सात वर्षको सास्तीपछि सहज बन्यो बुटवल-नारायणगढ सडक

सात वर्षको सास्तीपछि सहज बन्यो बुटवल-नारायणगढ सडक

बुटवल : कुनै समय बुटवलबाट नारायणगढका लागि गाडी चढ्दा यात्रुहरू सुरक्षित र समयमै गन्तव्यमा पुगिने हो कि होइन भन्ने चिन्ताले पिरोलिन्थे। विशेष गरी दाउन्ने खण्ड सम्झँदा मात्रै पनि धेरैको मुटु काप्ने गर्थ्यो।

भत्केको बाटो, हिउँदमा आकाशै छोप्ने धुलो, बर्खामा चक्का डुब्ने हिलो र हप्तौंसम्मको अनियन्त्रित जाम यसको पहिचान जस्तै बनेको थियो। यात्रुहरूको त्यो सास्ती लामो प्रतीक्षा र निरन्तरको प्रयासपछि अन्ततः हटेको छ। अहिले बुटवल-नारायणगढ सडक खण्डको यात्रा पूर्ण रूपमा सहज बनेको छ।

विगत सात वर्षदेखि यो सडक खण्ड सर्वसाधारणका लागि ठूलो सास्ती बनेको थियो। २०७५ चैत महिनाबाट विस्तारको काम सुरू भएको यस सडक खण्डमा विशेष गरी दाउन्ने क्षेत्रको १४ किलोमिटर खण्ड पार गर्न यात्रुले निकै सास्ती भोग्नुपर्थ्यो।

विश्वकर्मा बाबा मन्दिर र पैसठ्ठी मोड जस्ता भौगोलिक रूपमा जटिल र साँघुरा ठाउँहरूमा गाडी बिग्रिएमा वा पहिरो गएमा १० देखि १२ घण्टासम्म सवारी साधनहरू जाममा रोकिनुपर्ने बाध्यता थियो।

एम्बुलेन्समा रहेका बिरामीहरू बाटोमै छटपटाउनुपर्ने र ढुवानीका साधनमा रहेका सामानहरू बाटोमै कुहिने अवस्था दैनिक जस्तै बनिसकेको थियो।

स्थानीय बासिन्दा र नियमित यात्रुहरूका लागि यो सडक विकास नभएर विनाश जस्तो महसुस हुन थालेको थियो। तर, ढिलै भए पनि अहिले यो सडकको अवस्था फेरिएको छ।

चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले करिब १७ अर्ब रुपैयाँको लागतमा ठेक्का लिएको १ सय १४ किलोमिटर यो सडक आयोजना विभिन्न प्राविधिक, भौगोलिक र व्यवस्थापकीय कमजोरीका कारण पटक-पटक थलिँदै आएको थियो।

निर्धारित ४४ महिनामा काम नसकिएपछि चौथो पटकसम्म यसको म्याद थप्नुपरेको थियो। हाल पूर्वी खण्डको म्याद आगामी २०८३ साउन ७ र पश्चिम खण्डको म्याद २०८३ साउन ५ सम्म कायम छ।

म्याद थपको सकसकै बीच आयोजनाले सबैभन्दा बढी समस्याग्रस्त मानिएको दाउन्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको थियो।

अहिले दाउन्नेको अधिकांश भागमा ढलान, कालोपत्र र सडक संरचना तयार भइसकेका छन्। पहिरो र जमिन धसिने जोखिम भएकाले कतिपय भागमा कालोपत्रको सट्टा कंक्रिट प्रयोग गरिएको छ। दाउन्ने क्षेत्रमा ९३ प्रतिशतभन्दा बढी भौतिक प्रगति भइसकेको छ।

यात्रुहरूका लागि सबैभन्दा ठूलो टाउको दुखाइ बनेको विश्वकर्मा बाबा मन्दिर र पैसठ्ठी मोडको क्षेत्रमा मजबुत ढलान (आरसीसी) र कालोपत्रेको काम सकिएसँगै सडकको रूप फेरिएको हो।

आयोजनाको पश्चिम खण्डका सूचना अधिकारी विकास खनालले जेठ १५ सम्ममा दाउन्नेको मुख्य ढलान सकिएको जानकारी दिए। उनका अनुसार अब पश्चिम खण्डको दाउन्ने बजार र खुर्सानी खोला क्षेत्रमा मात्रै करिब १ सय ९० मिटर काम बाँकी छ, जसले समग्र यातायातमा कुनै अवरोध पुर्याउँदैन।

सडक सुधार भएपछि बुटवल-नारायणगढ खण्डको यात्रा अवधि निकै छोटिएको छ। पहिले बुटवल-नारायणगढ सडकको यात्रा गर्न ६ देखि १० घण्टा लाग्ने गरेकोमा अहिले यो सडक खण्डको यात्रा साढे २ घण्टामै पूरा गर्न सकिन्छ।

दाउन्ने क्षेत्रको १४ किलोमिटर सडकमा लाग्ने घण्टौ लामो जाम पनि अब हटेको छ। सबैभन्दा बढी जाम र दुर्घटना हुने विश्वकर्मा बाबा मन्दिर र पैसठ्ठी मोड क्षेत्रमा पूर्ण रूपमा आरसीसी ढलान गरिएकाले अहिले विना अवरोध १-२ मिनेटमै पार गर्न सकिन्छ।

सडक सहज भएपछि वर्षौंदेखि सास्ती खेपेका यात्रु र स्थानीयले ठूलो राहतको सास फेरेका छन्। नियमित रूपमा यो रुटमा यात्रा गर्ने गुल्मीको मालिका गाउँपालिका वडा नंं २ का रमेश अर्यालले पहिले दाउन्नेमा १४ घण्टासम्म जाममा परेको अनुभव सुनाउँदै अहिले यात्रा सहज बन्दा खुसी लागेको बताए।

त्यस्तै, दाउन्ने मोडमै सानो व्यवसाय गर्दै आउनुभएकी स्थानीय बासिन्दा सुमित्रा राना पनि अहिले धुलो र हिलोबाट मुक्ति पाएकोमा निकै खुसी छिन्।

सात वर्षसम्म खाएको धुलो र भोगेको सास्ती शब्दमा भन्न नसकिने उल्लेख गर्दै उनले पसलका सामान सबै धुलाम्य हुने र दिउँसै अँध्यारो देखिने अवस्थाबाट मुक्ति पाएको बताइन्। सडक ढलान भएर गाडीहरू सररर कुद्न थालेपछि बल्ल मान्छे जस्तो भएर जिउन पाएको र ढिलै भए पनि काम पूरा भएकोमा उनले सन्तोष मानिन्।

यो सडक सहज हुनु केवल यात्रुको सुविधा मात्र होइन, पश्चिम नेपालको समग्र अर्थतन्त्रसँग पनि जोडिएको विषय हो। बुटवल, भैरहवा, चितवन र काठमाडौंलाई जोड्ने यो मार्ग औद्योगिक, कृषि तथा पर्यटकीय गतिविधिको प्रमुख मेरुदण्ड मानिन्छ।

सडक विस्तारका कारण मालवाहक सवारीको यात्रा समय घट्ने, ढुवानी लागत कम हुने र बजार पहुँच बढ्ने अपेक्षा गरिएको छ। लुम्बिनी प्रदेशका उद्योगीहरूका अनुसार सडक पूर्ण सञ्चालनमा आएपछि उत्पादन र वितरण प्रणाली थप प्रभावकारी हुनेछ।

सडक निर्माण सम्पन्न भएसँगै पर्यटन व्यवसायीहरू पनि निकै उत्साहित बनेका छन्। चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, पाल्पा र पश्चिम नेपालका अन्य पर्यटकीय गन्तव्यसम्म पुग्न सहज भएपछि आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने विश्वास गरिएको छ।

नाटा लुम्बिनीकी पूर्व अध्यक्ष रचना पन्तले दाउन्नेको अत्यासलाग्दो सवारी जाम र सडकको दुरावस्थाका कारण पर्यटकहरू चितवनबाट लुम्बिनी आउन नचाहने गरेकोमा अब यात्रा सहज भएकाले पर्यटकहरू यही मार्ग हुँदै पश्चिम नेपालतर्फ आकर्षित हुने आशा व्यक्त गरे।

त्यस्तै, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधव खनालले पनि बुटवल-नारायणगढ सडकको यात्रा सहज बन्दा गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकको संख्या बढ्ने बताउँछन्।

लुम्बिनी क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गरे पनि बाटोकै सास्तीका कारण पर्यटकहरू आउन हिचकिचाउने गरेको स्मरण गर्दै उनले अब सडक राम्रो भएपछि लुम्बिनीलगायत त्यहाँबाट पश्चिम नेपालका विभिन्न जिल्लामा जाने आन्तरिक एवं बाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गरे।

असार २, २०८३ मंगलबार ११:१४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।