बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात, एक युवा पक्राउ

बानेश्वरमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि हातपात, एक युवा पक्राउ

काठमाडौं : काठमाडौंको बानेश्वरमा मंगलबार बिहान ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि एक युवाले गालीगलौज गर्दै हातपात गरे। हातपात गर्ने ती युवा जुम्लाको तातोपानी गाउँपालिका-२ घर भएका २७ वर्षीय राजु कठायत रहेको खुल्यो। 

हातपात गरे लगत्तै उनलाई प्रहरीले नियन्त्रणमा लियो। घटनासम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा राजुले महिला ट्राफिक प्रहरीमाथि प्रहार गर्न खोजेको देखिन्छ। दुई जना अन्य प्रहरीले उनलाई रोक्ने प्रयास गरिरहेको देखिन्छ। विवाद भएपछि त्यहाँ मानिसहरू जम्मामा हुन्छन्।

सोही क्रममा प्रहरीको गाडीमा राखेर ती युवालाई लगिएको देखिन्छ। उनीहरुबीच विवाद उठ्नुको विषय बाटो काट्नु रहेको भनिन्छ। आफूले कठायतलाई बानेश्वरमा रहेको आकाशे पुलबाट बाटो काट्न आग्रह गरेको ती महिला ट्राफिक प्रहरीले बताउँछिन्।

त्यहाँ उपस्थित सर्वसाधारणले पनि 'पुलिसलाई नै हात हालेको छ' भनेर बोलेको भिडियोमा सुनिन्छ। विवादको क्रममा त्यहाँ उपस्थित अर्का व्यक्तिले यसलाई हत्कडी लगाउनुहोस्, प्रहरीलाई नै हात हाल्ने ? यस्तालाई त औषधी राम्रो गर्नुपर्छ है भनेका छन्। 

केहीले हातपात किन भयो भनेर जान्ने जिज्ञासा राख्छन्। जवाफमा महिला ट्राफिक प्रहरीले आफूले यहाँबाट मिल्दैन माथिबाट जानु भनेको हुँ, त्यसपछि 'ए नेपालको कानुन यहाँ रे, त्यहाँ रे! तिमीहरू के गर्छौं। तिमीहरू आफ्नो काम गर, म बाटो हिँड्न नपाउने भनेको बताउँछिन्। 

उनी त्यति भनेपछि आफ्नो हात बटारेको र आफ्नो घडी फालिदिएको बताउँछिन्। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दानबहादुर थापाले ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीमाथि गालीगलौज तथा हातपात गरेको आरोपमा ती युवा राजु कठायतलाई पक्राउ गरेको पुष्टी गरे।

एसपी थापाले भने, "आज बिहान व्यस्त समय (पिक आवर) मा थापागाउँस्थित सडकमा ड्युटीमा खटिएकी महिला ट्राफिक प्रहरीले पैदल यात्रुलाई आकाशे पुलबाट बाटो काट्न अनुरोध गरेकी थिइन्। तर कठायतले ट्राफिक प्रहरीले भनेको स्थानबाट बाटो नकाट्ने भन्दै गालीगलौज गर्नुका साथै महिला प्रहरीमाथि हातपात गरेको थियो।"

घटनासम्बन्धी सार्वजनिक भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। प्रहरीले कठायतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी थापाले जानकारी दिए।

भदौ ९, २०८३ मंगलबार १५:३२:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।