राहदानी छपाइ प्रकरणमा महानिर्देशक अर्यालसहित १८ विरुद्ध १० अर्बको भ्रष्टाचार मुद्दा
काठमाडौं : राहदानी छपाइ प्रकरणमा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढीको भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।
आयोगले राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित १० कर्मचारी, दुई विदेशी कम्पनी, चार विदेशी नागरिक र दुई नेपाली सहजकर्ता गरी १८ जनालाई प्रतिवादी बनाएको छ। आयोगले १० अर्ब १३ करोड चार लाख ६१ हजार रुपैयाँ बिगो दाबी गरेको छ।
महानिर्देशक अर्यालसँगै विभागका तत्कालीन सूचना प्रविधि निर्देशक सुनिलकुमार केसी, लेखा अधिकृत तुलसीप्रसाद आचार्य, शत्रुधनप्रसाद शर्मा पोखरेल, रवीनराज भण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेषप्रसाद भुर्तेल, पुष्पराज नेपाल, सोमेश थापा र विपिन प्रसाईंलाई प्रतिवादी बनाइएको छ।
त्यस्तै नेपाली सहजकर्ताका रूपमा सिद्धार्थ थापा र मणिन्द्रराज मल्लमाथि समेत अभियोग लागेको छ। अनुसन्धानका क्रममा आयोगले पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग समेत बयान लिएको थियो भने पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई बयानको लागि बोलाएको थियो।
महानिर्देशक अर्याललाई भने असार २ गते प्रधानमन्त्री कार्यालयबाटै नियन्त्रणमा लिई अनुसन्धान अघि बढाइएको थियो।
असार ८, २०८३ सोमबार १७:४४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।