प्रहरी कार्यालयहरूलाई मुक्तिनाथ विकास बैंकको कार्यालय सामग्री सहयोग

प्रहरी कार्यालयहरूलाई मुक्तिनाथ विकास बैंकको कार्यालय सामग्री सहयोग

काठमाडौं : मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न जिल्लाका प्रहरी, इलाका प्रहरी तथा ट्राफिक प्रहरी कार्यालयहरूलाई आवश्यक कार्यालय सामग्रीहरू सहयोग गरेको छ।

समुदायको सुरक्षा र सेवा प्रवाहलाई थप सहज बनाउन बैंकले कम्प्युटर, फर्निचर, रोड डिभाइडर तथा सचेतनामूलक बोर्डहरू हस्तान्तरण गरेको हो।

बैंकले जिल्ला प्रहरी कार्यालय घोराही (दाङ), जिल्ला प्रहरी कार्यालय धादिङ, साईगाउँ प्रहरी चौकी (बाँके) र जिल्ला प्रहरी कार्यालय काँकरभिट्टा (झापा) लाई प्रशासनिक कार्यसम्पादनका लागि कम्प्युटर तथा फर्निचर सामग्रीहरू उपलब्ध गराएको छ।

यसैगरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दिया (गुलरिया) लाई सडक सुरक्षालाई व्यवस्थित बनाउन रोड डिभाइडर र सचेतनामूलक बोर्डहरू सहयोग गरिएको बैंकले जनाएको छ।

यस सहयोगले प्रहरी कार्यालयहरूको दैनिक प्रशासनिक कार्य र जनसेवा प्रवाहलाई थप व्यवस्थित बनाउन मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई निरन्तरता दिइनेछ।

असार २, २०८३ मंगलबार १२:४५:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।