बाढीले मंसिर धकेलेको ‘बाः एक योद्धा’लाई कुशे औँसीले जुरायो असोज ९ को भाका!
काठमाडौं : नेपाली फिल्मका निर्माताहरू प्रदर्शन मिति सार्न कतिसम्म हतार गर्छन् भन्ने पछिल्लो उदाहरण बन्यो, फिल्म ‘बाः एक योद्धा’। लगानी सुरक्षित हुने भ्रममा होला, उनीहरू मिति सार्ने घोषणा गरेको हप्ता दिन नबित्दै फेरि अर्को मिति तोकिहाल्छन्।
झरना थापा र सुहाना थापा अभिनीत फिल्म ‘बाः एक योद्धा’को मामलामा पनि ठ्याक्कै यही प्रवृत्ति दोहोरिएको देखियो। एक साताअघि मात्रै रसुवाको भोटेकोशी बाढीको कारण तोकिएको प्रदर्शन मिति परिवर्तन गरेर निर्माण टिमले मंसिर २४ गते पुर्यायो।
तर, बाढीबारेका समाचार केही कम हुन थालेपछि निर्माण टिमले अचानक शुक्रबार फेरि प्रदर्शन मिति परिवर्तन गर्यो। बाढीका कारण पूर्वनिर्धारित समयमा आउन नसकेको भनिएको ‘बाः एक योद्धा’ अब आगामी असोज ९ गते प्रदर्शनमा आउने जानकारी उनीहरूले सामाजिक सञ्जालमार्फत दिए।
कुशे औँसी तथा बुबाको मुख हेर्ने दिन पारेर फिल्म प्रदर्शनको नयाँ मिति घोषणा गरियो। फिल्म निर्माताहरूको यस्ता गतिविधि हेर्दा कुनै पनि तिथि-मिति विचार नगरी हचुवाको भरमा निर्णय गर्छन् कि भन्ने आभास हुन्छ।
यसअघि भदौ १९ मा फिल्म प्रदर्शन नगर्ने निर्णय लिएको निर्माण टिमले अझ बाढी पीडितलाई दुई लाख रुपैयाँ सहयोग पनि गरेको थियो। तर अचानक निर्माण टिमको मन फेरिएको छ। फिल्म ‘बाः एक योद्धा’मा पहिलो पटक झरना थापा र सुहाना थापा आमाछोरीले अभिनय गरेका छन्।
उनीहरूका अलावा यस फिल्ममा दिव्यदेव, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा लगायतले अभिनय गरेका छन्। संगीतकार हरि लम्सालको निर्देशनमा निर्माण भएको यो फिल्मका निर्माता वसन्त लम्साल हुन्।
भदौ २६, २०८३ शुक्रबार १६:४७:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।