मध्य असारमा पनि सुख्खा तिनाउ
बुटवल : असारको दोस्रो सातासम्म आइपुग्दा मनसुनले नेपालका धेरै भूभाग छोइसकेको छ। नदी-खोलामा पानी उर्लिन थालेको छ।
तर बुटवलको मुटु भएर बग्ने तिनाउ नदीलाई हेर्दा भने वर्षा सुरू भएको अनुभूति नै हुँदैन। नदीको फराकिलो क्षेत्रमा पानीभन्दा बढी बालुवा र ढुंगा देखिन्छन्।
अहिले पनि खोलामा दैनिक रुपमा मानिसले बालुवा निकालिरहेका छन। कुनै बेला वर्षभरि कलकल बग्ने तिनाउ आज मनसुनको मुखमै समेत सुख्खा बनेको छ।
नदीमाथि वर्षौंदेखि बढ्दै गएको मानवीय हस्तक्षेप र कमजोर बन्दै गएको जलवायु परिर्वतनको कारण तिनाउ नदी बर्खा लागिसक्दा पनि वैशाखको झैँ सुख्खा देखिन्छ।
पाल्पाको महाभारत क्षेत्रबाट उद्गम भएको तिनाउ करिब ७० किलोमिटर लामो नदी हो। यो पाल्पा हुँदै बुटवल र रुपन्देहीको मैदान पार गरेर दक्षिणतर्फ भारतसम्म पुग्छ।
नदीले बुटवलको खानेपानी, कृषि, जललाई पुनर्भरण, जैविक विविधता र वातावरणीय सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
तिनाउ नदीका अध्येता खेटराज दाहाल बर्षायाममा पनि तिनाउ सुख्खा हुनुको कारण जलवायु परिर्वतन नै को असर प्रमुख कारण मान्छन्।
‘जलाधार क्षेत्रमा वनविनाश र जथाभावी सडक खन्ने कार्यले गर्दा वर्षाको पानी जमिनमुनि रिचार्ज हुन पाएको छैन। जसका कारण हिउँदमा मात्र होइन, वर्षाको सुरुवाती महिनामा पनि नदीमा पानीको सतह निराशाजनक छ’, उनले भने।
तिनाउको माथिल्लो र तल्लो तटीय क्षेत्रमा क्रसर उद्योगहरूको रजगज र ढुङ्गा, गिट्टी, बालुवाको अत्यधिक दोहनले नदीको प्राकृतिक सतह गहिरिँदै जाँदा पनि यसको प्रभाव देखिएको उनले बताए।
‘नदीबाट अत्यधिक मात्रामा बालुवा र गिट्टी निकालिँदा नदीको सतह तल झर्छ। नदीको सतह तल झरेपछि वरपरका क्षेत्रको भूमिगत पानीको सतह (ग्राउण्ड वाटर लेवल) स्तर पनि घट्न थाल्छ। फलस्वरूप सुक्खा मौसममा नदीलाई जोगाइराख्ने भूमिगत पानीको आपूर्ति कमजोर हुन्छ’, उनले भने।
त्यस बाहेक भूमिगत पानीको अत्यधिक दोहन, नदी प्रणालीमा बढ्दो मानवीय दबाबका कारण पनि तिनाउको प्राकृतिक प्रवाह कमजोर बन्दै गएको उनले बताए।
भूमिगत पानी पनि घट्दै गयो
तिनाउ नदीको बहाव घट्नुको असर नदीमै मात्र सीमित छैन, यसको प्रभाव रुपन्देहीको दक्षिणी र पश्चिमी भेगमा भूमिगत पानीको सतहमा समेत स्पष्ट देखिन थालेको छ।
केही दशकअघिसम्म रुपन्देहीका अधिकांश गाउँमा २० देखि २५ फिट गहिराइमा खनिएका इनार र हातेपम्पबाट सहजै पानी निस्कन्थ्यो। तर अहिले त्यही क्षेत्रमा सय फिटभन्दा बढी गहिराइमा बोरिङ गर्दा पनि पर्याप्त पानी नआउने अवस्था सिर्जना भएको छ।
छपियाका किसान गौरव खनाल अहिले जमिन मुनिबाट पानी निकाल्न १ सय फिट भन्दा बढि खन्नुपर्ने बताउँछन।
उनले भने, ‘पहिले माछा पालनका लागि पोखरी खन्दा समेत पानी आउथ्र्यो। सहज ढंगले भूमिगत पानी निकाल्न सकिन्थ्र्यो। तर अहिले सय फिट तलबाट पानी निकाल्नुपर्छ।’
जलाधार क्षेत्रबारे भएका अध्ययनहरूले पनि चुरे क्षेत्रको क्षयीकरण, नदीजन्य पदार्थको अत्यधिक उत्खनन र भूमिगत पानीको अनियन्त्रित दोहनका कारण तराईको जलभण्डार कमजोर बन्दै गएको देखाएका छन्।
वातावरण अध्येता युवराज कंडेल पछिल्ला वर्षहरूमा चुरे क्षेत्रमा वन विनाश, अव्यवस्थित सडक निर्माण र ढुंगा-गिट्टी उत्खनन बढेपछि वर्षातको पानी जमिनभित्र सञ्चित हुने प्राकृतिक प्रक्रिया प्रभावित भएको बताउँछन्।
इन्जिनियर समेत रहेका दाहाल पनि तिनाउ आसपासका क्षेत्रहरूमा नदी सतह र जल भण्डारको प्रत्यक्ष सम्बन्ध रहेको बताउँछन्।
‘नदीको सतह तल झर्दा जल भण्डार पनि घट्ने र जल भण्डार घट्दा फेरि नदीको आधारभूत प्रवाह कमजोर बन्छ’, उनले भने।
सामान्यतया हिउँद र गर्मीयाममा नदीमा देखिने पानीको ठूलो हिस्सा भूमिगत स्रोतबाट आउने गर्छ। तर जल भण्डारकै स्तर नै तल झरेपछि नदीलाई सुक्खा मौसममा जोगाइराख्ने प्राकृतिक प्रणाली कमजोर बनेको उनले बताए।
बाढी आउँछ, तर नदी सुक्छ
तिनाउको सबैभन्दा ठूलो विडम्बना यही हो। मनसुनमा यही नदीले बुटवललाई त्रसित बनाउँछ। पुलहरू खतरामा पर्छन। तटबन्ध कटान हुन्छ। तर केही महिना नबित्दै नदीमा पानी खोज्नुपर्ने अवस्था आउँछ।
इन्जिनियर दाहाल तिनाउ नदिलाई जिवन्त राख्न चुरे तथा जलाधार क्षेत्रको संरक्षणमा राज्यले ध्यान दिनुपर्ने बताउँछन्।
‘जल भण्डारको दोहन नियमन गर्नुका साथै नदीको आधारभूत प्रवाह कायम राख्ने नीति सरकारकाले बनाउँनु पर्छ। यस हुँदा तिनाउ नदिलाई जिवन्त राख्न सकिन्छ’, उनले भने।
असार ९, २०८३ मंगलबार १३:२४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।