११ महिनामा २१ खर्ब ७२ अर्बको वैदेशिक व्यापार, १६ खर्ब नाघ्यो व्यापार घाटा
काठमाडौं : चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले वृद्धि भएको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा कुल वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिको कुल वैदेशिक व्यापार १८ खर्ब ९२ अर्ब ३६ करोड रुपैयाँ थियो।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालले १८ खर्ब ९४ अर्ब ९ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो। गत वर्ष सो अवधिमा १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो।
त्यसैगरी, निर्यात पनि १२.२८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको वस्तु निर्यात भएको थियो ।
आयातको तुलनामा निर्यातको वृद्धि दर कम रहँदा व्यापार घाटा भने अझै बढेको छ। समीक्षा अवधिमा व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ थियो।
तथ्यांकले नेपालको अर्थतन्त्र अझै आयातमुखी रहेको देखाएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८७.२० प्रतिशत रहेको छ भने निर्यातको हिस्सा १२.८० प्रतिशत मात्रै छ। अघिल्लो वर्ष निर्यातको हिस्सा १३.०८ प्रतिशत रहेकोमा यस वर्ष घटेको देखिन्छ।
यस अवधिमा आयात–निर्यात अनुपात ६.६४ बाट बढेर ६.८१ पुगेको छ। अर्थात् प्रत्येक एक रुपैयाँ बराबरको निर्यात गर्दा नेपालले करिब ६ रुपैयाँ ८१ पैसा बराबरको वस्तु आयात गरेको देखिन्छ।
वैदेशिक व्यापारको आकार बढे पनि व्यापार घाटा निरन्तर फराकिलो बन्दै जानुले उत्पादन तथा निर्यात प्रवर्धनमा थप प्रभावकारी नीति आवश्यक रहेको संकेत गरेको छ।
असार ८, २०८३ सोमबार १५:३०:२९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।