संसद्मा कालो चश्मै लगाएर जानुपर्ने गरी प्रधानमन्त्रीको आँखामा के भएको हो?
काठमाडौं : बुधबार बस्ने प्रतिनिधि सभा बैठकमा सांसदहरूसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह कालो चस्मा लगाएरै रोस्ट्रममा उपस्थित हुने भएका छन्।
सभामुखले संसद्भित्र कालो चस्मा प्रयोगमा स्वास्थ्य परीक्षण रिपोर्ट अनिवार्य गरेपछि प्रधानमन्त्रीले आफ्नो मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा दर्ता गराएका हुन्।
आखिर प्रधानमन्त्रीलाई कालो चस्मा नै लगाउनुपर्ने गरी आँखामा के समस्या भएको हो त?
के भएको हो प्रधानमन्त्रीको आँखामा?
संसद् सचिवालयमा पठाइएको स्वास्थ्य परीक्षण रिपोर्टअनुसार प्रधानमन्त्री शाहलाई ‘ड्राई आई डिजिज’ भएको छ। साथै, उहाँलाई चर्को वा उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्या देखिएको छ।
नेपाली सेनाको छाउनीस्थित अस्पतालमा गत साउन २२ गते आँखा रोग विशेषज्ञ लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले प्रधानमन्त्री शाहको आँखा परीक्षण गरेका थिए।
परीक्षणपछि डा. ढकालले उज्यालो वातावरणमा रहँदा आँखाको सुरक्षाका लागि अनिवार्य रूपमा ‘कालो चस्मा’ लगाउन र नियमित रूपमा ‘कार्बोक्सीमिथाइलसेलुलोज ०.५%’ आई ड्रप प्रयोग गर्न चिकित्सकीय सल्लाह दिएका छन्।
संसद् सचिवालयमा किन बुझाइयो रिपोर्ट?
यसअघि सभामुख डोलप्रसाद अर्याल (डीपी) ले संसदीय मर्यादालाई ध्यानमा राख्दै मेडिकल कारणबिना बैठकमा कालो चस्मा लगाएर उपस्थित नहुन सांसदहरूलाई सचेत गराएका थिए।
कालो चस्मा लगाउनैपर्ने भए आधिकारिक स्वास्थ्य परीक्षण रिपोर्ट पेस गर्नुपर्ने सभामुखको आग्रह थियो।
सभामुखको सोही निर्देशनपछि प्रधानमन्त्री शाहले साउन २६ गते नै संसद् सचिवालयमा अस्पतालको रिपोर्टसहित औपचारिक पत्र पठाएका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण रिपोर्टसहितको पत्र प्राप्त भएको पुष्टि गरिसकेका छन्।
बुधबार प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको छ।
प्रतिनिधि सभा नियमावलीको नियम ५६ बमोजिम प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले प्रत्यक्ष प्रश्न सोध्नेछन्।
उक्त कार्यक्रमका लागि ११ जना सांसदले पहिले नै आफ्ना प्रश्नहरू दर्ता गराइसकेका छन्। यसरी संसद्को रोस्ट्रममा उभिएर सांसदहरूका प्रश्नको सामना गर्दा प्रधानमन्त्री बालेन शाह चिकित्सकीय कारणले गर्दा कालो चस्मामै देखिनेछन्।
भदौ ९, २०८३ मंगलबार ११:५१:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।