कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत परीक्षार्थीले पाए ग्रेड

कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक, ८१.१९ प्रतिशत परीक्षार्थीले पाए ग्रेड

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले साउन २ र ३ गते सञ्चालन भएको कक्षा १२ को मौका (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डको बिहीबार बसेको बैठकको निर्णयअनुसार उक्त नतिजा प्रकाशित गरिएको हो।

प्रकाशित नतिजाअनुसार परीक्षामा कुल ७१ हजार ३१० जना परीक्षार्थी सहभागी भएकोमा ५७ हजार ८९७ परीक्षार्थीले सबै विषयमा ग्रेड प्राप्त गरेका छन्। यो कुल परीक्षार्थीको ८१.१९ प्रतिशत हो।

यस्तै, तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द गरिएको बोर्डले जानकारी दिएको छ। नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट (www.neb.gov.np) र नेपाल टेलिकमको वेबसाइट (www.neb.ntc.net.np) मार्फत हेर्न सकिने जनाएको छ।

यस्तै, नेपाल टेलिकमको १६०० नम्बरमा 'NEB <space> Symbol No.' टाइप गरी एसएमएस पठाएर पनि नतिजा प्राप्त गर्न सकिने जानकारी बोर्डले दिएको छ। नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय एक हजार रुपैयाँ दस्तुर बुझाई साउन २४ गतेदेखि साउन ३० गते साँझ ५ बजेभित्र पुनर्योगका लागि अनलाइनमार्फत आवेदन दिन सक्ने जनाएको छ। 

साउन २१, २०८३ बिहीबार २२:३६:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।