अटोमोबाइल क्षेत्रका समस्या समाधान गर्न नाडाद्वारा पूर्वाधार विकास मन्त्रीको ध्यानाकर्षण
काठमाडौं : नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको एक प्रतिनिधिमण्डलले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेट गरी अटोमोबाइल क्षेत्रका विद्यमान समस्या र समाधानका उपायबारे छलफल गरेको छ।
नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको टोलीले असार २ गते मन्त्रालयमा पुगेर मन्त्री लम्सालको ध्यानाकर्षण गराएको हो।
छलफलका क्रममा मन्त्री लम्सालले नाडाका तर्फबाट प्रस्तुत गरिएका जायज सुझावहरूलाई सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउँदै आवश्यकता अनुसार ऐन नै संशोधन गरेर भए पनि सहजीकरण गरिदिने आश्वासन दिए।
छलफलमा नाडाका प्रतिनिधिले एलसी खुलिसकेका र बाटोमा आइसकेका व्यावसायिक सवारी साधनहरूको दर्ता फुकुवा गरिनुपर्ने, नयाँ बजेटले हेभी इक्विपमेन्ट र मेसिनरी सामानहरूमा लगाएको मूल्य अभिवृद्धि करमा पुनर्विचार हुनुपर्ने माग गरेका छन्।
यसका अलावा भन्सार र यातायात व्यवस्था विभागबीच डिजिटल प्रणाली एकीकृत गरी आयातित सवारीको विवरण स्वचालित रूपमा आदानप्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने र सरकारले गठन गर्ने भनेको यातायात प्राधिकरणमा नाडाको प्रतिनिधित्व हुनुपर्ने र सवारी कर बिक्री भएपछि मात्रै लाग्ने व्यवस्था हुनुपर्ने माग समेत उनीहरूको छ।
भेटघाटमा सरकारी तर्फबाट उद्योग सचिव कृष्णबहादुर राउत, पूर्वाधार विकास सचिव गोपालप्रसाद सिग्देल, भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र यातायात व्यवस्था विभागका महानिर्देशक रोशन ज्ञवाली उपस्थित थिए।
नाडाका तर्फबाट वरिष्ठ सल्लाहकार राजनबाबु श्रेष्ठ, महासचिव मिलनबाबु मल्ल लगायत अन्य कार्यसमिति सदस्यहरूको सहभागिता रहेको थियो।
असार ३, २०८३ बुधबार १०:३३:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।