डिगोलाई प्रश्न- ‘एकैपटक तीन लाख दर्शक विश्वकप हेर्न आए सर्भरले धान्छ?’
नेपालमा विश्वकप फुटबलको ओटीटी प्रसारण अधिकार खरिद गरेको ‘डिगो’ एपबारे दर्शकहरूबाट गुनासो बढीरहेको छ। खेलको बीचमै सर्भर क्र्यास भएको, भुक्तानी भइसक्दा पनि प्याकेज सक्रिय नभएको, जस्ता गुनासो आइरहेका छन्। यिनै समस्याहरूका विषयमा उकेराकर्मीले डिगोका कन्टेन्ट लिड एवं सूचना अधिकारी आशिष लामिछानेसँग गरेको कुराकानीको सम्पादित अंश:
विश्वकप प्रसारणकोक्रममा सर्भर डाउन हुने, खेल रोकिने र अड्किने समस्या किन आइरहेको हो?
अस्ति स्पेनको म्याचका बेला सर्भर क्र्यास भएको हो। त्यो करिब ३० देखि ३५ मिनेटसम्म रहेको थियो। त्यसलगत्तै समस्या समाधान गर्यौँ र अफिसियल प्रेस विज्ञप्ति पनि निकाल्यौँ। दिनदिनै यस्तो समस्या छ भन्ने कुरा चाहिँ सही होइन। हिजो अर्जेन्टिनाको खेलमा ट्वाक्कै नरोकिए पनि केही ल्याग भएको हो। तर, दोस्रो र तेस्रो खेलहरू निकै स्मूथ चलेका छन्।
खेल रोकिने र बफरिङ हुने समस्या त अहिले पनि ग्राहकले झेलिरहेकै छन् नि, यसमा प्राविधिक कमजोरी कसको हो?
यसमा धेरै पक्षहरू जोडिएका हुन्छन्। ग्राहकले मोबाइल वा ल्यापटपमा केबाट हेर्दै हुनुहुन्छ, उहाँहरूको वाईफाई वा इन्टरनेटको गति कस्तो छ भन्ने कुराले धेरै फरक पार्छ। स्ट्रिमिङ राम्रो हुनका लागि प्रयोगकर्ताको डिभाइस र इन्टरनेट सेवा प्रदायक दुवैको पाटो बलियो हुनुपर्छ।
कतिपयको इन्टरनेट निकै स्लो हुन्छ तर १०८० पी (एचडी)मा खेल हेर्न खोज्नुहुन्छ, जसले गर्दा बफरिङ हुन्छ। यसका लागि हामीले ‘अटो क्वालिटी’को फिचर राखेका छौँ, जसले इन्टरनेटको गति अनुसार भिडियो क्वालिटी आफैँ मिलाउँछ।
समस्या पर्दा ग्राहकले कुरा गर्ने कुनै फोन नम्बर छैन। राति म्यासेज गर्दा ‘वाच डिगो’ च्याटबक्समा एआई बोटले मात्र ‘इन्टरनेट चेक गर्नुस्’ भन्दै एउटै रेडिमेड जवाफ फर्काएर हैरान बनाउँछ। मान्छेले सिधै कुरा गर्ने ठाउँ खै?
हामीले दुवै पक्षबाट काम गरिरहेका छौँ। एउटा तहसम्मको सिम्पल सोधपुछ एआई बटले नै समाधान गर्छ। तर, त्यसको पछाडि मान्छेले हेर्ने काम पनि भइरहेको हुन्छ। खेल बफरिङ हुँदा वा रोकिँदा एआईले प्रारम्भिक सुझाव दिने भएकाले त्यस्तो देखिएको हो। हामी आफैँ पनि २४ सै घण्टा यो एप मनिटर गरेर बसिरहेका छौँ।
ग्राहकले खल्ती वा इसेवाबाट पैसा तिर्दा पनि एप सक्रिय नहुने र लामो समयसम्म ‘सब्स्क्राइब नाउ’ देखाइरहने समस्या आइरहेको गुनासो पनि छ नि!
यो लगइन प्रक्रिया नमिल्दा हुने समस्या हो। इसेवा वा खल्ती जस्ता पेमेन्ट गेटवेबाट पैसा तिरेपछि एउटा रिसिप्ट र कोड आउँछ। ग्राहकले जिमेलबाट लगइन गर्दा त्यो कोड एक्सपायर वा इनभ्यालिड देखाउन सक्छ।
जुन फोन नम्बरबाट पैसा तिरिएको हो, त्यही नम्बरबाट लगइन गरेर अकाउन्ट बनाई ५४९ वा ९९९ को पास क्लिक गरेर त्यो कोड रिडिम गर्नुपर्छ। यसो गर्दा मात्र प्याकेज खुल्छ। यसका लागि हाम्रो सामाजिक सञ्जालमा भएका प्याकेज एक्टिभ गर्ने भिडियो सामग्रीहरू हेर्न सकिन्छ।
नेपाल प्रिमियर लिगको समयमा पनि तपाईंहरूको एपमा यस्तै समस्या आएको थियो। अहिले पनि उस्तै समस्या देखियो नि।
भारतमा पनि जिटीभी जस्ता ठूला ओटीटी च्यानलहरू सुरुमा पाँच दिनसम्म डाउन भएका उदाहरण छन्। ओटीटी नेपालका लागि एकदमै नयाँ प्लेटफर्म हो।
हामी तुलनात्मक रूपमा ३० मिनेट मात्र डाउन भयौँ। नेपालमा ओटीटी इकोसिस्टम, इन्टरनेट पूर्वाधार, भुक्तानी प्रणाली र डिभाइसहरूको सन्तुलन अझै बनिसकेको छैन। हामीले आफ्नोतर्फबाट पूर्वाधार र जनशक्ति थप्दै हरेक दिन यसलाई बलियो बनाइरहेका छौँ।
बजारमा डिगोको ३ लाखभन्दा बढी ग्राहकले सब्स्क्रिप्सन लिइसकेको चर्चा छ, यथार्थ के हो?
हामीसँग दुईवटा पास छन्- सिजन पास (९९९ रुपैयाँ) र मोबाइल पास (५४९ रुपैयाँ)। हालसम्म हाम्रो सब्स्क्रिप्सन संख्या १ लाख ३० हजार नाघिसकेको छ। हाम्रो लक्ष्य चाहिँ ३ लाख पुर्याउने हो। लगानी उठाउनका लागि पनि हामीले यो लक्ष्य भेट्नुपर्नेछ।
यदि साढे १ लाख जति सब्स्क्राइबर हुँदा नै एप ल्याग भइरहेको छ। तीन लाखको लक्ष्य राख्नुभएको छ। एकैपटक तीन लाख दर्शक आउँदा तपाईंहरूको सर्भरले कसरी धान्छ?
जति चिन्ता तपाईंहरूलाई छ, त्यति नै टेन्सन हामीलाई पनि छ। सर्भरको ब्यान्डविथ बढाउने र अन्य प्राविधिक पक्षहरूलाई असीमित क्षमताको बनाउने कार्यमा हामी निरन्तर काम गरिरहेका छौँ। हिजो अर्जेन्टिनाको र त्यसपछिका खेलहरू पनि अघिल्लाको तुलनामा धेरै राम्रो भयो।
दर्शकको मुख्य गुनासो त पैसा तिरेर पनि किन विज्ञापन हेर्नुपर्ने भन्ने हो। नेपाल प्रिमियर लिगमा पैसा तिरेपछि बिना विज्ञापन हेर्न पाइएको थियो। यहाँ चाहिँ विज्ञापन किन ?
व्यक्तिगत रूपमा त मलाई पनि स:शुल्क सेवामा विज्ञापन मन पर्दैन। तर यसमा फिफा जस्तो विश्वव्यापी संस्थाको आफ्नै नियम, कानुन र ब्रोडकास्टिङ राइट्सको आफ्नै अफिसियल प्रोटोकल हुन्छ।
फिफाको प्रोटोकल भित्रै रहेर हाइड्रेसन ब्रेक र हाफ टाइममा मात्र हामीले विज्ञापन देखाउन पाउने अधिकार अन्तर्गत हामी अगाडि बढेका हौँ। फिफाको प्रोटोकलभन्दा एक रत्ति पनि बाहिर गएका छैनौँ। यसमा धेरै व्यावसायिक पक्ष र लगानी जोडिएका हुन्छन्, जसले गर्दा यो नियम मान्नुपर्ने बाध्यता छ।
असार ९, २०८३ मंगलबार १५:२६:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।