‘कार्की साइँला’को ट्रेलर सार्वजनिक, धरानका भरियाको कथा पर्दामा
काठमाडौं : जितु नेपालको मुख्य भुमिका रहेको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। रसुवामा आएको बाढी पहिरोको कारण रोकिएको प्रचारप्रसारलाई पुन तिब्रता दिदै मंगलबार ट्रेलर रिलिज गरेको हो।
सार्वजनिक भएको ट्रेलर मुख्य पात्र कार्की साइँलाको कथा वरपर घुमेको छ। यसमा कार्की साइँलाले भोग्नुपरेको जीवन सङ्घर्ष, विवाह र विवाहपश्चात् सन्तानको विषयलाई लिएर हुने घर झगडा प्रस्तुत गरिएको छ। साथै, गाउँ समाजमा उनले सामना गर्नुपरेको हेपाइलाई पनि ट्रेलरमा देख्न सकिन्छ।
आगामी असोज २ गतेदेखि देशव्यापी प्रदर्शनमा आउन लागेको यस फिल्मले धरानतिरका एक भरियाको वास्तविक कथा बोलेको निर्माण पक्षको भनाइ छ।
‘कुबेर फिल्म्स’को ब्यानरमा बनेको यस फिल्ममा जितु नेपालका साथै प्रियना आचार्य, सुशील पोखरेल, वीरेन्द्रसिंह कुशवाहा र मान्शी शर्मा लगायतका कलाकारहरूको अभिनय छ।
डम्बर राईको कथा रहेको यस फिल्मको पटकथा तथा संवाद शङ्कर धिताल र सबिन अधिकारीले तयार पारेका हुन्। राजेन्द्र बस्नेतको निर्देशनमा बनेको फिल्मका निर्माता बालकुमार राई र निर्भीक बञ्जारा हुन् भने कार्यकारी निर्माताको रूपमा अनन्त राई रहेका छन्।
फिल्मको डिजिटल अधिकार ‘मुभिज डिजिटेनमेन्ट’ ले लिएको छ भने नेपालभरका हलहरूमा वितरण गर्ने जिम्मा ‘कुबेर फिल्म्स’ले पाएको छ।
भदौ २४, २०८३ बुधबार १३:५५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।