जेठ महिनामा नेपाल भित्रिए ४ अर्ब ६ करोडका स्मार्टफोन

जेठ महिनामा नेपाल भित्रिए ४ अर्ब ६ करोडका स्मार्टफोन

काठमाडौं : जेठ महिनामा मात्रै नेपालमा १ लाख ७७ हजारभन्दा बढी स्मार्टफाेन भित्रिएका छन्।

भन्सार विभागकाे तथ्याङ्क अनुसार जेठ महिनामा ४ अर्ब ६ करोड ३४ लाख रुपैयाँ बराबरका १ लाख ७७ हजार ३३० थान स्मार्टफोन आयात भएका हुन्।

भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालमा ४३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी मूल्यका स्मार्टफोन आयात भएका छन्। 

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ४३ अर्ब ४५ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरका २० लाख ४१ हजार १९९ थान स्मार्टफोन नेपाल भित्रिएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा ३२ अर्ब ८ करोड ७८ लाख रुपैयाँ बराबरका १९ लाख ७५ हजार ५१३ थान स्मार्टफोन आयात भएका थिए। गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा स्मार्टफोन आयात करिब ३५ प्रतिशतले बढेको हो। 

स्मार्टफोन आयातको प्रमुख स्रोत मुलुक चीन बनेको छ। विभागका अनुसार चीनबाट मात्रै ३२ अर्ब ८४ करोड ५० हजार रुपैयाँ बराबरका १७ लाख १० हजार ९१० थान स्मार्टफोन नेपाल भित्रिएका छन्।

कुल आयातमध्ये ठूलो हिस्सा चिनियाँ उत्पादन तथा ब्रान्डका स्मार्टफोनले ओगटेका छन्।

स्मार्टफोन आयातसँगै सरकारको राजस्व संकलन पनि बढेको छ। चालु आर्थिक वर्षको ११ महिनामा स्मार्टफोन आयातबाट ८ अर्ब १० करोड ५२ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो राजस्व ५ अर्ब ९८ करोड २१ लाख २ हजार रुपैयाँ रहेको थियो।

असार ८, २०८३ सोमबार १६:४२:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।