आइएमईको म्युजिकल एम्बेसेडरमा प्रकाश सपुत नियुक्त
काठमाडौं : आइएमईको सांगीतिक दूत (म्युजिकल एम्बेसेडर) मा चर्चित गायक तथा अभिनेता प्रकाश सपुत नियुक्त भएका छन्।
आइएमईले शनिबार काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी सपुतलाई आफ्नो म्युजिकल एम्बेसेडरका रूपमा सार्वजनिक गरेको हो।
रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउँदै ग्राहकहरूसँगको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउने उद्देश्यका साथ सपुतलाई कम्पनीमा आबद्ध गरिएको आइएमईले जनाएको छ।
मौलिक लोक सिर्जना र सामाजिक चेतनामूलक गीतहरूका कारण सपुत नेपालीमाझ निकै लोकप्रिय छन्। विशेषगरी वैदेशिक रोजगारीमा रहेका नेपालीका भावना, संघर्ष र जीवन भोगाइलाई उनले आफ्ना गीतमार्फत निरन्तर उठाउँदै आएका छन्।
देशको अर्थतन्त्र र नेपाली समाजलाई समृद्ध बनाउन रेमिट्यान्सले खेलेको महत्त्वपूर्ण भूमिकालाई आम मानिससम्म बुझाउन यो सहकार्यले थप मद्दत पुग्ने आइएमईको विश्वास छ।
सम्झौता कार्यक्रममा बोल्दै आइएमईका महाप्रबन्धक बद्री कटवालले भने, "उहाँका सिर्जनाले समाजको यथार्थ बोल्ने र नेपालीको मन छुने भएकाले यो सहकार्यले हाम्रो अभियानमा एउटा छुट्टै आफ्नोपन थप्नेछ। स्वदेश र विदेशको दूरीलाई कम गर्न संगीत सबैभन्दा बलियो माध्यम हो र यसले प्रवासी नेपाली श्रमिकहरूका लागि सारथीको काम गर्नेछ।"
कार्यक्रममा सपुतले आइएमईसँग जोडिन पाउँदा खुसी भएको बताए। उनले विश्वभर छरिएर रहेका नेपालीलाई संगीतको माध्यमबाट आफ्नो माटोसँग जोडीराख्ने प्रतिबद्धता समेत व्यक्त गरे।
असार ६, २०८३ शनिबार १८:३७:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।