दृष्टिविहीन मैत्री नयाँ ५०० को नोट चलनचल्तीमा, अब छामेरै नोटको दर चिन्न सकिने

दृष्टिविहीन मैत्री नयाँ ५०० को नोट चलनचल्तीमा, अब छामेरै नोटको दर चिन्न सकिने

काठमाडौं : नेपाल राष्ट्र बैंकले दृष्टिविहीन नागरिकहरूका लागि विशेष सुविधासहितको नयाँ ५०० रुपैयाँको नोट चलनचल्तीमा ल्याएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार यो नयाँ नोट आजदेखि चलनचल्तीमा आएको छ।

दृष्टिविहीन नागरिकहरूले आर्थिक कारोबार गर्दा नोट पहिचान गर्न सहज होस् भन्ने उद्देश्यले यस नोटमा विशेष सुरक्षण व्यवस्था गरिएको छ।

नोटको अगाडिको भागमा रहेको पानीछापको बायाँतर्फ दुईवटा कालो थोप्लाहरू राखिएका छन्। दृष्टिविहीन व्यक्तिहरूले यी थोप्लाहरूलाई छामेर नै ५०० रुपैयाँको नोट हो भनी सहजै चिन्न सक्ने बैंकको दाबी छ।

यो सुविधाले गर्दा दृष्टिविहीन नागरिकहरूले अरूको सहयोग बिना नै सुरक्षित रूपमा आर्थिक कारोबार गर्न सक्ने विश्वास गरिएको छ।

गभर्नर डा. विश्वनाथ पौडेलको दस्तखत रहेको नयाँ नोटमा साविककै आकार र रंगमा उपलब्ध हुनेछ। यसको संकेत नम्बर झ/३८ ०००००१ देखि ट/८३ ९९९९९९ सम्म रहनेछ।

नोटको अगाडिको भागको मध्यखण्डमा प्रतिज्ञामूलक वाक्यांश, बायाँतर्फ सगरमाथा हिमालको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप रहेको छ। यसको सिरिज नम्बरमा ‘वि.सं. २०८२’ लेखिएको छ।

सगरमाथाको दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जसलाई सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

यसैगरी, नोटमा ३.५ मिलिमिटर चौडा भएको सुरक्षण धागो छ, जुन सीधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिन्छ।

नोटको पछाडिको भागको मध्यखण्डमा पाटेबाघको चित्र र त्यसको माथि अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको छ। तलपट्टि ‘RUPEES FIVE HUNDRED’ र सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख छ।

असार ३, २०८३ बुधबार ०९:२५:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।