११ महिनामा झन्डै १९ खर्बको आयात : डिजेल र पेट्रोलमै बाहिरियो सवा २ खर्ब

११ महिनामा झन्डै १९ खर्बको आयात : डिजेल र पेट्रोलमै बाहिरियो सवा २ खर्ब

काठमाडौं : चालु आर्थिक वर्षको ११ महिनामा नेपालले कुल १८ अर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। 

भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा सबैभन्दा बढी आयात हुने वस्तुको सूचीमा पेट्रोलियम पदार्थ र कच्चा भटमासको तेल अग्रस्थानमा रहेका छन्।

यस अवधिमा सबैभन्दा धेरै एक खर्बभन्दा बढीको डिजल भित्रिएको छ। ११ महिनामा १२ लाख ६४ हजार ८७८ किलोलिटर डिजेल आयात गर्दा एक खर्ब ५२ अर्ब ६७ करोड ९८ लाख रुपैयाँ बाहिरिएको छ। त्यस्तै, दोस्रो धेरै आयात हुनेमा सोयाबिन तेल र सोको कच्चा पदार्थ रहेको छ। समिक्षा अवधिमा नेपालमा एक खर्ब १९ अर्ब ६३ करोड रुपैयाँको ७२ करोड ६४ लाख ९९ हजार लिटर सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ।

समिक्षा अवधिमा छ लाख ८५ हजार १२७ किलोलिटर पेट्रोल आयातका लागि ६८ अर्ब १७ करोड ८७ लाख रुपैयाँ खर्च भएको छ।

११ महिनाको अवधिमा डिजेल र पेट्रोलको आयातमा मात्रै सवा दुई खर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिएको छ।

भान्सामा प्रयोग हुने एलपिजी (खाना पकाउने) ग्यासको आयात पनि उच्च छ। यस अवधिमा ४७ करोड ५९ लाख ८० हजार केजी ग्यास ५२ अर्ब २१ करोड ६६ लाख रुपैयाँमा आयात भएको छ। 

गत आर्थिक वर्षको ११ महिनामा एक खर्ब १५ अर्बको डिजेल, ९५ अर्बको कच्चा भटमास तेल, ५८ अर्ब ५८ करोडको पेट्रोल र ५७ अर्ब ३६ करोडको एलपि ग्यास आयात भएको थियो। 

यसै आयातबाट सरकारले चार खर्ब ६१ अर्ब ६१ करोड १९ लाख रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ।

असार ८, २०८३ सोमबार १७:५८:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।