कोशी प्रदेशको बजेट : ४० अर्ब ४४ करोडको बजेटमा एआईदेखि तन्त्र विद्यासम्मका कार्यक्रम

कोशी प्रदेशको बजेट : ४० अर्ब ४४ करोडको बजेटमा एआईदेखि तन्त्र विद्यासम्मका कार्यक्रम

काठमाडौं : कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्षका लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेका छन्। यो चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी हो। पुँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ र चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएको छ।

बजेटमा मुख्य गरेर प्रविधि र संस्कृतिमा जोड दिँदै धनकुटाको चौबीसेमा आईटी पार्क (२ करोड) र ५ हजार युवालाई आर्टिफिसियल इन्टेलिजेन्स  तालिम दिने उल्लेख छ। साथै, ज्योतिष र तान्त्रिक शास्त्रको अनुसन्धानका लागि 'दक्षिण एसियाली तन्त्र-वास्तु तथा ज्योतिष अध्ययन केन्द्र' स्थापना गर्ने समेत बजेटमा उल्लेख छ।

सार्वजनिक सवारी साधनमा जिपिएस  प्रणाली अनिवार्य गरिने, कार्यसम्पादन चुस्त बनाउन आइतबार दिइँदै आएको सार्वजनिक बिदा पुनरावलोकन गरिने, घुन्सा खोला र सिम्बुवा खोला जलविद्युतका लागि १५ करोड तथा विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट मैदानका लागि ५ करोड बजेट र पर्यटनमा आगामी २०८३ साउनदेखि २०८५ असारसम्मलाई 'कोशी प्रदेश भ्रमण वर्ष' मनाइने उल्लेख छ।

आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले प्रदेशसभामा सोमबार अपराह्न बजेट प्रस्तुत गर्दै पूर्वाधार विकासका लागि स्रोत सुनिश्चित गरी योजनाको प्रभावकारी कार्यान्वयन गरिने बताए।

प्रादेशिक सडक सञ्चालन गुरुयोजनामा समावेश प्रादेशिक लोकमार्ग, प्रादेशिक मार्ग तथा स्थानीय तहका केन्द्र र व्यापारिक केन्द्र जोड्ने सडकको विस्तार तथा स्तरोन्नतिका लागि चार अर्ब ३९ करोड बजेट विनियोजन गरिएको छ।

प्रदेशभित्र बसोबास गर्ने विपन्न तथा आवासविहीन परिवारका लागि ‘कोशी जनता आवास कार्यक्रम’ लाई निरन्तरता दिइएको छ। हिमाली तथा पहाडी जिल्लाका रणनीतिक महत्वका १० स्थानमा आधारभूत पूर्वाधारसहित साना सहर विकासका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख छ।

मनमोहन प्राविधिक विश्वविद्यालयको प्रयोगशालाको उपयोगसँगै जिल्लास्तरमा आधारभूत परीक्षणका लागि आवश्यक उपकरण व्यवस्थापन गरिने, मोरङको रङ्गेली र इलामको सूर्योदय नगरपालिकासँगको सहकार्यमा फोहर व्यवस्थापनसम्बन्धी पूर्वाधार निर्माणका लागि प्राविधिक तथा वित्तीय सहयोग उपलब्ध गराइने उल्लेख छ।

सडक पूर्वाधार तथा सहरी विकास क्षेत्रका लागि १२ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ। पर्यटन क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्ने लक्ष्यसहित ‘कोशी प्रदेश एकीकृत पर्यटन विकास गुरुयोजना’ तर्जुमा गरिने भएको छ।

प्रदेशका २९ स्थानीय तहमा सञ्चालित चियाबारी, फाल्गुनन्द, लालीगुराँस र मुन्धुम पदमार्गको एकीकृत पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ। अर्जुनधारा, किचकबध, कृष्णथुम्की, वृहत् विराट क्षेत्र, दूधकुण्ड, वराहक्षेत्र, ध्वजेडाँडा, लारुम्बा, पत्ताले, चिवाभञ्ज्याङ, तिम्बुङ पोखरी, बोराबाँध, कन्याम, श्रीअन्तु र सन्दकपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यको संरक्षण, संवद्र्धन तथा प्रवर्द्धनका लागि पनि बजेट व्यवस्था गरिएको छ।

सार्वजनिक–निजी साझेदारीमा गुप्तेश्वर मोनोरेल, केचना सुरुङमार्ग, ध्वजेडाँडा नटराज पार्क तथा तीनजुरे–गुराँस केबलकारलगायत पर्यटकीय पूर्वाधार विकासका कार्यक्रमलाई अगाडि बढाइने भएको छ।

पर्यटन, वन तथा वातावरण मन्त्रालयका लागि तीन अर्ब ४९ करोड बजेट विनियोजन गरिएको छ। शिक्षा, खेलकुद, संस्कृति, रोजगारी तथा समावेशिता क्षेत्रतर्फ हिमाली तथा पहाडी जिल्लाका सामुदायिक विद्यालयमा भवन, छात्रावास, शौचालय, कम्प्युटर तथा विज्ञान प्रयोगशालालगायत पूर्वाधार निर्माणका लागि ४४ करोड बजेट छुट्याइएको छ। प्रविधिमैत्री, बालमैत्री तथा वातावरणमैत्री कार्यक्रमका लागि २१ करोड विनियोजन गरिएको छ।

प्रदेशको बजेट

असार १, २०८३ सोमबार २२:०८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।