिका शैलीहरू भने बदलिएका छन्। आर्टिफिसियल इन्टेलिजेन्स जस्ता प्रविधिले पत्रकारितालाई चुनौती दिइरहेको छ। सूचनाकै लागि अब पत्रकारको भर पर्नु पर्ने अवस्था छैन। तर यस्तो बेला मिथ्या सूचना फैलिने डर पनि उत्तिकै हुन्छ।
नेपालमै पनि हुँदै नभएका एआई तस्विरहरू भाइरल भइरहेका देखिन्छन्। यसमा कतिपय अवस्थामा मिडिया पनि झुक्किएको देखिन्छ। सोसल मिडियामा सूचना आएपछि मिडियाले भेरिफाई गर्नु पर्ने स्थिति छ।
अब के भयो भन्ने कोणबाट मात्रै समाचार बनाएर पूर्ण हुने अवस्था छैन। के गर्नुपर्छ भनेर समेत मिडियाले लेख्नु पर्छ। मिडियाले नै मिडिया साक्षरताका लागि काम गर्नु पर्ने अवस्था आएको छ।
पत्रकारितामा पत्रकारिता मात्रै जानेर हुँदैन। यसमा अर्थ-राजनीतिदेखि सामाजिक -विज्ञानदेखि सबै कुरामा सूचना राख्न सक्नु पर्छ। पहिले पहिले राजनीतिक, सामाजिक र आर्थिक पक्षमध्ये एक जाने पुग्थ्यो। अब त प्रविधि पनि जानेन भने काम हुँदैन। अन्तर विषयबारे समेत जानकारी राख्नु पर्छ।
अहिले पत्रकारले समाचार संकलन मात्र जानेर हुन्न। समाचार सम्पादनदेखि फोटो/भिडियो खिच्ने, सम्पादन गर्नेदेखि डिजाइनसम्मको कला जानेको हुनुपर्छ। पत्रकारिता सहकार्य र समूहमा गर्ने काम भए पनि बिस्तारै यो ‘वान म्यान आर्मी’ जस्तै बन्दै गएको छ। यो हो पनि वान म्यान आर्मी।
किन मर्ज हुन सक्दैनन् नेपाली मिडिया !
प्रविधि बदलिएसँगै हाम्रा मिडिया पनि साना-साना हुँदै गएका छन्। अहिले त घरेलु उद्योग जस्तै भएका छन् हाम्रा मिडिया पनि। धेरै मिडियाले एकै क्षेत्रमा खर्च गर्नु भन्दा एकीकृत संरचना बनाउने, अलि पाकाहरू सञ्चालक समितिमा बस्ने अनि अन्य युवालाई सम्पादक बनाएर काम गरे हुने हो। तर हाम्रो समाजको प्रभावले पनि होला, हामी २२ से /२४ से राज्यको मानसिकताबाट बाहिर निस्कन सकेका छैनौँ। सबैलाई आफैँ हुनु परेपछि के हुन्छ?
मिडिया सानो भएपछि उसले भौतिक पूर्वाधारमा गर्ने खर्च धेरै हुन्छ, रिपोर्टिङमा गर्नुपर्ने खर्च पुग्दैन। जसले गर्दा गुणस्तरीय समाचार ल्याउन सकस पर्छ। थोरै कर्मचारी,स्टुडियोदेखि अन्य सबैमा एक्लैले लगानी गर्नु पर्यो, ती सधैँ प्रयोगमा आउने पनि होइनन्। घरेलु उद्योग जस्तो मिडिया बनाउनुको विकल्पमा ‘मर्ज’ गर्न सकिन्छ। तर त्यस्तो हुन सकेको छैन।
अर्को पक्ष नेपालमा पत्रकारले गरेको राम्रो काममा संस्थागत प्रोत्साहन दिने ‘लौ है यसले त गरेछ’ भन्ने संरचना छैन। मिडिया काउन्सिल बनाएर कुन मिडियाले तथ्यमा टेकेर के-के काम गर्यो भनेर विश्लेषण हुनु पर्ने हो। बर्षभरि कस्ता फिचर स्टोरीहरू आए, खोज पत्रकारितामा के-के भए, समीक्षा हुनु पर्ने हो तर भएको देखिँदैन। विश्वविद्यालयका आफ्नै सीमितता हुन्छन्। तर प्रेस काउन्सिल जस्ता संस्थाले त गर्न सक्नुपर्ने हो। तर भएको देखिँदैन।
त्यसैले नेपालमा पत्रकारलाई ‘ल है मैले नि केही न केही गरेछु’ भन्ने अनुभव गराउने संस्थागत संरचनाको अभाव छ। तैपनि नेपाली पत्रकारहरूले धन्न खोज पत्रकारिता गरिरहेका छन्। यो पक्ष मान्नै पर्छ।
नेपाली मिडिया भाइब्रेन्ट छन्
बाहिरबाट हेर्दा नेपाली मिडिया एकदमै धेरै ‘रिच’ देखिन्छ। सम्भवतः विश्वकै थोरै देशमध्ये ‘वान अफ दि मस्ट भाइब्रेन्ट मिडिया’ हो नेपालको। यहाँ आएका समाचारका हल्लाखल्ला धेरै नै हुन्छ। यसको कारण मिडिया धेरै थरीका भएर पनि हो।
जस्तै पढ्नेलाई पढ्ने अनि हेर्नेलाई हेर्ने कन्टेन्ट उत्पादन भइरहेको देखिन्छ। सबै मिडियामा एकैखाले समाचार तथा विचारहरू आउँछ भन्ने प्रतिक्रिया पनि सुनिन्छ। तर नियालेर हेर्ने हो भने फरक-फरक देखिन्छ। नयाँ-नयाँ प्रयोग भइरहेको देखिन्छ।
कसैले मल्टिमिडिया स्टोरी गरेका छन्,कसैले जलवायुको विषयलाई निरन्तर उठाएको देखिन्छ। अझ विभिन्न भाषामा मिडियाहरू खुलेका छन्। यसले अन्य भाषा पनि बचाइराखेको देखिन्छ।
तै पनि नेपाली मिडियाको मूल समस्या भनेकै आयको भरपर्दो स्रोत नहुनु हो। यसका लागि नेपाली मिडियाले अहिले आएका प्रविधिमा जतिसक्दो आफ्ना स्टोरीहरू बेच्न सक्नु पर्छ। आर्थिक समस्या भए पनि मिडियाको व्यवसाय धराशायी नहुनुको कारण साइड बिजनेस हुनु पनि हो। तर अब नेपाली मिडियाले आयको वैकल्पिक बाटो खोज्नै पर्छ।
नागरिक बहकिए भनेर मिडियालाई बहकिने छुट हुन्न
अमेरिकामा दुई विद्वान(वाल्टर लिपम्यान र जोनड्यूई) बिच लोकतन्त्रबारे बहस भयो। एक जनाले नागरिक त बहकिन्छन् भन्दै लोकतन्त्र फस्टाउन टेक्नोक्रयाट चाहिन्छ कि त इलिट चाहिन्छ भन्ने तर्क गरे। अर्कोले लोकतन्त्रमा नागरिक किन बहकिने उनीहरू नै सचेत हुने हो , नत्र त बोल्न जान्नेले जनतालाई लट्ठाएर शासन सत्ता हातमा लिइहाल्छ नि भन्ने तर्क गरे।
यसलाई अहिलेको नेपालको राजनीतिसँग जोडेर हेर्ने हो भने बोल्नै पर्ने स्थानमा समेत प्रधानमन्त्रीले नबोल्दा पनि ठिकै भन्ने मानसिकता देखिन्छ। तर यो गलत हो। लोकतन्त्र फस्टाउन किन स्वतन्त्र सोचाइ आवश्यकता पर्छ, किन आलोचनात्मक तरिकाले सोच्नुपर्छ भनेर नागरिकलाई सिकाउने मिडियाले नै हो।
नेपालमा मिडियामाथि सोसल मिडियाबाट पनि आक्रमण भइरहेको छ। तै पनि उनीहरूको मिडियामा आएको आफ्नो पक्षको समाचार स्क्रिनसट सञ्जालमा भाइरल गराइरहेकै देखिन्छ। अर्थात् मिडिया त चाहिएकै छ उनीहरूलाई पनि।
मुख्य पक्ष, मिडियाले जहिल्यै सत्ताको खबरदारी गर्ने नै हो। आम नागरिक बहकिन सक्छन् तर यो पक्षमा मिडियालाई बहकिन छुट छैन। शासन गर्नेलाई जवाफदेही बनाउन मिडिया चुक्नु हुँदैन।
संविधानमा लेख्दैमा कोही शिक्षित हुँदैनन्। त्यसलाई कार्यान्वयन गर्नु पर्यो। आम नागरिकलाई शिक्षा दिने को हो ? के गर्ने अनि के नगर्ने भनेर नागरिकलाई सिकाउने मिडियाले नै हो। तर नेपाली मिडियामा यो तहको मिडिया लिट्रेसी देखेको छैन। यसको आवश्यकता छ।
अहिले हाम्रो समाज सहजै बहकिएको देखिन्छ। यस्तो बेलामा रिपोर्टर अथवा पत्रकारिताको भूमिका आफै त्यतै लहसिने की सही के हो भनेर भन्ने ? जिम्मेवारी त सत्य के हो भन्ने नै हो। यस्तोमा पत्रकारले जस पाउँदैनन्। तर जस पाइएन भनेर निराश हुनु हुँदैन। कामको जस पाइने एक दिन समय आउँछ।
अन्त्यमा,
मैले विश्वविद्यालयमा पनि पढाउँछु। सबै विश्वविद्यालयको आ-आफ्नै उद्देश्य हुन्छ। तर आजको युगमा इन्टरडिसिप्लिनरी विषय पढाउन सक्नु पर्छ। अब पत्रकारिता मात्रै पढाएर हुँदैन। त्यस्तै सिद्धान्त र अभ्यासलाई अब सँगै लैजानु पर्छ।
जसरी पत्रकारले स्टोरी मात्रै लेख्न जानेर हुँदैन, उसले भिडियो पनि खिच्ने, अडियो, भिडियो, ग्राफिक्स सबै इन्टिग्रेट गरेर स्टोरी उत्पादन गर्छ त्यस्तै पढाइ पनि फरक हुनु पर्छ।
नेपालमा संस्थागत केही नभए जस्तो देखिएला तर नेपालमा धेरै क्षमता भएका व्यक्तिहरू छन्। नेपाली पत्रकारहरूमा पनि क्षमता छ, तर उपयोग हुन सकिरहेको छैन। यसलाई उपयोग गर्ने भनेको व्यक्तिगत प्रयत्नबाटै हो।
(अधिकारीसँग उकेराकर्मी प्रजु पन्तले चौथो अंगका लागि गरेको कुराकानीमा आधारित)
असार ९, २०८३ मंगलबार २२:०८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।