नयाँ ठेक्कापछि छ वर्षदेखि अलपत्र घोराही-तुलसीपुर सडक विस्तारले लियो गति

नयाँ ठेक्कापछि छ वर्षदेखि अलपत्र घोराही-तुलसीपुर सडक विस्तारले लियो गति

बुटवल : निर्माण कम्पनीको लापरबाही र सरकारी निकायको ढिलासुस्तीले अलपत्र घोराही-तुलसीपुर सडक खण्डको विस्तारमा पुरानो सम्झौता रद्द गरी नयाँ निर्माण व्यवसायीलाई ठेक्का दिएपछि सडक निर्माणको कार्यले पुनः गति लिएको छ।

छ वर्षदेखि अलपत्र परेको चार लेन सडक निर्माणले पुनः गति लिएसँगै सहज यात्रा, सुरक्षित सडक र आर्थिक गतिविधिमा नयाँ गति आउने अपेक्षामा रहेका दाङवासीमा आशा पलाएको छ।

दाङको विकासको मेरुदण्डका रूपमा हेरिएको यस सडक खण्डको निर्माण कार्य समयमा सम्पन्न नहुँदा सर्वसाधारण धुलो, हिलो र दुर्घटनाको जोखिम झेल्न बाध्य थिए। निर्माण कम्पनीको कमजोर कार्यसम्पादन र फितलो ठेक्का व्यवस्थापनका कारण यो सडक जिल्लावासीका लागि पीडाको पर्याय बनेको थियो।

महत्वाकांक्षी योजना, निराशाजनक सुरुवात
प्रशासन, शिक्षा, स्वास्थ्य र व्यापारिक केन्द्रका रूपमा रहेका घोराही र तुलसीपुर उपमहानगरलाई आधुनिक सडक सञ्जालले जोड्न २०७६ सालमा चार लेन सडक विस्तार योजना सुरु गरिएको थियो। जिल्लाका अधिकांश गतिविधि र सेवाहरू यी दुई शहरसँगै जोडिन्छ।

भारतीय एक्जिम बैंकको सहुलियत ऋण सहयोगमा सुरु भएको परियोजनाले प्रारम्भिक चरणमै ठूलो चर्चा पाएको थियो। निर्धारित समयमै सम्पन्न भए दाङको आर्थिक तथा शहरी विकासमा नयाँ आयाम थपिने अपेक्षा गरिएको थियो। तर परियोजना सुरु भएको केही समयमै निर्माणको गति सुस्त बन्दै गयो।

निर्माणको जिम्मा पाएको भारतीय कम्पनीले आफैँ काम गर्नेभन्दा विभिन्न पेटी ठेकेदारमार्फत काम गरायो। यसले निर्माण व्यवस्थापन कमजोर बन्यो। एकपछि अर्को उपठेकेदार फेरिँदै गए, तर सडकमा अपेक्षित प्रगति देखिएन। कतै सडक खनियो, तर निर्माण भएन। कतै संरचना भत्काइयो, तर पुनः निर्माणको काम अगाडि बढेन।

परियोजना रोकिएसँगै यसको प्रत्यक्ष असर स्थानीय बासिन्दाले भागे। सडक विस्तारका लागि गरिएको खन्ने र भत्काउने कामपछि निर्माण अघि नबढ्दा सडक अस्तव्यस्त बन्यो। हिउँदमा धुलोको मुस्लो र वर्षायाममा हिलोले यात्रुलाई हैरान बनायो।

दैनिक घोराही-तुलसीपुर आवतजावत गर्ने यात्रु, विद्यार्थी, कर्मचारी तथा व्यवसायी सबैभन्दा बढी प्रभावित भए। सडकका खाल्डाखुल्डीका कारण सवारी दुर्घटनाको जोखिम बढ्यो। 

पाँच वर्षमा दश प्रतिशत प्रगति
सामान्यतया केही वर्षमै सम्पन्न हुनुपर्ने आयोजना पाँच वर्ष बित्दासमेत सन्तोषजनक अवस्थामा पुग्न सकेन। पाँच वर्षमा आयोजनाको प्रगति करिब १० प्रतिशतको हाराहारीमा सीमित रह्यो। निर्माण कम्पनीले सम्झौताअनुसार काम नगरेको, पटक-पटक दिइएका निर्देशन बेवास्ता गरेको तथा निर्माण व्यवस्थापन प्रभावकारी हुन नसकेको निष्कर्षपछि सरकारले अन्ततः पुरानो ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गर्यो।

लामो अन्योलपछि सरकारले आफ्नै स्रोतबाट आयोजना अगाडि बढाउने निर्णय गरेर नयाँ प्रतिस्पर्धात्मक प्रक्रियाबाट काठमाडौंको दिवा-बन्दना भगवती जेभी निर्माण कम्पनी छनोट गरी पुनः ठेक्का लाग्यो। करिब दुई अर्ब २५ करोड रुपैयाँमा निर्माणको जिम्मा पाएको कम्पनीसँग ३६ महिनाभित्र काम सम्पन्न गर्ने गरी सम्झौता गरिएको छ।

नयाँ सम्झौतापछि केही समय प्राविधिक तयारी, संयुक्त सर्भे तथा प्रशासनिक प्रक्रियामा खर्च भएको थियो। मंसिर महिनादेखि भने सडकमा भौतिक निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ।

अहिले के हुँदै छ ?
नयाँ निर्माण कम्पनीले कामको जिम्मेवारी लिएपछि घोराही-तुलसीपुर सडक विस्तार आयोजनामा निर्माण गतिविधि क्रमशः बढ्न थालेको छ। सडक कालोपत्रे हुने क्षेत्रबाहेक अधिकांश खण्डमा माटो पटानको काम तीव्र गतिमा अघि बढिरहेको छ। सडक डिभिजन कार्यालय दाङका डिभिजन प्रमुख दीपेन्द्रबहादुर विष्टका अनुसार हालसम्म सडकको दायाँ-बायाँ करिब १४ किलोमिटर क्षेत्रमा माटो पटान सम्पन्न भइसकेको छ।

उनका अनुसार रतनपुरदेखि बेलझुण्डीसम्म ३७ वटा बक्स कल्भर्ट निर्माणको काम भइरहेको छ। तीमध्ये १४ वटा संरचना अन्तिम चरणमा पुगेको उनले बताए। त्यसैगरी तीन वटा स्ल्याब कल्भर्ट निर्माणाधीन अवस्थामा रहेको उनको भनाई छ। 

"घोराहीदेखि दुधराससम्मका विभिन्न क्षेत्रमा सडक छेउका संरचना निर्माण भइरहेको छ भने खैरा, दुधरास, सौडीकुला र नारायणपुर क्षेत्रमा करिब तीन किलोमिटर नाली निर्माण सम्पन्न भइसकेको छ। निर्माण क्याम्पमा थप दुई दशमलव पाँच किलोमिटर नालीका संरचना तयारी अवस्थामा रहेको छ", उनले भने।

सडक विस्तारमा अवरोधका रूपमा रहेको विद्युत् पूर्वाधार व्यवस्थापनको कामसमेत अगाडि बढेको उनको भनाई छ। विष्टका अनुसार गुर्जे खोलादेखि बेलझुण्डीसम्मका बिजुलीका पोल स्थानान्तरण गरिसकिएको छ भने घोराहीदेखि गुर्जे खोलासम्म पोल सार्ने काम जारी छ। सडक क्षेत्रमा रहेका रुखहरू नियमअनुसार व्यवस्थापन गर्ने कार्यसमेत सम्पन्न भइसकेको उनले बताए।

निर्माण कार्यलाई तीव्रता दिन कम्पनीले ठूलो परिमाणमा उपकरण परिचालन गरेको छ। हाल आयोजनास्थलमा चार वटा एक्सकाभेटर, एक ग्रेडर, दुई रोलर, तीन ब्याकहो लोडर, १६ ट्रिपर, दुई ट्रेलर, एक सानो क्रेन, पाँच ट्याक्टर, दुई पानी ट्यांकर, एक डोजर र एक ह्वील लोडरसहित करिब ४० वटा निर्माण उपकरण सञ्चालनमा रहेका छन्। 

साथै मोबाइल क्रसर प्लान्ट, मोबाइल स्क्रिन प्लान्ट, मोबाइल स्यान्ड वासर, अस्फाल्ट प्लान्ट तथा कंक्रिट ब्याचिङ प्लान्टसमेत निर्माण क्याम्पमा जडान गरिसकिएको छ। हालसम्म आयोजनाको भौतिक प्रगति करिब १६ प्रतिशत र वित्तीय प्रगति करिब १० प्रतिशत पुगेको छ। 

"लामो समय रोकिएको आयोजना पुनः गति लिन थालेको छ। आवश्यक पूर्वाधार तथा उपकरण परिचालन भइसकेकाले आगामी दिनमा निर्माणको गति थप बढ्ने अपेक्षा गरेका छौं", विष्टले भने।

आधुनिक सडकको परिकल्पना
डिके पेट्रोल पम्पदेखि तुलसीपुरको हात्तीखौवा चोकसम्म करिब २१।५८ किलोमिटर सडकलाई आधुनिक चार लेनमा विस्तार गरिनेछ। सडकको कुल क्षेत्राधिकार ३० मिटर रहनेछ। बीचमा मेडियन निर्माण गरिनेछ भने दुवैतर्फ दुई-दुई लेनका सडक हुनेछन्।

बजार क्षेत्रमा पैदल यात्रुका लागि फुटपाथ निर्माण गरिने योजना छ। सडक सुरक्षालाई ध्यानमा राखेर आधुनिक मापदण्डअनुसार संरचना तयार गरिने बताइएको छ। यसले भविष्यमा बढ्दो सवारी चाप व्यवस्थापन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

पुल निर्माण अझै चुनौती
सडक विस्तारसँगै यस खण्डमा पर्ने केही पुल निर्माणको काम भने अझै चुनौतीपूर्ण देखिएको छ। सेवार खोला, हापुर खोला, ग्वार खोला तथा काला (रानीघाट) खोलामा चार लेन पुल निर्माणका लागि विगतमै छुट्टै सम्झौता भए पनि अधिकांश काम अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।

असार ८, २०८३ सोमबार २०:१०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।