फ्राइडे रिलिज : हलमा ‘पेन्सन पट्टा’ र ‘बेहुली’ सहित दुई विदेशी फिल्म
काठमाडौं : हरितालिका तीज पर्वलाई लक्षित गर्दै आज (शुक्रबार) बाट दुई नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ एकसाथ प्रदर्शनमा आएका छन्।
यसअघि यही मितिमा प्रदर्शन हुने भनिएका ‘अक्षरा’ र ‘माया भनेको यस्तो होला’ ले रिलिज स्थगित गरेपछि यी दुई फिल्मले हलहरूमा उल्लेख्य शो पाएका छन्।
दुई फरक पुस्ताका निर्देशक र कलाकारहरू समेटिएका यी फिल्ममध्ये ‘पेन्सन पट्टा’ ले देशभर करिब डेढ सय शो पाएको छ भने ‘बेहुली’ ले झण्डै सय शोबाट प्रदर्शन सुरु गरेको छ।
वरिष्ठ अभिनेता तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा बनेको ‘पेन्सन पट्टा’ मा दयाहाङ राई, पशुपति राई, सुनिल थापा, गौमाया गुरुङ, विल्सनविक्रम राई, लुनिभा तुलाधर र बुद्धि तामाङलगायतको मुख्य अभिनय छ।
निर्देशक गुरुङले आफ्नै पारिवारिक परिवेशको कथालाई पर्दामा उतारेका हुन्। लाहुरे जीवन, दोस्रो–तेस्रो विवाह र त्यसपछि पेन्सन पट्टाका कारण परिवारमा निम्तिने समस्यालाई फिल्मले मुख्य कथा बनाएको छ।
उता, नयाँ पुस्ताका निर्देशक र कलाकारहरूको अभिनय रहेको प्रेमकथामा आधारित फिल्म ‘बेहुली’ पनि आजैबाट दर्शकमाझ आएको छ।
सशांक कँडेलको निर्देशनमा बनेको यस फिल्ममार्फत टिकटकमा ‘कुल ब्वाय’ उपनामले परिचित पारस बम र अभिनेत्री दिव्या रायमाझीले स्क्रिन सेयर गरेका छन्।
फिल्ममा पदम तामाङ, सन्तोष बानियाँ, सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी र कर्मा लामालगायतको अभिनय छ। चर्चित सङ्गीतकार अर्जुन पोखरेलले यसै फिल्मबाट निर्माताका रूपमा डेब्यु गरेका हुन्।
पुरानै फिल्महरूको प्रदर्शन पनि जारी
नयाँ रिलिजसँगै हलहरूमा यसअघि लागेका केही फिल्महरूको प्रदर्शन पनि जारी छ। अभिनेत्री नीता ढुङ्गाना निर्देशित फिल्म ‘पार्वती’ आजबाट तेस्रो हप्तामा प्रवेश गरेको छ।
अटिजम भएका बालबालिकाको कथामा आधारित यस फिल्ममा नीतासँगै अशोक दर्जी, दीप्तप्रकाश अधिकारी, सिरु विष्ट र दीपाश्री निरौलाको अभिनय छ। फिल्मका निर्माता हरिहर अधिकारी हुन्।
त्यस्तै, दोस्रो हप्तामा प्रदर्शनरत अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग : तिनीहरू’ ले सीमित शोका बावजुद दर्शक र समीक्षकबाट राम्रो प्रशंसा बटुलिरहेको छ। गत साउन १ गतेबाट रिलिज भएको डा. कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ ले पनि केही हलहरूमा आफ्नो प्रदर्शन कायम राखेको छ।
विदेशी फिल्म : ‘हनुमान अंश’ र ‘फल २’
विदेशी फिल्मतर्फ बलिउडको ‘हनुमान अंश’ र हलिउडको ‘फल २ : डेडपोइन्ट’ आजैबाट नेपालमा प्रदर्शनमा आएका छन्।
नीम करोली बाबाको जीवन तथा दर्शनमा आधारित बलिउड फिल्म ‘हनुमान अंश’ ले भारतमा बक्स अफिसमा निकै राम्रो व्यापार गरिरहेको छ।
करिब २ करोड भारुको न्यून बजेटमा बनेको यो फिल्मले भारतीय बक्स अफिसमा ९० करोडभन्दा बढीको व्यापार गरिसकेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। विशाल चतुर्वेदी निर्देशित यस फिल्ममा शोभिनव सत्या, चन्दन के. आनन्द, अनिल रस्तोगी र पूर्णिमा तिवारीलगायतको अभिनय छ।
यसैगरी, हलिउडको बहुप्रतीक्षित एड्भेन्चर-थ्रिलर फिल्म ‘फल २ : डेडपोइन्ट’ पनि प्रदर्शनमा आएको छ। माइकल र पिटर स्पिरिगको निर्देशनमा बनेको यस फिल्ममा ह्यारिएट स्लेटर, अर्सेमा थोमस, टम ब्रिट्नी र ग्रेस क्यारोलिन करीले अभिनय गरेका छन्।
भदौ २६, २०८३ शुक्रबार १३:५२:२१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।