गिग अर्थतन्त्र र राइड-हेलिङ रोजगारी र आर्थिक विकासको मेरुदण्ड बन्न सक्छ : विज्ञ
काठमाडौं : नेपाल इकोनोमिक फोरम (एनईएफ) ले 'गिग अर्थतन्त्र र राइड-हेलिङ : रोजगार सिर्जना तर्फ' विषयमा 'एनईएफ टक' कार्यक्रम आयोजना गरेको छ।
उक्त कार्यक्रममा नीति निर्माता, व्यवसायी, अर्थविद् तथा विकास क्षेत्रका प्रतिनिधिहरूले नेपालमा गिग अर्थतन्त्र र राइड-हेलिङ क्षेत्रको वर्तमान अवस्था र भविष्यबारे गहन छलफल गरेका छन्।
छलफलका क्रममा सहभागीहरूले राइड-हेलिङ सेवाले सहरी यातायातलाई सहज बनाउनुका साथै पर्यटन, साना तथा मझौला व्यवसाय र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान पुर्याइरहेको कुरामा जोड दिए। गिग अर्थतन्त्र नेपालका युवाहरूका लागि आम्दानीको अवसर सिर्जना गर्ने एक प्रभावकारी माध्यम बन्दै गएको सहभागीहरूको निष्कर्ष थियो।
कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका सदस्य पुकार मल्लले गिग अर्थतन्त्रलाई व्यवस्थित र दिगो बनाउन स्पष्ट नीतिगत व्यवस्था आवश्यक रहेको बताए। उनले नवप्रवर्तन र नियमनबीच सन्तुलन कायम गर्दै श्रमिक संरक्षण, सामाजिक सुरक्षा र प्रमाणमा आधारित नीति निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे।
त्यस्तै, नेपाल इकोनोमिक फोरमका कार्यकारी बोर्ड सदस्य राजेश श्रेष्ठले राइड-हेलिङ सेवा केवल यातायातसँग मात्र सीमित नभएर आर्थिक विकासको संवाहक भएको बताए। उनले यस क्षेत्रले पर्यटन र साना व्यवसायको विकासमा खेलेको भूमिकाको चर्चा गरे।
ई-ड्राइभ नेपालका अध्यक्ष राजेश मास्केले तीव्र रूपमा विस्तार भइरहेको राइड-हेलिङ क्षेत्रलाई व्यवस्थित गर्न स्पष्ट कानुनी व्यवस्था र स्वस्थ प्रतिस्पर्धाको आवश्यकता औंल्याए।
कार्यक्रममा दराज नेपालकी प्रबन्ध निर्देशक आँचल कुँवर, विश्व बैंक समूहकी वरिष्ठ सामाजिक संरक्षण विशेषज्ञ जास्मिन राजभण्डारी तथा कानुन व्यवसायी समन्त दाहालले डिजिटल व्यवसाय, गिग श्रमिकको सामाजिक सुरक्षा, महिला सहभागिता र स्पष्ट कानुनी संरचनाको आवश्यकताका बारेमा आफ्ना धारणाहरू राखेका थिए।
कार्यक्रमको समापन गर्दै फोरमका अध्यक्ष सुजीव शाक्यले नेपालमा गिग अर्थतन्त्रको विकासका लागि निजी क्षेत्र, सरकार तथा अन्य सरोकारवालाहरूसँग सहकार्य गर्दै अनुसन्धान र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
असार ७, २०८३ आइतबार १३:१३:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।