विपत्तिको कारण देखाउँदै ‘अक्षरा’ पछि सर्‍यो, तर पाएको शो संख्या भने न्यून!

विपत्तिको कारण देखाउँदै ‘अक्षरा’ पछि सर्‍यो, तर पाएको शो संख्या भने न्यून!

काठमाडौं : भदौ २६ गतेबाट प्रदर्शनको तयारीमा रहेको नेपाली फिल्म ‘अक्षरा’को प्रदर्शन अचानक स्थगित गरियो। फिल्म हलमा लाग्नु दुई दिनअघि निर्माण पक्षले प्रदर्शन रोकेर आगामी मंसिर २४ गतेलाई नयाँ मिति तय गर्यो।

रसुवामा आएको बाढी पहिरो तथा प्राकृतिक विपत्तिलाई देखाउँदै फिल्म प्रदर्शन मिति सारियो। निर्माताले निर्माताद्धय उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले जारी गरेको विज्ञप्तिमा रसुवामा आएको बाढी पहिरो र हालको परिस्थितिलाई मध्यनजर गरेर प्रदर्शन मिति परिवर्तन जानकारी गराए।

भदौ २६ गते नै प्रदर्शनको लागि तयार रहेको फिल्म अक्षराले उक्त दिन हलमा पाएको शोको संख्या न्यून देखिन्छ। यही मितिमा अन्य दुई फिल्म ‘बेहुली’ र ‘पेन्सनपट्टा’ प्रदर्शनमा आउँदै छन्। यी दुई फिल्मले सय हाराहारी शो पाउँदा पाएका छन्। तर, फिल्म अक्षराको भागमा भने ८ शो मात्रै छन्।

बुधबार दिउँसो डिजिटल एप खल्तीमा फिल्मको शो हेर्दा अक्षरालाई हलवालाले ८ शो मात्रै दिएको देखिन्छ। ८ शोबाट फिल्म प्रदर्शन गर्नुभन्दा मंसिरको खुकुलो समयमा फिल्म रिलिज गर्ने निधोका साथ फिल्मको प्रदर्शन तत्काललाई रोकेको देखिन्छ।

यसअघि रेखा थापा निर्देशित फिल्म ‘माया भनेको यस्तो होला’लाई निर्माण टिमले रसुवामा आएको बाढी पहिरो र विपत्तिको कारण देखाउँदै प्रदर्शन स्थगित गरेको थियो। धमाधम फिल्मकर्मीहरूले दर्शक हलमा नआउने आङ्कलनबाजी गर्दै फिल्मको प्रदर्शन पछाडि धकेलिरहेका छन्।

यो फिल्मले भदौ २६ गतेबाट प्रदर्शनका लागि अनुमति स्वरूप हिजो(मंगलबार)मात्रै युनिभर्सल सर्टिफिकेट पाएको थियो। उग्रसेन ढुङ्गाना र सुग्रसेन ढुङ्गानाले निर्माण गरेको यो फिल्मलाई विनयराज पौडेलले निर्देशन गरेका हुन्। फिल्मको कार्यकारी निर्मातामा सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने छन्।

फिल्ममा न्यान्सी खड्का,सुशील सिटौला,सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी,वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा),सृष्टि खड्का लगायतले अभिनय गरेका छन्।

क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस फिल्मको कथा निर्माता उग्रसेन आफैले लेखेका हुन् भने पटकथा तथा संवाद अभिमन्यु निरवी र निर्देशक पौडेलले संयुक्त रूपमा तयार पारेका हुन्। फिल्मको प्रस्तुतकर्ता सोनी थापा (ढुङ्गाना) रहेकी छन्।

यो फिल्मको प्रदर्शन स्थगित हुँदा नीता ढुङ्गाना निर्देशित तथा अभिनीत फिल्म ‘पार्वती’लाई फाइदा हुने निश्चित छ। किनभने यो फिल्म भदौ १२ गतेबाट निरन्तर हलमा चलिरहेको छ। दर्शकको चाप ठिकठाकै भएका कारण यो फिल्मको शो, प्रदर्शन स्थगित गरेको ‘अक्षरा’भन्दा माथि नै हुनेछ।

भदौ २५, २०८३ बिहीबार १६:२१:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।