‘२५ लाखे’ अभिनेत्रीको ट्याग पाएकी अञ्जना अब ‘साम्राज्य’मा
काठमाडौं : डेब्युको छोटो समयमै बक्सअफिसमा बलियो पकड जमाउने थोरै अभिनेत्रीमा पर्छिन्- अञ्जना बराइली।
प्रदीप भट्टराईको फिल्म ‘महापुरुष’बाट रजतपटमा छिरेकी अञ्जनाले ‘पूर्णबहादुरको सारङ्गी’सम्म आइपुग्दा ४८ करोडको ऐतिहासिक बक्सअफिस कलेक्सनको स्वाद चाखिसकेकी छन्।
‘पुजार सार्की’ र ‘पूर्णबहादुरको सारङ्गी’ जस्ता ब्लकबस्टर फिल्म दिएपछि बजारमा उनको ‘डिमान्ड’ एकाएक चुलियो।
यद्यपि, उनको खातामा ‘चित्रा’, ‘डोरी’, ‘महाभोज’ र ‘परिवर्तन’जस्ता बक्सअफिसमा पानी भन्न नपाएका फ्लप फिल्महरूको सूची पनि उत्तिकै छ।
तर, ती असफलतालाई बिर्साउने गरी जब ‘सारङ्गी’को धुन बज्यो, अञ्जना रातारात ‘ए-लिस्टर’ अभिनेत्रीको सूचीमा दरिइन्।
बजारमा उनको भाउ कतिसम्म बढ्यो भने, उनले नयाँ फिल्मका लागि ‘२५ लाख रुपैयाँ’ पारिश्रमिक मागेको गसिप फिल्मी वृत्तमा गर्मागर्मी रूपमा फैलियो।
आफ्ना ‘रेट’को चर्चा मिडियामा छताछुल्ल भएपछि उनी केही रिसाएकी पनि थिइन्। तर जे होस्, महँगी अभिनेत्रीको यो ट्यागले उनको माग भने झनै बढाएको छ।
भर्खरै ‘सारङ्गी’ टिमसँगै ‘सिन्दुरे जात्रा’को सुटिङ भ्याएकी यी ‘डिमान्डेड’ अभिनेत्री अब निर्देशक सौरभ चौधरीको नयाँ फिल्म ‘द राइज अफ साम्राज्य’ मा अनुबन्धित भएकी छन्।
डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यस ‘एपिक एक्सन ड्रामा’मा अञ्जनाले दयाहाङ राई, सौगात मल्ल, विजय बराल र नाजिर हुसेनसँग स्क्रिन सेयर गर्ने पक्का भइसकेको छ।
चर्चित उपन्यासकार बुद्धिसागरले कथा तथा पटकथा लेखेको यो फिल्मको सुटिङ केही दिनमै सुरू हुँदैछ।
करिब २ महिना १० दिनको छायांकन तालिका तय गरिएको फिल्मलाई प्रवेश चौधरी र निला देवले निर्माण गर्दैछन् भने सह-निर्मातामा विश्वास बस्नेत र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन्।
नेपाली सिनेमाका ‘हेभीवेट’ दाबी गरिएका अभिनेताहरूको भीडमा अञ्जनाले आफ्नो ‘साम्राज्य’ कत्तिको जमाउन सक्लिन् र महँगी अभिनेत्रीको ट्यागलाई न्याय गर्लिन्, त्यो भने हलमा फिल्म रिलिज भएपछि नै थाहा हुनेछ!
भदौ ९, २०८३ मंगलबार १४:०३:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।