कलेजमा उत्कृष्ट नतिजाका लागि अपनाउनुहोस् 'स्मार्ट' अध्ययन विधि

कलेजमा उत्कृष्ट नतिजाका लागि अपनाउनुहोस् 'स्मार्ट' अध्ययन विधि

काठमाडौँ : विद्यालय (हाई स्कूल) तहमा उत्कृष्ट अङ्क ल्याउने धेरैजसो विद्यार्थीहरू विश्वविद्यालय वा कलेज प्रवेश गरेपछि सुरुवाती दिनमा अपेक्षाकृत नतिजा ल्याउन असफल भइरहेका हुन्छन्।

शिक्षाविद् तथा मनोवैज्ञानिकहरूका अनुसार विद्यालय र कलेजको शैक्षिक वातावरण, पाठ्यक्रमको गहिराइ र प्राध्यापकहरूको मूल्याङ्कन पद्दतिमा ठूलो भिन्नता हुने भएकाले पुरानै अध्ययन शैली कलेजमा प्रभावकारी हुँदैन।

विद्यार्थीमा कुनै कमजोरी भएर नभई उनीहरूले कलेज अनुरूपको 'स्मार्ट अध्ययन कला' सिक्न नसक्दा यस्तो समस्या देखिने गरेको विज्ञहरूको दाबी छ। हालै सार्वजनिक एक अध्ययन प्रतिवेदनले कलेजका विद्यार्थीहरूका लागि कम मिहिनेतमा बढी र दिगो सिकाइ हासिल गर्न उपयोगी हुने वैज्ञानिक रणनीतिहरू सुझाएको छ।

विज्ञहरूका अनुसार कलेज जीवनमा कडा मिहिनेत मात्र होइन, स्मार्ट मिहिनेत आवश्यक हुन्छ, जसका लागि निम्न बुँदाहरूमा ध्यान दिनु जरुरी छ :

केवल पाठ पढ्नु मात्र अध्ययन होइन

धेरैजसो विद्यार्थीहरू नोट वा पुस्तकका पानाहरू बारम्बार पल्ट्याउनु वा लाइनहरूमा हाइलाइटर लगाउनुलाई नै पढ्नु ठान्छन्। तर, विज्ञहरू यसलाई केवल 'पूर्वावलोकन' वा निष्क्रिय अध्ययन मान्छन्, जसले गर्दा पढेका कुराहरू मस्तिष्कले छिट्टै बिर्सिन्छ।

वास्तविक अध्ययनका लागि विद्यार्थीहरू 'सक्रिय सिकाइ' मा संलग्न हुनुपर्छ। यसका लागि आफैँले प्रश्नोत्तरहरू तयार गरी 'क्विज' बनाउने, पढेका कुराहरूलाई आफ्नै शब्दमा ठूलो स्वरले अर्कालाई पढाए झैँ व्याख्या गर्ने, र सैद्धान्तिक कुराहरूलाई वास्तविक जीवनका उदाहरणहरूसँग जोड्ने बानी बसाल्नुपर्छ। इतिहास वा अङ्ग्रेजी जस्ता विषयमा मूल अवधारणा बुझ्न र गणित जस्ता प्राप्राविधिक विषयमा समस्याको समाधान आफैँ गरेर प्रत्येक चरणको कारण बुझ्न आवश्यक हुन्छ।

वैज्ञानिक 'अध्ययन चक्र'को पालना

फ्रैंक क्रिस्टद्वारा प्रतिपादित 'स्टडी साइकल' अनुसार प्रभावकारी सिकाइका पाँचवटा कडीहरू हुन्छन्:

-पूर्वावलोकन: कक्षा सुरु हुनुअघि पाठको सरसरती अध्ययन।

-उपस्थिति: कक्षामा पूर्ण ध्यानका साथ सहभागिता।

-पुनरावलोकन : कक्षा सकिएको केही समयभित्रै नोटहरू पुनः हेर्ने।

-अध्ययन: सक्रिय सिकाइ विधि अपनाएर गहन अध्ययन गर्ने।

-मूल्याङ्कन: आफूले कति बुझेँ भनी आफैँलाई जाँच्ने।

धेरै विद्यार्थीहरूले कक्षामा पढाइने भन्दै अगाडि नपढ्ने गल्ती गर्छन्, जसले गर्दा उनीहरूले फरक मोड (पढ्ने र सुन्ने) बाट प्राप्त हुने दोहोरो सिकाइको अवसर गुमाउँछन्।

परीक्षाको अघिल्लो रात मात्र घोक्ने बानी  घातक

मनोवैज्ञानिक अनुसन्धानका अनुसार परीक्षाको ठीक अगाडि पुस्तकालय वा कोठामा घण्टौँसम्म म्याराथन शैलीमा घोक्नु भन्दा वितरित अभ्यास अर्थात् अध्ययनको समयलाई दिन र हप्ताहरूमा बाँड्नु धेरै गुणा बढी प्रभावकारी हुन्छ।

दैनिक प्रत्येक विषयलाई ३० देखि ४५ मिनेटको छोटो तर पूर्ण ध्यान केन्द्रित  सत्रमा विभाजन गरेर पढ्दा अल्छीपन  हट्छ र सिकाइ दिगो हुन्छ। सूत्र, नाम वा मितिहरू कण्ठ गर्न 'फ्ल्यासकार्ड' बनाएर दिनभरिको फुर्सदको समयमा हेर्ने बानी बसाल्नु उत्तम हुन्छ।

मल्टिटास्किङ र प्रविधिको दुरुपयोगले घट्छ क्षमता

अध्ययनका क्रममा एकैसाथ धेरै काम गर्नु कलेजका विद्यार्थीहरूको मुख्य कमजोरीको रूपमा औंल्याइएको छ। पढ्दै गर्दा सामाजिक सञ्जाल चलाउने, सन्देशहरूको जवाफ दिने वा वेब ब्राउजिङ गर्दा एकाग्रता भङ्ग हुन्छ।

अनुसन्धानले देखाए अनुसार मल्टिटास्किङले अध्ययनमा लाग्ने समय बढाउँछ र सिकाइको गुणस्तर घटाउँछ। त्यसैले, अध्ययन सत्रहरूमा फोन बन्द गर्न वा एप ब्लकरहरू प्रयोग गर्न विज्ञहरू सुझाव दिन्छन्।

वातावरण र कार्यतालिकामा परिवर्तन

सधैँ एउटै कोठा वा ओछ्यानमा पढ्दा दिमाग निष्क्रिय हुन सक्छ। त्यसैले कलेजको लाउन्ज, कफी शप वा पुस्तकालय जस्ता फरक-फरक वातावरणमा ठाउँ परिवर्तन गर्दै पढ्नु फलदायी हुन्छ। सबैलाई पूर्ण शान्त वातावरण नै चाहिन्छ भन्ने छैन; कतिपयलाई हल्का ब्याकग्राउन्ड संगीत वा मधुर आवाजले बढी ध्यान केन्द्रित गर्न मद्दत गर्छ।

यसका साथै, हरेक हप्ताको सुरुमा (जस्तै आइतबार) आफ्नो साप्ताहिक कार्यतालिका र दैनिक योजना  बनाउनाले विद्यार्थीहरू कलेजको दबाब र असाइनमेन्टहरूको समयमै व्यवस्थापन गर्न सक्षम हुन्छन्। कलेजमा पढाइको चाप कम भएको हप्तालाई मनोरञ्जनमा मात्र नउडाई आगामी ठूला प्रोजेक्टहरू सुरु गर्ने वा अगाडिको पाठ पढेर राख्ने अवसरको रूपमा उपयोग गर्नुपर्छ।

असार १, २०८३ सोमबार २१:०९:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।